बाँके : सात महिनासम्म खुलेन नदीजन्य पदार्थ, अवैध दोहन प्रोत्साहित !

बाँकेको भौतिक पूर्वाधारका लागि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदी हो । तर, चालु आ.व.को ७ महिना बित्न लाग्दा पनि राप्तीनदीको ठेक्का लाग्न सकेको छैन । जिल्लामा सानादेखि ठूलो पूर्वाधारका काम अगाडि बढिरहेका छन् । तीनका लागि ढुंगा, गिट्टी, बालुवा, मोरङ्गको स्रोत नदी नै हो । नदीजन्य पदार्थको ठेक्का नलाग्दा बाँकेमा भैरहेको विकास निर्माणका कामहरु समेत प्रभावित भएको निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्का बताउँछन् । ‘निर्माण व्यवसायीहरुको दैनिक गुनासो आउँछ, ठेक्का खोल्ने जिम्मेवार निकायले अझै ठेक्का लगाउन सकेको छैन’, उनले भने ।


राप्तीसोनारी गाउँपालिकाले तीन पटक नदीजन्य पदार्थका लागि ठेक्का आव्हान गरिसकेको छ । राप्तीसोनारीले चालु आ.व.का लागि पहिलो पटक २०७६ भदौ १० गते नदीजन्य पदार्थको टेण्डर आव्हान गरेको थियो । तर, टेण्डर हाल्ने दुवै व्यवसायीको रकम समान भएपछि टेण्डर रद्द गरेको थियो । दोस्रो पटक कार्तिक ९ गते नदीजन्य पदार्थको ठेक्का आव्हान गरेको गाउँपालिकाले तीन वटा टेण्डर परेकोमा पुस ६ गते पालिकाको निर्णय र कानुनी सल्लाहकारको राय भन्दै गरेको थियो । राप्तीसोनारीले तेस्रो पटक पुस २१ गते ७ दिनको म्याद राखेर टेण्डर आव्हान गर्यो । ‘तेस्रो पटक आव्हान गर्दा कसैले पनि टेण्डर भरेनन्’, गाउँपालिकाका उपप्रमुख धनी कुमार खत्रीले भनिन् । गाउँपालिकाका लेखा अधिकृत खिमलाल वलीले चौथो पटक सूचना निकाल्ने निर्णय गाउँपालिकाले गरिसकेको जानकारी दिएका छन् ।


पटकपटक सूचना निकाल्दा पनि टेण्डर खुल्न सकेको छैन । ‘पटकपटक गाउँपालिकासँग हामीले टेण्डर प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गरेका छौं’, निर्माण व्यवसायी संघका अध्यक्ष खड्काले भने, ‘प्रशासनमा पनि गुनासो लिएर गयौं तर, अझै सुनुवाई भएको छैन ।’ ‘पहिलो पटक नै टेण्डर रकम बराबर हुँदा दुवै ठेकेदारलाई बराबर ठेक्का दिन हामीले गाउँपालिकालेसँग आग्रह गरेका थियौं तर वेवास्ता गरियो’, खड्का भन्छन् ।


‘जिल्लामै निर्माण सामाग्री प्राप्त हुन्छ भन्ने आधारमा निर्माण व्यवसायीले लागत इस्टिमेट गरेको हुन्छ’, निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्काले भने, ‘त्यसैले अन्तबाट ल्याएर काम गर्न सक्ने अवस्था छैन ।’ ‘अर्को समस्या जिल्लामै खपत हुने भन्दै अन्य जिल्लाले निर्माण सामाग्री किनेर पनि ल्याउन दिंदैनन्’, अध्यक्ष खड्काले भने, ‘त्यसको मार निर्माण व्यवसायीलाई पर्दछ ।’


काम गरेन भनेर ठेकेदारको आलोचना गरिरहँदा निर्माण कम्पनीले सहज रुपमा निर्माण सामाग्री प्राप्त गर्न सकेको भन्ने विषय चाहीँ वेवास्ता गरिएको उनी बताउँछन् । ‘निर्माण सामाग्री उपलब्ध हुने सुनिश्चितता राज्यले गर्नुपर्छ, हामीले त्यसको मूल्य तिर्ने हो’, खड्का भन्छन्, ‘हामी व्यवसायीको कुरा राज्यले सुन्दैन ।’


