नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार माझ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
नेपालगन्ज उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको निकर्ष निकालेको साझाले ‘विश्वास पुनः फर्काउने’ प्रतिबद्धता अघि सारेको छ । अस्तव्यस्त नेपालगन्ज बजारलाई व्यवस्थित गरिने योजना अघि सारेको साझाले त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गर्ने जनाएको छ । व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, नेपालगन्ज विश्व विद्यालय, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र संचार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने, नेपालगन्जलाई प्रदेश ५ को आर्थिक राजधानी बनाउने लगायतका प्रतिबद्धता गरेको छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनीतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ । प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै प्रचार संयोजक धु्रब प्रसाद दाहालले व्यवसायिक हकहितको सुरक्षा र सम्मानमा साझा समूह खरो उत्रने बताए ।
ललितकुमार रौनियारको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको साझाले तयार गरेको ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गर्न नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौेडल, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, काँग्रेस नेता सुरेश कनोडियालगाायत कार्यक्रममा पुगेका थिए । साझाले आफ्ना उम्मेदवारहरुको संक्षिप्त परिचयसमेत प्रतिबद्धतासँगै मतदाता माझ पठाएको छ ।