महानगर गाथा

कोलिन पावेलले भनेका छन्, ‘सफलताका खासै कुनै गहिरो सुत्रहरु छैनन् । सफलता त राम्रो तयारी, कडा मेहेनत र गल्तीहरुबाट सिकिने पाठहरुको समिश्रण हो ।’ नेपालगन्जका प्रतिष्ठित उद्योगपति कन्हैयालाल वैद्यको सफलताको राज भनेको पनि हरेक कामको राम्रो तयारी र कडा मेहनत नै हो । सफलताका लागि कुनै त्यस्ता गहिरो सुत्रहरु उनीसँग छैन । मेहनत, लगनशीलता, नियमितता र व्यवासायिक अनुशासन नै उनको खास परिचय हो । धातुसम्बन्धि कारोबार उनको प्रमुख व्यवसाय हो । नेपाली बजारमा उनको आधिपत्य छ । त्यसैले त उनलाई ‘मेटल किङ’ भनेर पनि चिनिन्छ ।


उमेरले हिसाबले सातको दशक पुरा गरिसके । कामको रफ्तार उत्तिकै तेज छ । बिहान सबेरै उठेर नित्यकर्म सकेर पूजापाठ गर्नु र ९ बजे उद्योग पुगिसक्नु उनको नियमित दिनचर्या नै बनिसक्यो । दिउँसो खाना खाने समय बाहेक बेलुक ६ बजेसम्म सुर्खेतरोडस्थित हेड अफिसमा बसेर उद्योग र व्यापारका सुत्र खोज्नु, कर्मचारी परिचालन गर्नुलगायत काममा व्यस्त हुनु उनको दैनिकी हो । सत्तरी बर्षको उमेरमा पनि उनको जोश र जाँगर उत्तिकै छ, जति युवा अवस्थामा हुने गर्दछ । ‘जबसम्म शारीरिक तन्दुरुस्ती हुन्छ र दिमाग स्वस्थ रहन्छ । काम गरिरहन्छु ।’ सुर्खेतरोडस्थित भव्य कार्यकक्षमा उनले आफ्ना संघर्षका कथा सुनाए–‘काममा व्यस्त गराउन सकियो भने उमेरले खासै फरक पर्दैन ।’ खानपान र शारीरिक व्यायाम नै स्वस्थताका कारक हो भन्ने उनले राम्रोसँग बुझेका छन् ।

जैन धर्मावलम्बी हुनुका नाताले उनी शाकाहारी हुन् । अहिंसा नै धर्म हो । जैन धर्मावलम्बीहरुको मुल मन्त्र यही हो । यही मुलमन्त्रलाई आत्मसात गर्दै जीवनयात्रामा अघि बढेका नेपालगन्जका प्रतिष्ठित उद्योगपति कन्हैयालाल वैद्य धर्म, कर्म र प्रतिफलबाट सम्भवतः साँच्चिकै सन्तुष्ट छन् । उनीभित्रको आत्मविश्वास, सेवाभाव र इच्छाशक्ति हेर्दा भन्न करै लाग्छ असफलता नामक रोगलाई परास्त गर्ने पक्का औषधि भनेको आत्मविश्वास र कडा मेहेनत नै हो । एपीजे अब्दुल कलामले पनि असफलता नामक रोगलाई परास्त गर्ने औषधि आत्मविश्वास र कडा मेहनत नै हो भनेका छन् । कलामका अनुसार पनि यी दुवै चिजले मानिसलाई एक सफल व्यक्ति बनाउनेछ । उद्योगपति वैद्य त्यस्ता महान व्यक्तिका कथा पढ्छन्, जो जीवनमा सफलताको रस्वादान गर्न सफल भए, सन्तुष्ट रहे, खुशी बने । कर्मशील मानिस नै सफल हुन्छ, खुशी रहन्छ । उद्योगपति वैद्यलाई हेर्दा पनि यस्तै लाग्छ । महानगर गाथाका लागि गफिंदै उनले भने, ‘दश बर्षमै नेपालले नसोचेको प्रगति गर्न सक्छ । खाँचो छ त केवल इमान्दारिताको ।’ महानगर गाथा यस्तै नयाँ सोंच, दुरदर्शी सोंच भएका मानिसहरुको कथा समेटिएको आलेख हो । महानगर प्राविधिक नजरबाट मात्र हेरिएको भुगोल हैन, यो त समृद्धिको सपना हो । त्यो सपना साकार पार्न अहोरात्र खटिने कर्मशीलहरुको गाथा हो । नेपाल देशले मात्र हैन, नेपालगन्जले पनि समृद्धिको यात्रामा आफुलाई अगाडि बढाएको ठान्छन् उद्योगपति वैद्य । ‘हामीले अपेक्षा गरेबमोजिम त भएको छैन ।’ उनी भन्छन्–‘तर प्रतिशतका हिसाबले नेपालगन्ज विकासको मार्गमा अघि बढेको छ ।’


नेपालगन्जको भौगोलिक बनोटका हिसाबले पनि यसको सुन्दर भविष्यका बारेमा प्रचुर सम्भावना देख्छन् । भारतको राजधानी नयाँ दिल्लीसँगको भौगोलिक दुरी टाढा नहुनु, भारतकै ठुलो प्रदेश उत्तरप्रदेशको राजधानी लखनउसँग सोझो यातायात सम्बन्ध हुनु नेपालगन्जका लागि ठुलो अवसर रहेको उनी औंल्याउँछन् । उद्योग, धार्मिक पर्यटन तथा कृषि पर्यटन यहाँको ठुलो सम्भावनाका रुपमा रहेको उनी देख्छन् ।


धार्मिक मनलाई सेवासँग जोडेर लैजान्छन् । उनका कुरा सुन्दा लाग्छ, उनी स्वयं दार्शनिक हुन् । उमेरले सत्तरी पुगेका उनको ऋषि मन हुने समय पनि आइसकेको छ । त्यसैले त उनी देश र समाजको चिन्ता गर्छन् । नेपालसँग समुन्द्र मात्र छैन । अरु सबथोक छ । ‘सायद समुन्द्रसँग नजोडिएको अर्को फाइदा हामीसँग रह्यो । हामी कसैको दास बनेनौं ।’ उनको यस भनाइमा दम छ । यसमा उनलाई गौरवबोध हुन्छ । कतिपयले आफुलाई भारतीय जस्तो व्यवहार गर्न खोज्दा मन खिन्न हुन्छ । उनको पुर्खा एक सय पचास बर्षदेखि नेपालमा बसोबास गर्दै आएको छ । राजविराज उनीहरुके पुख्र्यौली थलो हो । नेपालमा प्रजातन्त्र आउनु एक बर्ष अघि जन्मिएका वैद्यले २०१७ सालको परिवर्तन देखे । २०३६ सालको जनमत संग्रह, २०४६ सालको परिवर्तन, २०६२÷६३को आन्दोलन सबै आत्मसात गरेका छन् । पछिल्लो निर्वाचनपछि कुनै एक दलले बहुमतसहितको सरकार निर्माण गरेपछि उनी निकै आशावादी बनेका हुन् । तर, यो वा त्यो बहानामा भ्रम छर्ने काम मात्र भइरहँदा उनलाई निराशा पनि नछाउने हैन । प्रजातन्त्रले नागरिकलाई शिक्षित गराउँछ । तर अधिकारसँग कर्तव्य सिकाउन बिर्सिएको हो कि भन्ने लाग्दछ । यो राम्रो संकेत हैन । ‘अधिकार सिकायौं, कर्तव्य पढाएनौं ।’ उनी भन्छन्‘ जबसम्म सोंचमा परिवर्तन आउँदैन, भौतिक विकासले मात्र समाज समृद्धिको बाटोमा जाँदैन ।’


सबैजना विकास चाहन्छन् । सबैलाई विकास चाहिएको छ । तर विकास अमुर्त कुरा हो । धेरै मानिस विकासलाई बुझ्न र बुझाउन भौतिक पूर्वाधारलाई अघि सार्छन्, तिनलाई नै विकास ठान्छन् । त्यसैले नेपालीलाई विकासका ठुला पूर्वाधारप्रति बढ्ता मोह जाग्ने गरेको छ । तर विकास भनेको सडक मात्र हैन । त्यो ठाउँको सोंचको विकास पहिलो शर्त हुनुपर्छ कुनै पनि समाज विकास भएको देखाउनका लागि । हो, नेपालगन्ज मात्र हैन, सिंगो नेपाल सोंच निर्माणमा पछि परिरहेको छ । इमान्दारिता भन्ने चिज हराउँदै गएको छ । उद्योगपति वैद्यको चिन्ता पनि यहींनिर हो । यति भन्दैगर्दा मैले उनलाई सोधें –‘तपाईं त्यस्ता सामाजिक फोरमहरुमा यस्ता बिषयमा किन कुरा उठाउनु हुन्न?’


उनले संवादलाई अघि बढाए–‘मैले केही ठाउँमा भन्न खोजेकै थिएँ, तर मान्छेले मलाई उडाउन थाले ।’ तपाईं पनि राजनीति गर्नुस भन्दै केही सर्कलले खिसिट्युरी गर्न थालेपछि उनी आजभोलि यस्ता बिषयमा खासै चासो दिंदैनन् । उनको एउटै मन्त्र छ–‘आफ्नो काम राम्रोसँग गर्छु, इमान्दारीपुर्वक गर्छु । सबैले आफ्नो काम गरिदिए देश त्यसै समृद्ध बन्छ ।’ महात्मा गान्धीले कुनैबेला भनेका थिए–‘यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।’ उद्योगपति वैद्य निष्ठामा अडिग छन् । सत्यको मार्गमा आफ्ना पाइला अघि बढाइरहेका छन् । सत्कर्मको पदचाप पछ्याइरहेका छन् ।


हरेक उद्योगपतिले नाफाकै लागि उद्योग खोल्छन् । तर उद्योग कलकारखाना समग्र देश विकासको मेरुदण्ड पनि हो भन्ने कमैले बुझ्छन् । यहींनेर वैद्यको पनि कहिलेकाँही चित्त दुख्छ । ‘अवश्य पनि नाफाका लागि हामी उद्योग खोल्छौं, तर मरेर लाने त हैन । यसले त देश विकासमै टेवा पुग्ने हो नि ।’ उनी भन्छन्–‘इमान्दारीपुर्वक सबैजना लाग्ने हो भने दशबर्षभित्र नेपाल समृद्ध बन्छ ।’


हरेक देशभक्त नेपाली झैं उनी पनि कहिलेकाहीं निराश हुन्छन् । जतिबेला देश बनाउने जिम्मा लिएकाहरु नै अनैतिक कार्यमा लिप्त हुन्छन् । न्याय दिने न्यायधिस विवादमा मुछिन्छन् । मन्दिरका पूजारी गुठीको जग्गा बेचेर मस्त हुन्छन् । ‘यी र यस्ता विकृति रोक्न सही नेतृत्व आवश्यक छ ।’ उनी भन्छन् –सबैभन्दा पहिले सबैले सोंच बदल्नु आवश्यक छ । सबैजना आआफ्नो काममा इमान्दारीपुर्वक काम गरिदिने हो भने देश आफैं समृद्ध बन्छ ।’ उनी सरकारलाई बार्षिक झण्डै ३८ करोड रुपैयाँ राजस्व बुझाउँछन् । यसबाट नै उनको व्यवसायको उकालिदो ग्राफलाई अनुमान गर्न सकिन्छ । आफु व्यवासायमा इमान्दार भएकै कारण सफल भइरहेको उनी सुनाउँछन् ।


फेरिपनि उनको मुल मन्त्र भनेकै कडा मेहनत हो । कलामले भनेका छन् –‘मेहेनत यसरी गर्नु कि भाग्य पनि तिमीलाई साथ दिन बाध्य होस् ।’ वैद्यलाई पनि भाग्यले यसरी साथ दिएको छ कि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनको उद्योग विमल मेटल इन्डस्ट्रीले उत्पादन गर्ने ‘प्रेष्टो कुकर’ले नेपाली बजारमा दोस्रो स्थान ओगट्न सफल भएको छ । नेपालगन्ज कोहलपुर सडकखण्डमा पर्ने पार्वतीपुरमा रहेको उनको उद्योगबाट उत्पादन हुने प्रेस्टो कुकर नेपालको प्रचलित ब्रान्ड हो । त्यसैगरी काँस(चरेश)का थाल उनको अर्को ब्रान्ड हो । करिब पाँच सय टनको नेपाली बजारमा तीन सय टन काँसको थाली बिएमआईको ट्रेडमार्क अंकित उत्पादन खपत हुन्छ । यसमा कपरको ६०, काँसको ६ र ब्रासको २० वटा उत्पादनले बजार ओगटेका छन् । यी ब्रान्ड औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट उत्पादन हुन्छन् ।

औद्योगिक क्षेत्र र पार्वतीपुरमा रहेका दुई उद्योग तथा कर्पोरेट अफिसमा गरी पाँच सय जनाले रोजगारी पाएका छन् । ४० हजारसम्म मासिक तलब लिने कामदार पनि उनको उद्योगमा कार्यरत छन् । भन्न सकिन्छ उनी धातुका राजा हुन् । कतिपय उनलाई मेटल किङ भन्छन् । तर उनी यति सरल छन् । आफुलाई सामान्य व्यापारी मात्र भन्न रुचाउँछन् । हुनपनि त्रिभुवनचोकबाट उनले व्यापारिक यात्रा थालेका थिए ।

नेपालमा जनमत संग्रह भएकै बर्ष उनी वीरगञ्जबाट नेपालगन्ज आएका थिए । त्रिभुवनचोकमा कपडा व्यापार थालेका थिए । लगत्तै अर्को बर्ष उनका बुवा नथनलाल वैद्य नेपालगन्ज घुम्न आएका थिए । उनी पनि व्यापारी थिए, तर अध्ययनशील थिए । त्योभन्दा बढ्ता दुरदर्शी थिए । उनले दिनभर घुमेपछि यहाँ धातुको बजार देखे । छोरालाई भने, तिमी धातुको काम गर, कपडाको काम छाडिदेउ । त्यतिबेला धातुको कारोबार गर्न सोचेजति सहज थिएन । अनुमति पत्र(लाइसेन्स) लिएर माात्र काम गर्नुपथ्र्यो । लाइसेन्स लिन पनि सजिलो थिएन । तर उनका बुवाले त्यो च्यानल भेट्नुभयो । र वैद्य लाइसेन्स लिन सफल भए ।


उनले इदगाहरोडमा धातुको कारोबार थाले, एभरेष्ट वर्तन उद्योग खोलेर । यसलाई बढाउँदै अघि बढे । कारोबारको दायरा बढाउने क्रममा औद्योगिक क्षेत्रमा उद्योग खोले । जहाँ भारतबाट जस्ता पाता आयात गरेर आकर्षक भाँडा तयार गर्दै बजारीकरणको कामलाई बढावा दिंदै अघि बढे । यो कारोबार बढाउँदै अरबौंको व्यापार गर्नेतहसम्म पुराए । ‘पहिले तामाको मात्र काम गथ्र्यौं,’ उनले भने–‘अहिले काँस, तामा र स्टिलको पनि काम गर्दै आएका छौं ।’ अहिले पार्वतीपुरमा झण्डै पाँच बिगाहाभन्दा बढी जमिनमा उनको उद्योग फैलिएको छ । नेपालमा उत्पादन हुने पाँच सय टन चरेशका सामग्रीमध्ये बिमल मेटल उद्योगको तीन सय टन उत्पादनले बजार बिस्तार गरेको छ ।


जैन धर्ममा विश्वास ठुलो पुँजी हो । आपसी विश्वासले सम्बन्ध बलियो हुने हो, त्यसले नै व्यापार पनि बढाउने हो । स्टेफेनले भनेका थिए –‘मानिसले तिमी सफल हुन्छौ हुन्नौ भन्ने कुरामा विश्वास गर्नैपर्छ भन्ने छैन । कडा मेहेनत त गर्दै जाउँ, जब तिमी सफल हुनेछौ तब उनीहरुले स्वतः तिमीलाई विश्वास गर्नेछन् ।’ उद्योगपति वैद्यको कर्मलाई नेपालमा मात्र हैन संसारमा विश्वास गर्ने वातावरण बनेको छ । संसारको शक्तिशाली राष्ट्र अमेरिकासम्म उनको उत्पादन निर्यात हुने गरेको छ । चरेशका थाल लगायत भाँडाकुँडा बिमल मेटल इन्डस्ट्रीकै ठुलो मात्रामा अमेरिका जानेगरेको उनले सुनाए । ‘विश्वास जित्नु धार्मिक कुरा हो ।’ उनी सगर्व सुनाउँछन्–‘४ सय बढी कामदारको मप्रतिको विश्वास पनि मेरो सफलताको राज हो ।’ सबै कामदारले खाना खाइसकेपछि मात्र उनी खाना खान सुर्खेतरोडस्थित प्रधान कार्यालयबाट धम्बोजीनजिकै रहेको निवास जान्छन् । धार्मिक हिसाबले यसको बिशेष अर्थ छ । तर उनी यसलाई संयोग मात्र भनेर अथ्र्याउन खोज्छन् । धर्मप्रति अथाह आस्था छ । तर ढोंगी प्रवृत्तिको भने हैन । देवतालाई मनबाट पूजा गर्छन्, देखावटी हैन ।


व्यापारिक यात्रामा उद्योगपति वैद्यले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । असफलता कुन पंक्षीको नाम हो? उनलाई थाहा छैन । सफलताको ढोका मात्र खुल्छ उनका सामुन्ने । उनको यात्रा निरन्तर अगाडि बढिरहेको छ । एपीजे अब्दुल कलाम भन्थे –‘असफलता नामक रोगलाई परास्त गर्ने पक्का औषधि भनेको आत्मविश्वास र कडा मेहेनत हो । यी दुवै चिजले तिमीलाई एक सफल व्यक्ति बनाउनेछ ।’ हो, नेपालगन्ज धम्बोजी निवासी वैद्यले पनि आत्मविश्वास र कडा मेहेनतलाई नै आफ्नो औषधी ठानेका छन् । त्यसैले त सफल उद्योगपति बनेका छन् । नेपाल सरकार अन्तर्गत आन्तरिक राजस्व कार्यालयले बर्षेनी उनलाई उत्कृष्ट करदाताका रुपमा पुरस्कृत गर्दैपनि आएको छ ।


उद्योगपति वैद्यले व्यापारिक विरासत बिस्तारै पुस्तान्तरण गर्दैछन् । कम्प्युटर इन्जियनियर एक्ला छोरा बिमलले यसमा हात हालिसकेका छन् । छोरा बिमललाई काठमाडौं त्रिपुरेश्वरस्थित कर्पोरेट अफिसको जिम्मेवारी सुम्पिएर उद्योगपति वैद्य नेपालगन्जबाटै संसारभरको व्यापारिक ग्राफ नियाल्छन् । नयाँ सोंच र दुरदर्शी सोंचका साथ अघि बढ्ने निक्र्यौल वैद्यले गरिसकेका छन् । ‘हामी कमाएर मात्र खर्च गर्नुपर्छ भन्ने मान्यतामा हुर्कियौं ।’ उनले उत्तराधिकारी बिमलतर्फ संकेत गर्दै भने ‘अहिलेको पुस्ता खर्च गर्दै गयो भने कमाइ आफैं हुन्छ भन्नेमा विश्वास गर्छ ।’ छोरा बिमलको सोंचमा उनी पुर्णत सहमत छन् । त्यसैले त छोरा बिमललाई संघीय राजधानीको बागडोर जिम्मा लगाएर आफु व्यापारिक राजधानीमा तपस्यारत छन् । उनलाई थाहा छ सफलता भनेको यात्रा हो, गन्तव्य होइन । त्यसैले दोस्रो पुस्तालाई उनको टिप्स छ–‘क्षमतामा भरोसा राख, राम्रो अवश्य हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया