प्याब्सन डेमा ७४ ले गरे रक्तदान

नेपालगन्जमा बिहीबार प्याब्सन डेका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।


सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित रक्तदानमा ७४ पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक स्वामी डाँगीले जानकारी दिएका छन् ।

रक्तदानको प्याब्सन नगर उपाध्यक्ष शरद रावल र कोहलपुर प्याब्सनका कोषाध्यक्ष रमेश खत्रीले रक्तदान गरी शुभारम्भ गरेका थिए । ‘रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरेका छौं’, कार्यक्रम संयोजक डाँगीले भने ।

‘निजीबाट दक्ष जनशक्ति उत्पादन’

नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले निजी विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । २९ औं प्याब्सन डेको अवसरमा नेपालगन्जमा प्याब्सन बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले देशमा दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।


नगर प्रमुख डा. राणाले शिक्षामा राज्यले गर्नुपर्ने लगानी निजी क्षेत्रले बचाइरहेको बताएका थिए । त्यसैले निजी विद्यालयलाई राज्यले नकार्न नसकेको उनले बताए । नगर प्रमुख डा. राणाले निजी विद्यालयको गुणस्तर अझै सुधार्न आवश्यक रहेको धारणा राखेका थिए । उनले अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रोक्न विदेशमा हुने गुणस्तरको शिक्षा नेपालमै अध्यापन हुने व्यवस्था हुनुपर्ने बताएका थिए । अध्ययन गर्न जाने विद्यार्थी मार्फत लाखौं रुपैयाँ देश बाहिर जानुको कारण यहाँका विद्यालयले ‘स्ट्याण्र्डड्’ मेन्टेन गर्न नसक्नु रहेको धारणा नगर प्रमुख डा. राणाको थियो ।


‘बोर्डिङ स्कुल मात्रै हो जसले भविष्यमा यो देशमा मोरल चेञ्ज ल्याउँछ’, नगर प्रमुख डा. राणाले निजी विद्यालयहरुको शैक्षिक योगदानको प्रशंसा गर्दै भने, ‘देशलाई अरु देशहरुको तुलनामा कम्पुटेशनमा जाने दक्ष जनशक्ति पैदा गर्न सक्छ ।’ तर, त्यसका लागि समय लाग्ने नगर प्रमुख डा. राणाको भनाइ थियो ।


सरकारी क्याम्पसमा हुने राजनीति प्रति नगर प्रमुख डा. राणाले तिखो टिप्पणी गरेका थिए । उनले निजी विद्यालयका विद्यार्थीहरु जेबमा कापी राखेर क्याम्पसमा राजनीति गर्न नजाने गरेको बताए । ‘हाम्रा विद्यार्थीहरु क्यारिअर, भविष्य बनाउने, सीप सिक्ने ओरियेन्टेड हुन्छन्’, उनले भने, ‘क्याम्पस पुग्ने बित्तिकै संघ, संगठनमा भर्ना भएर, जेबमा कापी राखेर जिन्दावाद र मुर्दावाद गर्न बोर्डिङका विद्यार्थी जाँदैनन् ।’


नगर प्रमुख डा. राणाले निजी विद्यालयमा संस्थागत रुपले चिटिङ्ग भएको गुनासो आउने गरेको बताएका थिए । गत बर्षको प्लस टुको परीक्षामा त्यस्तो प्रवृत्ति रोक्नका लागि उपमहानगरकै टोली प्लस टुको परीक्षा हलमा पुगेको नगर प्रमुख राणाले बताएका थिए । ‘गत बर्ष प्लस टुमा बोराका बोराका चिट भेटियो, जुन बोर्डिङ्गकै विद्यार्थीबाट भेटिएको थियो’, नगर प्रमुख डा. राणाले भने, ‘यस्तो घटिया काम नहोस् ।’ उनले नेपालगन्ज उपमहानगरमा हुने कुनै पनि परीक्षामा चिटिङ्ग हुन नदिने स्पष्ट पारेका थिए ।


प्याब्सन बाँके अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले सबै निजी विद्यालयहरुले एउटै बार्षिक कार्यक्रम बनाउन सुझाव दिएका थिए । ‘सबै किसिमका गतिविधि समेटिएको बार्षिक कार्यक्रमले विद्यार्थीहरुले पनि आफ्नो ध्यान केन्द्रित गर्न सक्छन्’, नगर प्रमुख डा. राणाले भने ।


नगर प्रमुख डा. राणाले प्याब्सनलाई कोष बनाउन समेत सुझाव दिएका थिए । उनले विद्यालय, शिक्षक, अभिभावक, कर्मचारीलाई अप्ठ्यारो पर्दा, समस्यामा पर्दा परिचालन गर्न मिल्ने गरी कोष बनाउन सुझाव दिएका हुन् । ‘अप्ठ्यारो पर्दा कोष काममा आउँछ त्यसैले कोष बनाउने तर्फ सोच्नुस्’, नगर प्रमुख डा. राणाले भने ।


कार्यक्रममा निजी विद्यालयमा तीन दशक सेवा गरेका तीन जना शिक्षक कर्माचारीलाई सम्मान पनि गरिएको थियो । बुद्ध इमि स्कुल नेपालगन्जका ममता गुप्ता, मोर्डन पब्लिकका खड्क बहादुर बोहरा, रामजानकी कोहलपुरका भेषराज सिग्देललाई सम्मान गरिएको प्याब्सन नगर उपाध्यक्ष शरद रावलले जानकारी दिएका छन् । प्याब्सन डेका अवसरमा प्याब्सन बाँकेमा आबद्ध १ सय १० विद्यालयका १/१ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, हिसान बाँके अध्यक्ष डा. अवनिन्द्र दत्त मिश्र, प्याब्सन नगर अध्यक्ष विकास बज्राचार्य लगायतले बोलेका थिए ।


कोहलपुर प्याब्सनका अध्यक्ष यम रावतले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्याब्सन बाँकेका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र सिग्देलले गरेका थिए । कार्यक्रममा प्याब्सन डेको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी, शिक्षक, कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्याब्सन डेको अवसरमा बिहीबार विहान प्रभातफेरी पनि निकालिएको थियो ।


यसैबीच, प्याब्सन बाँकेले २९ औं प्याब्सन डेको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित रक्तदानमा ७४ पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक स्वामी डाँगीले जानकारी दिएका छन् । रक्तदानको प्याब्सन नगर उपाध्यक्ष शरद रावल र कोहलपुर प्याब्सनका कोषाध्यक्ष रमेश खत्रीले रक्तदान गरी शुभारम्भ गरेका थिए । ‘रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरेका छौं’, कार्यक्रम संयोजक डाँगीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया