स्थलमार्गबाट धेरै पर्यटक नेपाल प्रवेश गर्ने नाका भैरहवा हो । सन् २०१८ मा स्थलमार्गबाट नेपाल प्रवेश गरेका २ लाख ३ हजार ७८५ जना तेश्रो मुलुकका पर्यटक मध्ये एक लाख ६५ हजार ८१८ जना पर्यटक यो नाकाबाट प्रवेश गरेका थिए । तर भैरहवा जस्तै समान भूगोल र सुविधा भएको नेपालगन्ज नाकाबाट सोही वर्ष ५९० जना मात्र तेश्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए । सरकारी तथ्यांकहरुलाई हेर्दा नेपालगन्जमा पर्यटक अभाव भएको र नेपालगन्जले अतिथि सत्कार गर्न नपाएको जस्तो देखिन्छ तर वास्तविकता भने त्यस्तो छैन ।
सरकारी निकायले स्थलमार्गबाट नेपालगन्ज प्रवेश गर्ने भारतीय पर्यटकको अभिलेख नराख्ने भएकोले नेपालगन्जमा पर्यटकको उपस्थिति कम देखिएको छ । नेपालगन्ज पूर्णत भारतीय पर्यटकमा आश्रित रहेको छ र यो खर्च गर्नकै लागि नेपाल आउने पर्यटकहरुको हब पनि हो । यहाँको होटेल व्यवसायी र ट्राभल एजेन्सीहरुलाई आधार मान्दा नेपालगन्ज र छेउछाउमा कम्तिमा एक रात बिताउने गरि वार्षिक करिब एक लाख पर्यटकहरु आउने गर्छन । अन्यत्रका नाकाहरुबाट भन्दा स्तरीय पर्यटकहरु आउने भएकोले नेपालगन्जले पर्यटकबाट सन्तोषजनक कमाई गरिरहेको हुनुपर्छ ।
पश्चिम पहाडमा सडक संजाल नबन्दासम्म नेपालगन्ज पश्चिम नेपालकै यात्रा प्रस्थान बिन्दु रहेको थियो । नेपालगन्जले पहाडी र हिमाली क्षेत्रका सदरमुकामहरूलाई हवाइमार्गले जोडेकोले ति क्षेत्रहरुमा जाने स्वदेशी र विदेशी पर्यटकहरु नेपालगन्ज पुग्नैपर्ने बाध्यता रहेको थियो । तर पश्चिमका सबैजसो सदरमुकामहरुमा सडक पुगेकोले नेपालगन्ज पुग्नैपर्ने बाध्यता हटेको छ र नेपालगन्ज विस्तारै एक्लिदै गएको छ । यति हुँदाहुँदै पनि हुम्ला –मानसरोबर, मुगु–रारा, जुम्ला, डोल्पा जस्ता गन्तव्यहरुमा पुग्नको लागि नेपालगन्ज पहिलो प्राथमिकतामा परेको छ । सन् २०१७ यता वार्षिक १२ हजार भारतीयहरू नेपालगन्ज हुदै मानसरोबर गएको र करिब २५ सय तेश्रो मुलुकमा पर्यटकहरु नेपालगन्ज हँुदै हिमाली क्षेत्रको भ्रमणमा गएको पर्यटन ब्यवसायीको दाबी छ । नेपालगन्जलाई आधार बनाएर हिमाली क्षेत्रको भ्रमणमा जाने स्वदेशी पर्यटकको संख्या त्यो भन्दा धेरै छ । यी तथ्यहरुलाई हेर्दा नेपालगन्ज पर्यटकीय मार्ग रहिरहेको पुष्टि हुन्छ ।
नेपालगन्जमा २ वटा ५ तारे, २ वटा ४ तारे ३ वटा ३ तारे गरि उच्च पर्यटकीय सत्कार दिन सक्ने १६०० बेड क्षमताका एक दर्जन होटेलहरु रहेका छन् भने त्यति नै संख्यामा पर्यटकीय सुविधा दिन सक्ने होटेलहरु रहेका छन् । सुविधा सम्पन्न होटेलहरुको संख्या यहाँ वर्षेनी थपिदै छ । यहाँका होटेल व्यवसायीको कुरा मान्ने हो भने ट्रान्जिट परेर बस्नुपर्ने बाध्यता बाहेक अन्य अवस्थामा नेपालगन्जमा अतिथिहरू एक दिन मात्र विताउने गरेका छन् । हुम्ला, जुम्ला र रारा जान रोकिनेहरू वा दिल्लीबाट सिधै काठमाण्डौ जाँदा महँगो हुने भएकोले लखनौ हुदै नेपालगन्ज आएर जहाजमा काठमाण्डौ जानेहरुले चलेको यहाँको आतिथ्यता व्यवसाय यस्तै अवस्थामा कतिन्जेल टिक्न सक्छ ? यसबारेमा सोच्नैपर्ने बेला आएको छ ।
भारतको राजधानी दिल्ली र पर्यटकीय प्रदेश उत्तराखण्डसंग सिधा सम्पर्कमा रहेकोले नेपालगन्ज बाह्य पर्यटकको लागि सहज ठाउँ हो । बागेश्वरी मन्दिरले भारतीय भक्तजनलाई तानिरहेको र हालसालै संचालनमा आएका क्यासीनोहरुले युवा भारतियहरुलाई आकर्षण गरिरहेको भएपनि नेपालगन्जसंग पर्यटकलाई तानिरहन र धेरैदिन अड्याईरहन सक्ने सम्पदाहरु हालसम्म प्रकाशमा आएका छैनन् । कर्णाली प्रदेशका पर्यटकीय गन्तब्यमा र केही स्वर्गद्वारीमा भारतीय तिर्थालुहरुलाई पठाएर नेपालगन्जले केही लाभ लिएपनि त्यो दिगो नहुने प्रष्टै छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भविस्यमा कर्णालीको हवाई बेस बन्ने वित्तिकै पर्यटक पठाएर नेपालगन्जले गरिरहेको आम्दानी पनि गुम्न सक्छ । त्यसैले नेपालगन्जले दिगो पर्यटनका लागि बाँके भित्र नै पर्यटक टिकाइराख्ने बाँके केन्द्रित पर्यटन व्यवसाय संचालन गर्नु पर्छ, जसका निम्ति केहि आधारहरु समेत तयार भैसकेका छन् ।
चितवन राष्ट्रिय निकुन्ज नेपालमै धेरै पर्यटकहरु भ्रमण गर्ने पर्यटकीय गन्तव्यमा पर्छ । आ.ब. २०७५÷७६ मा मा यहाँ एक लाख ८६ हजार हजार विदेशी पर्यटक पुगेका थिए, त्यो भन्दा दोब्बर संख्यामा त्यहाँ स्वदेशी पर्यटक पुगेका थिए । चितवनको पर्यटन उद्योग यहि निकुन्जले धानेको छ । जीप सफारी, हात्ती सफारी, डुंगा शयर, चरा अवलोकन र राप्ति तथा नारायणी नदि तटीय अवलोकनको लागि त्यहाँ पर्यटक पुग्ने गरेका छन् । चितवनकै जस्तो पर्यटकीय सम्भावनाहरु बाँके राष्ट्रिय निकुन्जमा समेत छन् । चितवनमा जस्तै बाघको बासस्थान रहेको , नदी र तालतलैयाहरु भएको र यातायातको सहज पहुँच भएकोले पनि बाँके पर्यापर्यटनको गन्तब्य बन्न सक्ने देखिएको छ । बाँके राष्ट्रिय निकुन्जले १५० किमी लामो जंगल ट्रेल तयार गरिसकेको छ र गत वर्षदेखि हात्तीको व्यवस्था गरि जंगल सफारीको लागि पनि व्यवस्था गरिसकेको छ । निकुन्जको ओभरी क्षेत्रलाई जंगल ड्राइभ र पदयात्राको लागि छुट्टाईएको भने ढकेरी क्षेत्रलाई हात्ती सफारीको लागि तयार गरिएको छ । बबई र राप्ति नदीमा बोटिङ र वन्यजन्तुहरु अवलोकनको लागि मचानहरु समेत तयार गरिएको छ तर यो जानकारी पर्यटकहरुसम्म पु¥यार नेपालगन्जले लाभ लिन सकिरहेको छैन । बाँके जिल्लादेखि सहज पहुँचमा रहेको बर्दिया राष्ट्रिय निकुन्जमा पर्यटकीय चहलपहल बढिरहेको भएपनि नेपालगन्जले कहिलेकाही त्यहाँ पर्यटक पठाउने बाहेक अन्य लाभ लिन सकेको देखिदैन ।
सरकारले बाँकेका ४ स्थललाई पर्यटकीय गन्तव्यको सुचिमा राखेको छ । त्यस्ता स्थलमा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुन्ज र डुडुवा गाउँपालिका वार्ड नम्बर ५ मा पर्ने कम्मर शाह मजार रहेका छन् । तर चारवटै गन्तव्यको प्रवद्र्धनको लागि सरकारले बजेट छुट्टाएको छैन । सरकारले सहयोग नगरेपनि गाभर भ्यालीले यस वर्ष मात्र ९ हजार स्वदेशी र विदेशी अतिथिहरुलाई स्वागत गरिसकेको छ र ढकेरी होमस्टेले पनि पर्यटक तान्ने क्रम बढेको छ । यी होमस्टेका ग्राहक पनि एकरातका पाहुना मात्र भएकोले खासै पर्यटकीय लाभ प्राप्त हुन सकेको छैन । त्यसैले बाँकेलाई पर्यटकीय लाभ लिन सक्ने बनाउनको लागि नेपालगन्जले नै पहल गर्नुपर्ने बेला आएको छ । बाँकेका सम्पूर्ण पर्यटकीय सम्भाव्यताको खोजि, तालिकिकरण र प्रचार प्रसार गर्ने कामको नेतृत्व नेपालगन्जको पर्यटन व्यवसाय सम्बद्ध सस्थाहरुले नै गर्नु पर्छ । कर्णाली प्रदेशका पर्यटकीय गन्तब्य र मानसरोबर घुम्न आउने पर्यटकलाई कम्तिमा २÷३ दिन बाँके राष्ट्रिय निकुन्ज र यस क्षेत्रका अन्य पर्यटकीय स्थलमा घुमाउने कार्यक्रमहरु नेपालगन्जले बनाउन सक्नुपर्छ । तेश्रो मुलुकका पर्यटकहरु अहिले नै नेपालगन्जमा ल्याउन कठिन होला तर नेपालगन्जलाई ट्रान्जिट बनाएर अन्यत्र घुम्न जान चाहने पर्यटकलाई केही दिन यहाँ घुम्ने सुविधा र अवस्था निर्माण गर्न पक्कै पनि सकिन्छ ।
देश पर्यटन वर्षको महाअभियानमा जुटेको छ । यो अवसरको लाभ नेपालगन्जले लिन चुक्नु हुदैन । पर्यटकलाई एक रात राख्ने र अन्यत्र पठाउने भन्दा पनि पर्यटक टिकाउने र स्थानीय स्वाद बिकाउने खालका कार्यहरु गर्नु जरुरि छ । ‘बागेश्वरी देखि बाघसम्म’ भन्ने अभियानमा बाँकेका पर्यटन व्यवसायीहरु लाग्नुपछ । नेपालगन्जमा होटेलमा मात्र लगानी बढाईरहने तर पर्यटकलाई कसरि टिकाउने भन्ने कुरा अब पनि सोच्न सकिएन भने यहाँको पर्यटन क्षेत्र र पर्यटन उद्योग कहिल्यै माथि उठ्न सक्नेछैन । सरकारले सहयोग नगरेपनि प्रकृति र सस्कृतिले बाँकेलाई धेरै पर्यटकीय श्रोतहरु उपलब्ध गराएको छ । यिनै श्रोतहरुलाई पर्यटन बजारमा बेच्न सकियो भने नेपालगन्जले दिगो पर्यटकीय लाभ लिइरहन सक्नेछ । आशा गरौ – भ्रमण वर्षले नेपालगन्जलाई त्यो बाटोमा डो¥याउनेछ ।