विकास निर्माणको काम हुने सिजन भनेको मंसिर देखि जेठसम्म हो । त्यसपछि बर्षा लाग्छ । ‘अब ठेक्का खुलेपनि धेरै ढिलो भैसकेको छ’, अध्यक्ष खड्का भन्छन्, ‘बाँकेको नदीजन्य पदार्थको भरमा रहेका कुनै पनि काम यसबर्ष समयमा निर्माण व्यवसायीले सक्ने अवस्था छैन ।’
नदीजन्य पदार्थको ठेक्काको प्रक्रिया नटुङ्गिदा अवैध उत्खनन र चोरी निकासी मौलाएको कसैबाट छिपेको छैन । निर्माण सामाग्री अभाव हुँदा चोरी, निकासी गर्ने र स्टक गर्नेहरुले मूल्य बढाएर बिक्री गर्दा त्यसको मार भने निर्माण व्यवसायीले थेग्नु परेको छ । नदीजन्य पदार्थको ठेक्का नहुँदा चोरी, निकासी मौलाउने गरेको छ । विगतमा पटकपटक नदीजन्य पदार्थ चोरी गरेर ल्याएको प्रहरीले फेला पारेको छ । ‘काम गर्नै पर्यो, चोरी निकासी गरेर ल्याएको नदीजन्य पदार्थ किन्न बाध्य हुनुपरेको छ’, एक निर्माण व्यवसायीले भने, ‘ठेक्का नखुल्नु प्राकृतिक सम्पत्तिको अवैध दोहन गरी कमाउनका लागि पनि हुनसक्छ ।’


गत बर्ष वातावरणीय प्रभाव मूल्यांकनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा सुरु भएको थियो । यसबर्ष पनि मंसिर बितेपछि मात्रै नदीजन्य पदार्थको ठेक्का प्रक्रिया पुरा हुने सम्भावना छ ।


राप्तीसोनारी गाउँपालिकाले यस बर्ष चार वटा खोलाको नदीजन्य पदार्थका लागि टेण्डर आव्हान गरेको हो । गाउँपालिकाले ८८ लाख ३८ हजार ७०१ घनफिट नदीजन्य पदार्थका लागि ५ करोड ७४ लाख ५१ हजार बराबरको टेण्डर आव्हान गरेको थियो । गाउँपालिकाले राप्तीनदीबाट २३ लाख ७३ हजार ८ सय १४ घटफिट, मुगुवा खोलाबाट २३ लाख ४१ हजार १ सय ८० घटफिट, झिझरी खोलाबाट १८ लाख ८ हजार ४ सय ५६ घनफिट, खैरी खोलाबाट २३ लाख १५ हजार २ सय ५० घटफिट ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन र बिक्री वितरणका लागि टेण्डर आव्हान गरेको हो । पालिकाले आगामी २०७७ जेठसम्मका लागि मात्रै ठेक्का कायम रहने गरी टेण्डर आव्हान गरेको हो ।


बाँकेको डुडुवा गाउँपालिकाले पनि नदीजन्य पदार्थको ठेक्का लगाउँदै आएको छ । तर, डुडुवाको परिणाम र नदीजन्य पदार्थको स्रोत कम छ । डुडुवामा ठेक्का आव्हान गरेर सम्झौता भैसकेको छ । तर, डुडुवाले बाँकेको माग थेग्न सक्ने अवस्था छैन । डुडुवाले पनि दोस्रो पटक सूचना आव्हान गरेर नदीजन्य पदार्थको निकासीका लागि ठेक्का दिएको हो । डुडुवा गाउँपालिकाले ५ वटा नदीको २३ लाख ८१ हजार चार सय घटफिट निकासीका लागि ठेक्का आव्हान गरेको थियो । डुडुवाले ढुंगा बाहेक गिट्टी, मोरङ्ग र बालुवाका लागि टेण्डर आव्हान गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया