प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको शुक्रबार धार्मिक विधि अनुसार अन्त्येष्टि गरिएको छ । उहाँको बाँकेको सिधनिया घाटमा अन्त्येष्टि गरिएको हो ।
सेनानी गुप्ताको निधनप्रति पत्रकार सम्बद्ध संघ, संस्थाहरुले शोक व्यक्त गरेका छन् । पत्रकारहरुको छाता संस्था, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गरी नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति गुप्ताको निधनले पत्रकारको क्षेत्रमा ‘अभिभावक गुमाएको’ टिप्पणी गरेका छन् ।
पत्रकारका सबैजसो आस्थाका संगठनले पनि अग्रज पत्रकार गुप्ताको निधनप्रति शोक व्यक्त गरेका छन् । आफ्ना संस्थापक अध्यक्ष गुमाएको प्रेस यूनियन बाँकेले गहिरो चिन्ता गरेको छ । प्रेस सेन्टर बाँके, अवधी पत्रकार संघ, ठकुरी पत्रकार संघ, प्रेस मञ्च नेपाल लगायतले छुट्टाछुट्टै शोक व्यक्त गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार गुप्ताको उपचारको क्रमम नेपालगन्ज मेडिकल कलेजमा निधन भएको खबर सञ्चारमाध्यममा आएपछि देशैभरी पत्रकारहरुले गहिरो चासो, चिन्ता र शोक व्यक्त गरेका छन् । प्रजातान्त्रिक आन्दोलन, मधेस अधिकारका लागि गरिएको संघर्ष र प्रेस स्वतन्त्रतामा निरन्तर क्रियाशिल सेनानी गुप्ताको निधनको खबर पाएपछि नगरका विभिन्न क्षेत्र, समुदायका प्रतिनिधिहरु निवासमै पुगेर शोक व्यक्त गरेका थिए ।
शुक्रबार सेनानी गुप्ताको सम्मानमा नेपाल पत्रकार महासंघ बाँकेले महासंघको झण्डा ओढाई उहाँप्रति सम्मान व्यक्त गरेको थियो ।