बाँकेमा इट्टा उत्पादन ५० प्रतिशतले घट्ने

बार्षिक सदरदर २० करोड इट्टा उत्पादन हुने बाँकेमा यो बर्ष १० करोड मात्रै हुने संघको अनुमान छ

यस बर्ष बाँकेमा इट्टाको उत्पादन ह्वात्तै घट्ने भएको छ । इट्टाको सिजनमा भएको बेमौसमी बर्षाका कारण इट्टा उत्पादनमा ५० प्रतिशतले कमी आउने अनुमान गरिएको नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ बताउँछन् । ‘यसबर्ष इट्टा उत्पादनको सिजनमा भएको बर्षात्का कारण करोडौं रुपैयाँको नोक्सा व्यवसायीले व्यहोर्नु परेको छ’, उनले भने ।


इट्टा उत्पादनका लागि सिजन मंसिर देखि सुरु हुने गरेको छ । काँचो इट्टा तयार भएपछि पकाउनु अघि चाङ्ग लगाएर राखिन्छ । काँचो इट्टा चाङ्गमा राखेका बेला पानी परेमा एकै पटक करौडौं इट्टाहरु गलेर काम नलाग्ने हुन्छ । ‘बेमौसमी बर्षात् इट्टा व्यवसायीका लागि सधैको तनाव हुने गरेको छ’, संघका कार्यालय सचिव सुर्य पौडेल भन्छन्, ‘काँचो इट्टाको बिमा नहुने भएकाले नोक्सान व्यवसायी आफैले ब्यहोर्नुपर्छ ।’


बाँकेमा ५२ वटा इट्टा व्यवसायी रहेका छन् । उनीहरु मौसमको अनुकुलता र मजदुरहरुको उपलब्ध हुने हो भने एक सिजनमा ८ राउण्डसम्म इट्टा बनाउने गर्दछन् । बार्षिक रुपमा यहाँका व्यवसायीले झण्डै २० करोड इट्टा उत्पादन गर्ने अनुमान रहेको छ । तर, यस बर्षको पटकपटक भएको बेमौसमी बर्षाका कारण काँचो इट्टा पकाउनु अघि नै चाङ्गमा गलेका थिए ।
यस बर्ष अहिलेसम्म इट्टा व्यवसायीले पर्याप्त इट्टा पकाउन त पाएनन् नै लक्ष्य अनुसारको काँचो इट्टा समेत तयार हुन सकेका छैनन् । ‘इट्टा बनाउने मैदान अहिले पनि हिलाम्मे छ’, संघका कार्यालय सचिव पौडेलले भने, ‘व्यवसायीहरु मौसम अनुकुल हुने आशामा आकाश हेर्दै बसिरहेका छन् ।’


मंसिरदेखि बैशाखसम्म व्यवसायीहरु इट्टा तयार गर्दछन् । मंसिर, पुसमा बनाइएको काँचो इट्टा माघ, फागुनमा पोलेर बिक्रीका लागि तयार गरिन्थ्यो । तर, यस बर्षको दुई महिना बितिसक्दा पनि विगत जस्तो काम हुन सकेको छैन । बैशाख पछि इट्टा बनाउने मजदुरको कमी हुने संघ बताउछ ।


‘स्टकमा रहेको इट्टा सकिंदै गयो, नयाँ बन्न सकेको छैन’, संघका कार्यालय सचिव पौडेलले भने, ‘बजारको माग अनुसार इट्टा तयार हुने अवस्था अब छैन ।’ विकास, निर्माणको काम गर्ने सिजन सुरु भैरहेको छ । सरकारी तथा निजी निर्माण कार्य यही बेलामा हुने गर्छ । निर्माणको सिजनमा इट्टाको माग बढ्छ । तर, यसपटक माग धान्न व्यवसायीलाई हम्मेहम्मे पर्ने देखिन्छ ।


इट्टा व्यवसायी संघको सोमबार बसेको बैठकले व्यवसायीहरुले ब्यहोरेको नोक्सानीको समिक्षा गरेका थिए । बेमौसमी बर्षात्ले उत्पादनमा भएको नोक्सानी, बढ्दो माग र कम उत्पादनको अवस्था भएपनि मूल्य भने नबढाउने संघका बाँके अध्यक्ष खाँ बताउँछन् । ‘जति इट्टा उत्पादन भएपनि हालकै मूल्यमा बिक्री हुन्छ’, उनले भने, ‘मजदुर खर्च र इट्टाका लागि आवश्यक कच्चा पदार्थ वृद्धि नहुँदासम्म मूल्य बढाउँदैनौं ।’


गत बर्षपनि बर्षात्का कारण इट्टा व्यवसायीका काँचो इट्टा गलेका थिए । तर, त्यतिबेलासम्म २÷३ राउण्ड इट्टा तयार भैसकेको पछि पनि पर्याप्त उत्पादन भएकाले यस बर्ष इट्टाको माग भने यहीको व्यवसायले धानिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया