आज नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहास पाँच दशकको छ । संघको विगत र आगामी नेतृत्वले गर्नुपर्ने कार्यहरुका बारेमा पूर्व अध्यक्षहरुसँग दैनिक नेपालगन्जले सम्यक संवाद गरेको छ । हामीले खासगरी आधुनिक कालखण्डको नेतृत्व गरेका संघका पूर्व अध्यक्षहरुसँग सामूहिक ढंगले बहस गर्यौं । नेपालगन्ज उद्योग वाणिज्य संघ उद्योगी, व्यापारी मात्रको संगठित संस्था भएपनि यसको भूमिका निजी क्षेत्रको प्रतिनिधिमूलक सामाजिक छवि बनिसकेको छ । समग्र विकासदेखि नीतिगत वकालतसम्मका गतिविधि मात्र होइन नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक क्षेत्रलाई प्रभावित पार्ने गरी आफुलाई नेतृत्वदायी ढंगले उभ्याउन सक्ने ताकत राख्दछ । खाँचो छ, केवल प्रभावकारी नेतृत्वको । सामाजिक सद्भाव कायम गर्नेदेखि राजनीतिक निर्णयहरुमा बनाउने धारणाले ठूलो अर्थ राख्ने भएकाले सक्षम नेतृत्व अहिलेको आवश्यकता हो । यी र यीनै सेरोफेरोमा दैनिक नेपालगन्जले उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु अच्युत प्रसाई, सतिश चन्द्र अग्रवाल, दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ, वर्तमान अध्यक्ष नन्दलाल वैश्यसँग गरेको कुराकानीको सार संक्षेप ।
संघ तपाईहरुका सोंच र योजना अनुसार अघि बढेको छ त ?
अच्युत प्रसाई, पूर्व अध्यक्ष
सबभन्दा पहिला इतिहासका कुरा खोतल्न आवश्यक छ । २०५३ सालमा साथीहरु एक ढिक्का भएर संघमा गएको हो । संघको विकास भएन, संघले व्यवसायी क्षेत्रको हितका लागि काम गर्न सकेन, २१ औं शताब्दीमा संघ यसरी बस्नुहुँदैन भनेर लागेका थियौं । त्यतिखेरको निर्वाचनमा हाम्रो टिमबाट १५ जना उठेकोमा १२ जनाले जित हासिल गरेका थियौं । घरबारीटोलबाटसंघ सुधारको आवाज उठेको थियो र साथीहरु एकजुट भएका थियौं । घरबारीटोलबाट प्रतिनिधित्व गराउन हामीले दामोदरजीलाई समावेश गरेका थियौं ।
त्यतिखेरको मुख्य मुद्दा भ्याट थियो । डेढ बर्ष त भ्याट विरुद्ध आन्दोलनले खायो । त्यसपछि सचिवालय निर्माण गरी संघलाई सक्रिय बनाउन थाल्यौं । पछि भ्याटलाई महासंघले समर्थन गरेपछि हामीले पनि बाध्य भएर आन्दोलन स्थगित गर्नुपर्यो । सबैतिर अच्युतजीको काम बाँकी छ, थप एक कार्यकाल दिनुपर्छ भन्ने आवाज उठ्यो । मैले सर्वसम्मत पाए मात्रै बस्ने भनें । दोस्रो कार्यकालमा सर्वसम्मत भयो । मेरो दोस्रो कार्यकालमा कृष्णजी, दामोदरजी, सतिशजी पनि कार्यसमितिमा आउनु भयो । दुई कार्यकाल गरेर ६ बर्ष जति संघ चलायौं ।
६ बर्षको अवधीमा व्यवसायीहरुको शिर ठाडो गर्न सक्ने अवस्था बनायौं । त्यतिखेर पुलिस प्रशासनको व्यापारी भनेको दुहुना गाई हुन् भन्ने सोंच थियो, त्यो सोंचलाई हामीले हटायौं । त्यतिखेर दादागिरी पनि चल्थ्यो ।उधारो मागेर लैजाने पैसा नतिर्ने प्रवृत्ति थियो, त्यसलाई पनि हामीले नियन्त्रण गर्यौं ।
६ बर्षको अवधीमा व्यापारीहरुको एउटा सचिवालय भयो भने व्यवसायीका समस्यामा समाधान गर्न सक्छन् भन्ने थियो र त्यही अनुसार सचिवालय बलियो बनायौं । २०५३ सालभन्दा अगाडि महासंघमा नेपालगन्ज उद्योग वाणिज्य संघको कुनै प्रतिनिधित्व हुँदैनथ्यो । जो जाने हार्ने आउने हुन्थ्यो । २०५८ सालमा म उठे र मैले जितें । महासंघमा लगातार तीन पटक मैले प्रतिनिधित्व गरें । चौथो कार्यकालमा भवानी राणालाई पठायौं । उहाँलाई एक नम्बरमा जितायौं । हाल उहाँ महासंघको अध्यक्ष हुनुहुन्छ । त्यसपछि दामोदरजी, सुनिलजी, कृष्णजीले महासंघमा प्रतिनिधित्व गर्नुहुन्छ ।
त्यसपछि सतिशजी आउनु भयो, त्यसपछि दामोदरजी आउनु भयो । तर, हामीले जति सोंचेर अगाडि बढेका थियौं । त्यो अनुसार हुन भने सकेन ।
सतिश चन्द्र अग्रवाल, पूर्व अध्यक्ष
निश्चित पनि जुन सुरुवात भएको थियो, व्यापार संघको अवस्था त्यसबेला ठूला घरानाहरुको एउटा पटक थियो । त्यो एउटा कोठामा सीमित थियो । व्यापारीका पीर, मर्का उठाउनका लागि मध्यम स्तरीय व्यापारीको पनि नेतृत्व हुनुपर्छ भनेर त्यसबेला सुरु गरेका थियौं । र, निश्चित रुपमा सफलता पनि पायौं ।
मेरो कार्यकालमा माओवादी चरम अवस्थामा थियो । तापनि हामीले व्यापार मेला गर्यौं । त्यो यस्तो बेला थियो कि, सेनाले भन्थ्यो यहाँ माओवादी आएको थियो, माओवादीले भन्थ्यो सेना किन यहाँ बसेको छ, मेलामा । त्यो दोधारो अवस्थामा पनि हामीले मेला गर्यौं । मेलाको उद्देश्य उद्योग, व्यापार, संस्कृति फष्टाउने थियो । जसमा मेलाले सफलता पायो ।
द्वन्द्वकालमा हामीले एउटा अमेरिकन लाइब्रेरि गुमायौं । त्यो हाम्रालागि ठूलो अवसर थियो । त्यो हामीले गुमायौं । अहिले पनि अमेरिका पढ्न जाने धेरै छन्, लाइब्रेरि भएको भए अध्ययनका लागि धेरै सहयोग पुग्थ्यो । त्यो विद्रोहको अवस्थामा पनि हामीले नेपालगन्जका उद्योगी, व्यापारीको संरक्षण, सम्बद्र्धन गर्यौं ।
त्यतिखेर रक्सी फ्याक्ट्रीमा आगो लगाइयो । त्यसको विरोधमा हामीले दुई दिन बजार बन्द गर्यौं । माओवादीले भने हाम्रो विरोधमा बन्द गर्ने ? मैले भने, बाँकेमा मदिरा निषेध त गर्नुभएको छैन, तपाईहरुले चन्दा नपाएपछि फ्याक्ट्रीमा आगो लगाइदिने ?
दामोदर आचार्य, पूर्व अध्यक्ष
उद्योग वाणिज्य संघलाई नयाँ ढंगले लैजान र चलायमान बनाउनु पर्छ भनेर पिकनिकका लागि ५० जना जति व्यवसायी कर्णाली चिसापानी गएका बेला छलफल गर्यौं । त्यहाँबाट आएपछि बस व्यवसायी समितिको हलमा ठूलो भेला गर्यौं । निराला होटलमा अर्को कार्यक्रम गर्यौं र अच्युत दाईको नेतृत्वमा एउटा टिम बनायौं । त्यो किन गरियो भने, हामीले यहाँको व्यवसायीहरु संस्थागत रुपमा कसरी संरक्षण हुनसक्छ, र, संघले यहाँको व्यवसायी विकासमा कसरी नेतृत्व गर्न सक्छ ?भनेर हो ।
अच्युत दाईको नेतृत्वमा कुनै खालको मतभेद राखेनौं । त्यतिबेला प्रोक्सी मत चल्थ्यो । २ सय ५० जनाको भोट एकै पटक हालेको स्मरण छ मलाई । हामीले अच्युत दाईको नेतृत्व स्वीकार गर्यौं । त्यतिबेला मलाई पनि उम्मेदवार बन्न आग्रह थियो । तर, ठाउँ पुगेन र मैले उठ्दिन भने । हामी सबैं लाग्यौं, सचिवालय निर्माणका लागि । उत्साहका साथ सचिवालय निर्माण भयो । अच्युत जीको दोस्रो कार्यकाल सर्वसम्मत भयो ।
अच्युत दाईको पालामा दुई पटक महासचिव हुनुभएको सतिशजीलाई नै अध्यक्षका रुपमा निर्विरोध अगाडि सार्नुभयो । सदस्यमा भने निर्वाचन भयो । २०६० सालमा सतिश दाई अध्यक्ष बन्नुभयो ।
त्यस बीचको कालखण्डमा एकातिर भ्याटको आन्दोलन थियो भने देश अर्कोतिर अप्ठ्यारो परिस्थितिमा थियो । त्यो अप्ठ्यारो परिस्थितिमा पनि हामी अगाडि बढ्न सक्यौं । विधानमा भएका केही समस्याहरुलाई संशोधनका विषयमा दुई पक्ष भयो । संस्थापन अथवा नेतृत्व पक्ष र साधारण सदस्य पक्ष ।
त्यसपछि प्रजातान्त्रिक प्रयासको सुरुवात गर्यौं । एकातिर सुनिल जी र अर्कोतिर म अध्यक्ष पदको उम्मेदवार भए । त्यो संक्रमणकालमा नेतृत्व सम्हाले । मेरो कार्यकालमा कृष्णजी, कन्हैयाजी उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यतिबेला नेपालगन्जमा ठूलो दंगा भयो । मधेस आन्दोलन भयो, संस्थाको गरिमा बचाउनु पर्यो । नेपालगन्ज डुबान भयो । डुबानका बेला पुरी, तरकारी र पानी घरघरमा पुर्यायौं ।
त्यतिखेर हामीलाई लाग्यो अब संघ व्यवसायिक हित संरक्षण, प्रवद्र्धन सँगै सामाजिक क्षेत्र पनि लाग्नुपर्छ, हामी लाग्यौं । अच्युत दाईको पालामा बसपार्कको दक्षिण तर्फ मेला लगायौं । तर, त्यहाँ घर बनाएपछि मेला सम्भव भएन । सतिश दाईको नेतृत्वको पालामा वाटरपार्कमा १० औं लाखको माटो पटान गरेर मेला लगायौं ।
त्यसपछि प्रदर्शनी स्थल खड्कियो । सभा हलको आवश्यकता महसुस गर्यौं । र, सरकारसँग अनुरोध गरेर सडक विभागको परिसरमा प्रदर्शनी स्थल र सभाहलका लागि जग्गा प्राप्त गर्यौं । त्यसबेला देखि नै त्यहाँ संघको, मेला, महोत्सव लागिरहेको छ । त्यही बीचमा मेरो कार्यकाल सकियो । तर, हामीले सामाजिक क्षेत्रमा पहुँच जानुपर्छ, भूमिका हुनुपर्छ भन्ने सन्देश दियौं । जनप्रतिनिधिविहीनताको अवस्थामा विकास निर्माणका काममा चासो दिनुपर्छ भनेर त्यसतर्फ पनि काम गर्यौं ।
कृष्ण प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष
पहिलो पटक गरिएको चिसापानीको भेला देखि नै म व्यवसायी मुद्दाहरुमा सक्रिय थिएँ । म संघमा कोषाध्यक्ष, उपाध्यक्ष हुँदै नेतृत्व सम्हाले । म संघको नेतृत्वमा आउँदा द्वन्द्वको जर्जर अवस्था थियो । त्यतिखेरसंघ ट्क्राउनु पर्छ भनेर ठूलो थ्रेट थियो । त्यतिबेला वस्तुगत संघहरु पनि जन्मिए । हामीले मानवअधिकारवादी तथा व्यवसायीको साथ लिएर धेरै व्यवसायीलाई बचायौं, हामी पनि बाँच्यौं ।
मेरो कार्यकालमा आउँदा सभा गृहको विषय आइसकेको छ । तर, त्यसका लागि आर्थिक रुपमा सक्षम थिएनौं । जबसम्म संघमा केही पैसा जम्मा हुँदैन प्रोजेक्ट अगाडि बढ्न सक्दैन भनेर स्रोत जुटाउनका लागि दुई वटा महोत्सव आयोजना गरे । महोत्सवबाट १ करोड भन्दा बढी रकम जोगायौं । यसले हामीले सभागृहका लागि लाग्न जुट्न प्रेरणा पायौं । सुशिल दाई प्रधानमन्त्री हुँदा ५० लाख पनि छुट्याइएको थियो । तर, धेरै समस्याका कारण त्यो रकम प्राप्त गर्न सकिएन ।
भुकम्पले देश तहसनहस परेको बेलामा धेरै व्यवसायीहरुले नोक्सान बेहोरे । उनीहरुलाई व्यवस्थित गर्ने कोशिश गर्यौं । भुकम्प पीडितका लागि ७÷८ गाडी राहत पठाएका थयौं । मेरै पालामा भारतले नाकाबन्दी गर्यो । त्यो बेलामा व्यवसायी धेरै नै मर्कामा परे । खाद्य वस्तु आयात नहुँदा खाद्यान्न नै अभाव सिर्जना भैरहेको थियो । फ्युलको समस्या उस्तै थियो । हामीले त्यसबेला पहल गरेर पहाडी जिल्लामा पनि फ्युल तथा खाद्यान्नहरु पठायौं ।
स्थानीय तहमा जनप्रतिनिधि थिएनन् । त्यसैले यहाँको विकासका लागि राजनीतिक दलहरुलाई बोलाएर यहाँका लागि साझा धारणा बनाउने प्रयास गरौं । नेपालगन्जका विभिन्न मुद्दा लिएर पटकपटक काठमाडौं डेलिकेशन गयौं । विद्युत होस् वा सडकका काम हामीले समाधानका लागि प्रयास गर्यौं । जनप्रतिनिधिले उठाउने विषय संघले उठाएका थियौं ।
उद्योग वाणिज्य संघलाई जुन पद्धतिमा लग्नु पर्ने हो त्यो पद्धति विकास गर्न सकिएन की जस्तो लाग्छ । जस्तो, सदस्य भएको मान्छे अटोमेटिक अध्यक्ष बन्ने पद्धति हुनुहुँदैन । सदस्य भएको मान्छे, पदाधिकारी हुँदै नेतृत्वमा पुग्नुपर्छ । त्यो पद्धतिको विकास हुनुपर्छ भन्ने मलाई लाग्छ ।
अग्रजले बढाए जसरी संघ अगाडि बढाउन सक्नुभयो जस्तो लाग्छ ?
नन्दलाल वैश्य, अध्यक्ष
म अच्युत जीको पालादेखि व्यवसायीको हितमा काम गर्दै आएको थिएँ । २०६३ सालमा दामोदरजीको पालामा सदस्यको रुपमा संघमा प्रतिनिधित्व गरेको थिएँ ।
मैले संघको नेतृत्व सम्हाल्ने अवसर पाएँ । मैले नेतृत्व पाएपछि अग्रजहरुले गरेको काममा एक इट्टा थप्ने काम गरेको छु । म आउँदा भवन व्यवस्थित थिएन । त्यसलाई व्यवस्थित गरें ।
व्यवसायीको हकहितका लागि निरन्तर काम गरेको छु । म नेतृत्वमा आउँदा विद्युत लोडसेडिङ्गको निकै ठूलो समस्या थियो । विद्युत अनियमित हुँदा उद्योग, व्यवसाय, होटल, कलकारखाना धराशयी हुँदै गएका थिए । काठमाडौंसम्म पुगेर निरन्तर पहल गरेर नेपालगन्जको लोडसेडिङ्ग हटाउन सफल भएँ । उद्योगको डेडिकेटेड फिडर थिएन, त्यो फिडर पनि मेरै पालामा बिस्तार भयो । सदरलाइनको बिस्तार रोकिएको थियो, त्यसलाई बिस्तार पहल गरें । दुई पटक महोत्सव लगाएँ । रोजगार मेला गरें । भन्सार सुधार गर्न नेपालगन्जदेखि केन्द्रसम्म पहल गरेको छु । व्यवसायीलाई तालिम दिएँ । भाषाको तालिम पनि दिएको छु ।
बैंक ब्याजले व्यवसायी आक्रान्त थिए । नेपालगन्जबाट त्यस विरुद्धको आन्दोलन मेरै कार्यकालमा सुरु गरेको हुँ । नेपालगन्जबाट आन्दोलनभएपनि त्यो देशव्यापी बनेको थियो । भारत उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटेर ठप्प भएको जडिबुटी निकासीको व्यवस्था मिलाउन आग्रह गरें । भारतीय भन्सारमा सर्भर नचल्ने समस्या समाधानका लागि भारत उत्तरप्रदेशका मुख्यमन्त्रीलाई आग्रह गरेपनि त्यो समस्या समाधान भएको ।
नेपालगन्जको सुरक्षाका लागि सिसिक्यामेरा जडान आवश्यक थियो । संघकै पहलमा नगरका विभिन्न ठाउँमा ५६ वटा क्यामेरा जडान गरिएको छ । संघ नीति निर्माण गर्ने संस्था होइन, त्यसैले यहाँको विकास र व्यवसायी समस्या सम्बोधनका लागि दबाब दिने काम निरन्तर गरिरहेको छु । एकीकृत जाँच चौकी छिटो निर्माण सक्नका लागि तत्कालीन भारतीय गृहमन्त्रीको ध्यानाकर्षण गराएको थिए । मैले संघका लागि आर्थिक पनि बढाएर जाँदै छु । म जाँदै गर्दा मैले नेतृत्व सम्हाल्दा भन्दा ५० लाख बढी स्रोत छाडेर जाँदैछु ।
अग्रजहरुले गरेको कामलाई मैले थप अगाडि लग्ने काम गरेको छु ।
संघ अब कसरी अगाडि बढ्नपर्छ ?
दामोदर आचार्य
अच्युत दाईदेखि सतिशदाईसम्म आउँदा पनि धेरै मतभेद थिए । ती मतभेदमा सबभन्दा खरो उत्रने व्यक्ति हौं । तर, ०६३ सालसम्म हामीले सँगै हुँदा धेरै राम्रो काम गर्यौं । अच्युत दाईको पालामा पनि मतभेद थियो । तर, उहाँले अगाडि सारेका योजनामा कुनै अवरोध गरेनौं । सतिश दाईको पालामा पनि राम्रो रिजल्टका लागि हामी आपसमा लड्यौं ।
लिडरहरुको कमी छ । खोई अहिले लिडरहरु । मनगढन्ते कुराले काम गर्छ जस्तो मलाई लाग्दैन । हामीले रिजल्ट ओरियन्टेड काम गर्ने हो भने सही ठाउँमा टेकेर जानुपर्छ । यो तराईको क्षेत्र हो । नेपालगन्जमा तीन वटा समुदायको कम्बिनेशन छ । पछिल्लो चरणमा तमाम खालका आन्दोलनले सद्भाव कायम गराएको छ । सबै खालका यहाँका शक्ति र समुदायलाई साथमा लिएर आन्दोलित हुनुको विकल्प छैन ।
हाम्रा अगाडि सम्भावना भनेको पर्यटनको हो । त्यो भनेको पर्यटकीय बेश क्याम्प हो । यहाँबाट काठमाडौं गएर उतैबाट दिल्ली मान्छे गयो भने केही अर्थ छैन । हामीले यस्तो अवस्था बनाउन सक्नु पर्छ, मान्छे यहाँ आएर मात्र काठमाडौं जाओस्, दिल्ली जाओस्, बैंकक जाओस् । त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि टाउको फोड्न पनि तयार हुनुपर्छ । हामीले नयाँ विकल्प अघि सारेर जानुपर्छ । त्यसका लागि अग्रज र साथीहरुसँग आग्रह गर्छु । जहाँ बोल्दा पनि हामीले बोल्ने कुरा आधार सहित हुनुपर्छ । संघको नेतृत्व पनि त्यसखालको योजनामा लाग्नुपर्छ । संघले यहाँको राजनीतिक, सामाजिक, क्षेत्रीय शक्तिसँग समन्वय गरेर अगाडि गयो भने बाँकेको सम्भावना र भविष्य राम्रो छ ।
कृष्ण श्रेष्ठ
संघमा सक्षम नेतृत्वको खाँचो छ । जबसम्म सक्षम नेतृत्व संघमा पुर्याउन सक्दैनौं । तबसम्म संघको हित हुन सक्दैन । यहाँको विकास निर्माणदेखि व्यवसायिक समस्यामा खरो उत्रन सक्ने नेतृत्वको खाँचो छ । सक्षम नेतृत्व छान्न सकुन् यहाँका व्यवसायिक मतदाताले ।
सतिश चन्द्र अग्रवाल
संघको निर्वाचनमा भाग लिने सबै उद्योगी र व्यवसायी छन् । र, निर्वाचनमा उद्योगी, व्यवसायीले नै जित्नुपर्छ । उम्मेदवारहरु मतदाता सामु छन्, त्यसैले मतदाताले छानीछानी राम्रो मान्छेलाई जिताउनु पर्छ । संघलाई सबल र सक्षम नेतृत्व प्रदान गर्ने जिम्मा व्यवसायीहरुको काँधमा छ ।
नन्दलाल वैश्य
संघमा पूर्व कार्यसमितिबाट के छुटेको छ त्यो जिम्मेवारी पूरा गर्ने सबल नेतृत्वको खाँचो रहेको छ । यहाँको विकासदेखि व्यवसायिक हितका बोल्ने नेतृत्व संघमा आवश्यक रहेको छ । व्यवसायीको समस्या बुझ्ने र त्यसको समाधान गर्न सक्ने नेतृत्व संघमा आउनुपर्छ । निःस्वार्थ भावले सेवा गर्ने सोंच हुनुपर्यो । संघले अगाडि बढाएका काम थप अगाडि बढाउनु पर्यो । अहिले नेपालगन्जको व्यवसाय खस्कँदो छ । त्यसैले प्रदेश ५ को राजधानीका लागि आवाज उठाउने नभए, कर्णालीमा जान आवश्यक छ । त्यसका लागि संघको आगामी नेतृत्वले पनि पहल गर्नुपर्छ ।
अच्युत
निर्वाचन लोकतान्त्रिक व्यवस्था हो । त्यसैले निर्वाचन सकिएपछि सबै एक भएर अगाडि बढ्नु पर्छ । त्यसो भयो भने व्यवसायिक हितमा काम गर्न सकिन्छ । संकुचित सोंचले संघ अगाडि बढ्न सक्दैन । प्रतिस्पर्धा भनेको चुनाव अघिसम्म मात्रै हो, निर्वाचितलाई सबैले सघाउनु पर्छ ।