क्रिकेटमा ‘युनाइटेड ग्रुप’ , प्याराफिटबाट क्रिकेटको आनन्द

नेपालगन्जको व्यवसायिक घराना युनाइटेड ग्रुप अफ कम्पनीले क्रिकेटको विकासमा सघाउने भएको छ । नेपालगन्जमा आयोजना गर्न लागिएको वडास्तरिय क्रिकेट प्रतियोगितामा जोडिएर युनाइटेडले सामाजिक उत्तरदायित्वमा हात हालेको हो । माघको दोस्रो साताबाट नेपालगन्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका लागि प्रतियोगिताका संयोजक तरुण वज्रचार्य र युनाइटेड ग्रुपका विजनेस हेड विजय चापागाई विच शनिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


प्रित ट्याक्टर, सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी बिक्री गर्दै आएको युनाइटेड ग्रुपका विजनेस हेड विजय चापागाईले ब्यापार मात्र नभई खेलकुदको लागि पनि कम्पनीले आफ्नो दायित्व सम्झेर प्रतियोगिता सँग जोडिएको बताए । ‘छिट्टै नेपालगन्जको नयाँ पहिचान हुने गरि वाटर फन पार्क बनाइँदै छ,’ युनाइटेडको व्यवसायिक विस्तारको योजना सुनाउँदै चापागाईले भने, ‘युनाइटेडको योगदानसँगै अरु व्यवसायिक कम्पनि पनि जोडिंदै जान्छन् भन्ने विश्वास छ ।’


संयोजक बज्राचार्यका अनुसार, द गुप्र अफ सिक्टिन क्लव को आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशीको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हो । बांके जिल्ला क्रिकेट संघको प्राविधिक प्राविधिक सहयोगमा हुने प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।

बाँकेमै सर्वाधिक रुचाइने खेल क्रिकेटका लागि कबर्ड हलको अभाव खट्किरहेका बेला ‘डमी प्राक्टिस’ गरिने भएको छ । बर्षौदेखि भुईमा बसेर क्रिकेटको आनन्द उठाउँदै आएका दर्शकहरुका लागि मंगलमाविको रैथाने मैदानमा अस्थायी प्याराफिट बनाइएको हो ।
‘प्याराफिटका लागि मात्रै दुई लाख बढी खर्च गरिएको छ’, अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारीमा जुटेका आयोजक द गु्रप अफ सिक्टिनका सचिव राज श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘गतिलो मैदान बनोस् भन्नका लागि फिल्डमा २० हजार बढीको माटो पटान गरियो ।’


मंगल माविको खेल मैदान नेपालगन्जको क्रिकेटका लागि निर्विकल्प बनेको छ । विद्यार्थीहरुलाई असुविधा हुने भन्दै विद्यालय व्यवस्थापनले पटकपटक खेल अभ्यासदेखि प्रतियोगिता सञ्चालनमा अवरोध गर्दै आएपनि मनाएरै यसखालका प्रतियोगिता आयोजना हुने गरेका छन् । ‘जाडो बिदाको मौका पारेर खेल आयोजनाका लागि ठूलो लगानी गरियो’, प्रतियोगिता संयोजक तरुण बज्राचार्यले भने, ‘इतिहासमै पहिलो अभ्यासका रुपमा नेपालगन्जका क्रिकेट दर्शकले प्याराफिटमा बसेर खेलको आनन्द लिने व्यवस्था मिलाइएको छ ।’


वडा स्तरीय खेलको पहिलो संस्करणमा फाइनल खेलका लागि ५ हजार बढी दर्शक मंगल माविको खेल मैदानमा पुगेको अनुभव सुनाउँदै आयोजक भन्छन्, ‘यो बर्ष त्यो संख्या नाघ्ने अनुमान छ ।’ मौसमको चुनौतिले आयोजना नै अनिश्चित भैरहँदा शनिबार यूनाइटेड ग्रुपसँग मुख्य प्रायोजकको हस्ताक्षर गरेको राखेप सम्बद्ध आयोजक क्लबका सचिव श्रेष्ठले भने, ‘ग्राउण्ड खेल्न लायक हुनासाथ प्रतियोगिता तिथि सार्वजनिक गर्छौ ।’


यस बर्ष ४ सय दर्शकलाई प्याराफिटमा र बाँकीलाई कुर्सीको व्यवस्था मिलाउन लागेको आयोजकले पुस २५ गतेको उद्घाटन कार्यक्रम र माघ ४ गतेको दोस्रो तिथि बर्षात्का कारण अनिश्चित भएको जनाएको छ । ‘२३ वटै वडाबाट टिम उत्रने भएकाले नगरकै मुख्य आयोजनाका रुपमा यो खेल अगाडि बढ्छ’, नेपालगन्ज प्रिमियर क्रिकेटको सपना देखेका संयोजक बज्राचार्यले भने, ‘यो त्यसैको अभ्यास पनि हो ।’

प्रतिक्रिया

प्रतिक्रिया