ट्राभल व्यवसायमा नियमन अभाव, नविकरण नहुँदा कानुनी जटिलता

‘संघीय संरचनामा गइसेकपछि पर्यटन कार्यालय कता गयो भन्ने नै पत्तो पाएनौँ । त्यसपछि एजेन्सीको नविकरण गर्न सकेत पाएनौ,’ नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल्स एसोसियसन नाट्टा बाँकेका उपाध्यक्ष डिल्ली राज रेग्मीले नेपालगन्जमा आयोजित अन्तक्रियामा भने । आफुहरुको नियमनकारी निकाय नै कहाँ छ भन्ने विषयमा केही महिना अनभिज्ञ बनेको रेग्मीको भनाइ छ । ट्राभल एजेन्सीहरु नविकरण नहुँदा कानुनी समस्याहरु निम्तिएको रेग्मीले बताए । अन्तत्र्रिmया कार्यक्रममा बोल्दै ट्राभल एजेन्टहरुले प्रविधिको दुरुपयोग हुन थालेको र त्यसलाई नियमन गर्ने निकायको अभावमा आफुहरु मर्कामा परेको बताएका थिए ।


‘पर्यटन कार्यालको अनुमति नलिएर व्यक्तिगत बाहेक अरुका लागि हवाई टिकट काट्न नपाइने भएपनि अहिले एप्सको दुरुपयोग गर्दै घुम्ति पसलमा पनि हवाई टिकट काट्ने गरिएको छ’, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्दलले टुर्स एण्ड ट्राभल्स व्यवसाय यसबाट नराम्ररी प्रभावित भैरहेको उल्लेख गर्दै भने, ‘त्यसलाई तत्काल रोक्न आवश्यक छ ।’


अध्यक्ष सिग्देलले पर्यटन वर्ष मनाउने क्रममा रहेकोले पर्यटनसँग जोडिएका ट्राभल एजेन्सी, एयरलाईन्स कम्पनी र पर्यटन कार्यालयको सेवा पनि गुणस्तरिय हुनुुपर्नेमा जोड दिए । बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहले पनि हालसम्म नविकरण नभएका एजेन्सीहरुको काम व्यवहारिक रुपमा मिलाउने गरिएको बताए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका अधिकृत एवं पर्यटन मुकाम नेपालगन्जका प्रमुख नारायणप्रसाद न्यौपानेले अब छिट्टै सबै एजेन्सी नविकरण गरिने र नियमनको कामलाई पनि जोड दिइने बताए ।


अन्तक्रियामा सहभागी पत्रकार दामोदर भण्डारीले सबै समस्या नियमकारी निकायमा मात्रै नभई ट्राभल एजेन्टहरुमा पनि रहेको बताए । कतिपय अवस्थामा एजेन्टहरुले बढी मुल्यमा टिकट काटीदिने गरेको भन्दै उनले त्यस्ता कुरामा चनाखो हुन नाटालाई सुझाव दिए । पत्रकार कमल खत्रीले ट्राभल एजेन्सीले काटेको टिकटमा हिमाली जिल्लामा उड्न नपाएको आफ्नो अनुभव सुनाउँदै त्यस्तो समस्या सुधार्न एजेन्सी र एयरलाइन्सलाई सुझाव दिए । तारा एयरलाइन्सका दिलिप कार्कीले दशै तिहार लगायतका सिजनका बेला चाप बढी हुने तर उडान कम हुने कारणले समस्याहरु सृजना हुने गरेको बताउँदै सबै एयरलाईन्सले दुर्गम क्षेत्रमा उडान गर्ने व्यवस्था मिलाउनतिर ध्यान दिनुपर्ने बताए ।

यसैगरि, पश्चिम क्षेत्रमा पर्यटकहरुको आवागमन बढाउन हवाई भाडा केही घटाउनु आवश्यक रहेको अध्यक्ष सिग्देलको भनाइ छ । ‘विशेषगरि विदेशी पर्यटकहरुलाई लाग्ने महंगो शुल्क घटाउनुपर्छ । यसमा पर्यटन मन्त्री पनि सकारात्मक हुनुहुन्छ । ट्राभल एजेन्टहरुलाई यसबाट घाटा भएपनि पर्यटकहरुको बृद्धि हुने आशामा हामी सहमत छौँ,’ उनले भने । तर, एयरलाइन्स कम्पनीका प्रतिनिधिले भने विदेशीहरुलाई लाग्ने भाडा घटेमा कम्पनीहरु घाटामा जाने धारणा राखे ।

नेपालगन्जमै अन्तराष्ट्रिय उडानको टिकट

अन्तकृया कार्यक्रममा बोल्दै नेपाल एयरलाइन्सका क्षेत्रीय प्रबन्धक प्रशान्त विकले नेपाल एयरलाइन्सले नेपालगन्जमै अन्तराष्ट्रिय उडानका लागि टिकट उपलब्ध गराउने तयारी गरेको जानकारी दिए । उनले नेपाल एयरलान्सको एप्स पनि बनेको बताउँदै अब एक महिनाभित्र अन्तर्राष्ट्रिय उडानको टिकट नेपालगन्जमै उपलब्ध हुने व्यवस्था मिलाइने जानकारी दिए ।
नाटाका अध्यक्ष सिग्देलले पनि ट्राभल एजेन्टहरुले पनि अन्तराष्ट्रिय उडानको टिकट नेपालगन्जमै उपलब्ध गराउने तयारी गरेको जानकारी दिए ।

हाल अन्तर्राष्ट्रिय उडानको टिकटका लागि काठमाडौ नै पुग्नुपर्ने बाध्यता छ । साथै विकले नेपाल एयरलाइन्सको बेस नेपालगन्जमा बनाइएमा मात्रै सेवामा सुधार हुने बताए । ‘नेपाल एयरलान्सको जहाज नेपालगन्ज बेस बनाइएमा यहाँका लागि ठुलो राहत हुने मैले देखेको छु । यसले निगमलाई पनि फाइदा हुने देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया