व्यापार, मेला महोत्सवका नाममा गैर व्यवसायीहरु हाबी भएको भन्दै कोहलपुर उद्योग वाणिज्य संघले त्यसविरुद्ध ‘आन्दोलन’को चेतावनी दिएको छ । स्थानीय तहले कोहलपुर बजारको व्यवसायिक हित विपरित ‘घुमन्ते व्यापारीलाई व्यापार गर्ने थलो बनाउने गरी’ मेला महोत्सव आयोजनालाई प्रोत्साहित गरेको भन्दै संघ आक्रोशित भएको हो ।
‘हाम्रो बजार सुक्ने गरी आयोजना हुने मेला, महोत्सवलाई आयोजना हुन दिइनु हुँदैन’, त्यसविरुद्ध आन्दोलनको तयारीमा रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बुधबार पत्रकार सम्मेलनमा गर्दै भने, ‘बजार बन्द समेत हुनसक्छ ।’ अध्यक्ष अधिकारीले ‘कालपल्किने चिन्ता’ रहेको भन्दै हरेक महिना अनाधिकृत रुपमा मेला महोत्सव आयोजना हुने गरी स्थानीय तहले बाटो खोलेको बताए । ‘नम्स विपरितका मेला महोत्सवहरुलाई स्थानीय सरकारले रोक्नुको साटो उल्टो प्रोत्साहन गरिरहेको छ’, अध्यक्ष अधिकारीले भने, ‘त्यसले कोहलपुरमा रहेका उद्योगी, व्यापारीहरुलाई ठूलो मर्का पर्छ, बजार नै सुक्ने अवस्था आउँछ ।’
कोहलपुर उद्योग वाणिज्य संघले व्यवसायिक ढंगले मेला, महोत्सव आयोजना गरिंदा आफुसँगको समन्वयलाई जोड दिएको छ । ‘अटोले अटो शो गर्न सक्छ, होटलले फुड फेष्टिबल लगाउनु पर्छ’, अध्यक्ष अधिकारीले पत्रकारहरुसँग भने, ‘घरेलु महासंघले आफ्ना घरेलु उत्पादनहरुको भव्य प्रदर्शनी लगाउन सक्छ ।’ ‘तर, बजारलाई नै प्रत्यक्ष प्रभाव पार्ने गरी घुमन्ते व्यापारीलाई समानान्तर अस्थायी बजार खडा गर्न दिइन्न,’ अध्यक्ष अधिकारीले भने, ‘खासगरी लुगा, कष्टमेटिक, जुत्ता व्यवसायीहरु मेला महोत्सवका नाममा गरिने अनाधिकृत व्यापारले मारमा पर्ने अवस्था आएको छ ।’
उद्देश्य अनुसारको मेला, महोत्सव लगाउन स्थानीय सरकारले कार्यविधि बनाउनु पर्ने संघका वरिष्ठ उपाध्यक्ष नमराज शर्माले बताए । ‘होइन भने कोहलपुर बजार नै ध्वस्त हुने अवस्था आउँछ’, शर्माले पत्रकारहरुसँग भने, ‘उचित कार्यविधि बनाएर मात्रै यसखालका मेला महोत्सव सञ्चालन इजाजत सम्बद्धहरुलाई मात्र दिइनुपर्छ ।’

कोहलपुरमा नाफामूखि उद्देश्यले व्यापार मेला लगाउन लागिएको भन्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था कोहलपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको हो । संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले संयुक्त प्रेस विज्ञप्ति मार्फत जथाभावी महोत्सव लगाउने कुराको विरुद्ध कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराउँदा समेत वेवास्ता भएको भन्दै आपत्ति जनाएका छन् ।
संघले पुस २४ गतेदेखि कोहलपुरमा लगाइने भनिएको महोत्सवमा आफ्नो कुनै किसिमको संलग्नता सहभागिता र सहकार्य नरहेको भन्दै सदस्य व्यवसायीहरु महोत्सवको पक्षमा नरहेको स्पष्ट पारेको छ ।