नेपालगन्जमा आयोजित दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा सुपथ मूल्यमा वस्तुहरुको खरिद र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न आइतबार पनि उल्लेख्य रुपमा अवलोकनकर्ता पुगेका छन् ।
महोत्सवमा रहेको विभिन्न किसिमका पिङ्ग खेल्दै रमाउन पुग्नेहरु पनि उल्लेख्य रहेको आयोजकले जानकारी दिएका छन् ।
आइतबार ज्योति मगरलेको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । महोत्सवमा स्थानीय कलाकारहरुले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन गराइरहेका छन् । ‘महोत्सवमा खरिद र सांस्कृतिक कार्यक्रम हेर्न हजारौं दर्शक आइतबार पनि पुग्नुभएको छ’, महोत्सव प्रचारप्रसार संयोजक विजय चौधरीले भने । आज सोमबार राजनराज सिवाकोटी, नविन पौडेल, दिपक खड्का, भूमिका गिरी लगायतको प्रस्तुति राखिएको उनले जानकारी दिएका छन् ।
आयोजकले महोत्सवमा भैरहेको कारोबार सन्तोषजनक रहेको दाबी गरेका छन् । सडक विभाग परिसरमा आयोजित मेलामा व्यवसायिक २ सय ५० वटा स्टल रहेका छन् । जहाँ सुपथ मूल्यमा वस्तुहरु बिक्री भैरहेको महोत्सव आयोजक समितिका सहसंयोजक मिना सुवेदी ढकालले बताइन् ।
महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलले सहकार्य गरेको छ । महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।