नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी तीन बर्षे कार्यकालका लागि शनिबार मतदान भएको छ । निर्वाचनमा दुई प्यानलबाट ३८ जना र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।
संघमा अध्यक्ष, दुई उपाध्यक्ष र सदस्य गरी कुल १९ पदका लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । संघमा निर्वाचित कार्यसमितिबाट महासचिव, कोषाध्यक्ष लगायत पदाधिकारी चयन गरिंदै आएको छ । ३ हजार ४६ मतदाता रहेका छन् जसमध्ये २ हजार ७ सय ९० ले मतदान गरेको संघले जानकारी दिएका छन् ।
आज आइतबार विहान देखि मतगणना सुरु हुने संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् । समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार छन् । समावेशीबाट सदस्यमा भिम रानाभाट, टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डेले उम्मेदवार छन् ।
समावेशीले बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष), सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके) तथा एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीलाई उम्मेदवार बनाएको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललित कुमार रौनियार अध्यक्ष, तपेन्द्र विक्रम शाह उपाध्यक्ष उद्योग र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवार बनाएको छ । साझाले सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारलाई उम्मेदवार बनाएको हो । वस्तुगतमा बद्री श्रेष्ठ र सलाउद्दिन जसगढ, एशोसिएट तर्फ सञ्जय अग्रवाल र राजेश मास्केलाई उम्मेदवार बनाइएको छ । संघमा एक जनाले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रमेश कुमालले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शनिबार मत परिणाम आफु समर्थित प्यालनका पक्षमा पार्नका लागि राजनीतिक दलका नेतृत्वदेखि संघका पूर्व अध्यक्षहरु समेतले मत मागेका थिए । यसअघि तीन वटा प्यानल रहेको संघमा यसपटक भने दुई वटा प्यानल मात्र उम्मेदवारी परेको थियो ।
मतदान सकिए लगत्तै शिलबन्दी मतपेटिका तालाबन्दी गरेर राखिएको छ । आज हुने मत परिणामले संघको आगामी नेतृत्वको टुङ्गो लगाउने छ । शनिबार राती अबेर सम्म पनि उम्मेदवार तथा प्यानलका समर्थकहरु मतगणना स्थल भेरी प्राविधिक शिक्षालयमा मत पेटिकाको निगरानीमा बसेको पाइन्थ्यो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले मतदान उत्साह र शान्तिपूर्ण भएको बताएका छन् । ‘विवादरहित निर्वाचन सकिएको छ’, अध्यक्ष वैश्यले भने, ‘निर्वाचनमा शान्तिपूर्ण र सम्भ बनाउन सबै उम्मेदवार र मतदाताले सहयोग गर्नुभएको छ ।’ अध्यक्ष वैश्यले आज हुने मतगणना पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरेका छन् । ‘मतदान ऐतिहासिक भएको छ, मतगणना पनि ऐतिहासिक हुनेछ’, शनिबार दैनिक नेपालगन्जसँग कुरा गर्दै अध्यक्ष वैश्यले भने ।