अर्थमन्त्री भन्सार पुगेपछि…

उसैपनि शनिबार बिदाको दिन । भन्सार कर्मचारीहरु कुन ध्याउन्नमा थिए, एक्कासी खबर आयो अर्थमन्त्री डा. युवराज खतिवडा सहितको उच्च स्तरीय सरकारी टोली नेपालगन्ज भन्सार कार्यालय अनुगमनका लागि पुग्दैछ ।


सबै तयारी ठिकै थियो । राजश्व उच्च अधिकारीहरुको टोलीसहित एक्कासी भन्सार पुगेका अर्थमन्त्री डा. खतिवडाले कार्यालयको मात्र अनुगमन गरेनन्, नेपाल–भारत सीमा स्थित भन्सार पोष्ट नै पुगे । अवस्थाको जायजा लिंदै थिए, नजिकै दशगजाबाट लहरै केही मानिसहरु सरसमान लिएर नाका पार भए ।


‘त्यो के हुँदैछ ?’, डा. खतिवडाले नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलालाई देखाए । सँगैका उच्च अधिकारीहरु मुखामुख गर्दै रातोपिरो भए । अर्थमन्त्री डा. खतिवडाकै अगाडि एक हुल व्यापारी सामान लिएर मूल नाका भन्दा सय मिटर परबाट दशगजा हुँदै नेपाल पस्दै थिए । ‘यो रोक्ने जिम्मेवारी प्रहरीको हो’, भन्सार अधिकारी यत्ति के भन्दै थिए डा. खतिवडाले प्रतिक्रिया दिन नभ्याउँदै प्रहरीले उनीहरुलाई सामान सहित नियन्त्रणमा लियो ।

अधिकांस तरकारी र किराना पसलका लागि भन्सार छलेर लगिंदै गरेको सामान प्रहरी र भन्सार कर्मचारीले देखिने दुरीबाट गैरहेकाले ‘सेटिङ’ हो भन्ने कुरा बुझ्न अर्थमन्त्रीलाई समय लागेन ।
तस्करीको ‘आँखोदेखा हाल’ अनुगमनपछि अर्थमन्त्री डा. खतिवडाले भन्सार कडाइ गर्न नेपालगन्ज भन्सार कार्यालयलाई निर्देशन दिएका छन् । उनले नियमित रुपमा भन्सारको अनुगमन गरी चोरी पैठारी नियन्त्रण गर्दै राजस्व असुलीमा सक्रिय रहन भन्सार कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।


अर्थमन्त्री डा. खतिवडा संगै भन्सार विभागका महा–निर्देशक सुमन दाहाल र आन्तरिक राजश्व विभागका महा–निर्देशक विनोद कुवर समेत सहभागी रहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् । अनुगमन टोलीले पारदर्शी रुपमा कार्य गरी भन्सार प्रशासनमा स्वच्छता कायम गर्न निर्देशन दिएको प्रमुख निरौलाले बताए ।
राजस्व संकलनको लक्ष्य पुरा गर्न सुझाव दिदै मन्त्री खतिवडाले लक्ष्य हासिल गर्नका लागि आवश्यक परेमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा जानकारी गराउंदै सकारात्मक कार्य गर्ने कर्मचारीलाई आफुले संरक्षण र सम्मान गर्ने बताएका थिए । मन्त्री खतिवडाले मुलुक संघियतामा गएसंगै श्रोत साधनको माग अत्याधिक रहेकोले भन्सारका क्रियाकलापहरुमा सुधार ल्याई आगामी दिनमा अपेक्षित राजस्व संकलन गर्न कडाइका साथ लाग्न कर्मचारीलाई निर्देशन दिएका थिए ।


चोरी पैठारी र अवैधानिक निकासीले राजश्व संकलनमा ठुलो असर गर्ने बताउदै चोरी पैठारी र निकासीलाई रोक्ने तर्फ बिशेष ध्यान दिनुपर्नेमा मन्त्री खतिवडाले जोड दिएका थिए । भन्सार कार्यालयको भौतिक पूर्वाधार र कार्यालय ब्यवस्थापनमा समेत सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले दैनिक नेपालगन्जलाई बताए ।


अर्थमन्त्री सहितको टोलीले नेपालगन्ज भन्सार कार्यालयको साथै आन्तरिक राजश्व कार्यालय नेपालगन्जको समेत निरीक्षण गरेको थियो । कार्यालय निरीक्षण्को क्रममा कार्यालयको भौतिक पूर्वाधारको साथै राजश्व संकलनको अवस्था, चुनौति र समस्याको वारेमा निरीक्षण गरेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश आचार्यले जानकारी दिए । कार्यालयको निरीक्षणको क्रममा लक्ष अनुसारको राजश्व संकलन गर्न निर्देशन दिएको आचार्यले बताए । टोलीले कार्यालयको वस्तुस्थिति, काम–कारबाही, राजस्व संकलनको प्रक्रिया र अवस्था सबै बुझेर कर्मचारीलाई बफादार भई कार्य गर्न समेत निर्देशन दिएर गएको उनले भने ।


मन्त्री सहितको टोली नेपालगन्ज आएको अवसरमा शनिवार भन्सार नाकामा अन्य दिनको तुलनामा कडाइ गरिएको थियो । अन्य दिनहरुमा केही खुकुलो हुने भन्सार चेकजाँचमा शनिवार कडाइ गरिएको उपभोक्ताहरुले बताए । अरु दिन सामान्य चेकजाँच गरेर पठाउने सामानहरुको समेत भन्सार तिर्न लगाइएको उपभोक्ताहरु बताउँछन् ।


भारतीय वजार रुपैडियाबाट घरयासी उपभोगका लागि ल्याइएको २५ केजीको १ बोरा चामलको समेत भन्सार तिर्न लगाएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने हिमाल खनालले बताए । अरु दिन २ बोरा सम्म ल्याउँदा समेत भन्सार तिर्नु नपरेको बताउदै खनालले भने, ‘मन्त्री आएकाले भन्सार कडाइ गरिएको भन्दै १ बोरा चामलको १०० रुपैया राजश्व तिर्न बाध्य बनाइयो ।’


शनिवारको दिन सामान खरिद गर्न रुपैडिया जानेहरुको अरु दिनको तुलनामा निकै भिड लाग्ने गर्छ । त्यसैमा मन्त्री सहितको टोली आएको भन्दै देखावटी रुपमा भन्सार कडाई गरिएपछि नागरिकहरुले सास्ति भोग्नुपरेको उपभोक्ताहरुको भनाइ छ । भन्सारमा कडाइ गरिएपछि कतिपयले भन्सार तिरेर सामान ल्याएर आएका थिए भने कतिपयले १ बोरा चामलमा भन्सार तिर्न भनेपछि फिर्ता गरेका थिए ।


नेपालगन्ज बडा नं. १० का मनोज बि.सी.ले अरु दिनहरुमा घरयासी प्रयोजनका सामानहरुको भन्सार तिर्न नपरेको भएपनि शनिवार १ बोरा चामल सम्म भन्सार नतिरेर ल्याउन नदिएको बताए । नेपालगन्ज भन्सार कार्यालयमा ३ करोड ४० लाख राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको थियो । शनिबारको दिन आधा दिन मात्रै कार्यालय खुल्ने र राजश्व संकलन गरिने भएपनि भन्सार कडाइका कारण अन्य दिनकै संख्यामा राजश्व संकलन भएको छ ।


सधै यस्तै गरि भन्सारमा कडाइ गरिनुले राजश्व संकलनमा टेवा पुग्ने भएपनि बिशेष ब्यक्तिहरु आएको समयमा मात्रै देखावटी रुपमा गरिने कडाइको कुनै अर्थ नभएको नेपालगन्जका ब्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया