नेपालगन्जबाट भ्रमण बर्षको भव्य स्वागत

आजबाट बाँके निकुञ्जको जंगल सफारी


नेपाल भ्रमण बर्ष सन् २०२० नेपालगन्जबाट भव्य स्वागत गरिएको छ । जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति बाँकेको आयोजनामा नेपालगन्ज स्थित होटल सिद्धार्थ भ्यू परिसरमा भव्य कार्यक्रम बीच भ्रमण बर्षको स्वागत गरिएको हो ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम बीच जिल्ला स्थित जनप्रतिनिधिहरु, कार्यालय प्रमुख, पर्यटन व्यवसायी, सुरक्षा अधिकारीहरुका बीच पर्यटन बर्ष शुभारम्भ गरिएको थियो । मुख्यमन्त्री पोखरेलकै आतिथ्यतामा आज बुधबार बाँके राष्ट्रिय निकुञ्जको हात्तीसारमा जंगल सफारी शुभारम्भ कार्यक्रम राखिएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । उनका अनुसार, बाँके राष्ट्रिय निकुञ्जको खड्वार स्थित हात्तीसारमा औपचारिक कार्यक्रम बीच जंगल सफारीको समुद्घाटनसँगै निकुञ्जमा पर्यटकहरुका लागि हात्ती तथा जंगल सफारी खुला गरिनेछ । ‘यससँगै बाँकेमा पर्यटकलाई समय बिताउन राम्रो गन्तव्य तयार भएको छ’, पर्यटन व्यवसायी समेत रहेका होटल सिद्धार्थका निर्देशक केशव न्यौपानेले भने ।


‘यो पर्यटनको दशक शुभारम्भ पनि हो’, प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘देशले हरेक बर्ष ५० लाख पर्यटक भित्र्याउने अभियानको थालनी यसैबर्षबाट गर्दैछ ।’ बाँकेले पर्यापर्यटन र धार्मिक पर्यटनमा राम्रो सम्भावना बोकेको भन्दै सांसद गहतराजले पत्रकारहरुसँग भने, ‘बाँके निकुञ्ज र बागेश्वरी मन्दिर त्यसका आधार हुन् ।’ सांसद गहतराजले भ्रमण बर्षको सफलतामा देशको उन्नती, प्रगति र समृद्धि जोडिएको भन्दै त्यसका लागि सम्पूर्ण देशबासी एक ढिक्का हुनुपर्ने धारणा राखे ।


जिल्ला पर्यटन प्रवद्र्धन समिति बाँकेले भ्रमण बर्ष तयारी बारे जानकारी दिन गरेको पत्रकार भेटघाटमा सांसद गहतराजले स्थानीय सरकारले पर्यटकीय गन्तव्यका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘अबका पूर्वाधारहरुमा पर्यटकीय सम्भावना खोज्न जरुरी छ’, सांसद गहतराजले नेपालगन्जबाट पोखरा, दिल्ली लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय उडानका सम्भावनाहरुमा आफु लागि परेको जानकारी दिंदै भने ।


प्रदेशसभा सदस्य कृष्णा केसीले बाँके र बर्दियालाई प्रदेश सरकारले अपेक्षाकृत सम्बोधन गर्न नसकेको गुनासो गर्दै भ्रमण बर्ष सन् २०२० का लागि यहाँका पर्यटकीय सम्भावनामा लगानी बढाउनु पर्ने बताइन् ।


बाँके निकुञ्जको पर्यापर्यटकीय विशेषता र बागेश्वरीको धार्मिक पर्यटकीय सम्भावनालाई व्यापक बिस्तार गर्न जोड दिंदै निजी क्षेत्रसँग आफुले सहकार्य गर्न तयार रहेको सांसद केसीको भनाइ थियो । ‘त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग निरन्तर लबिङ गरिरहने छु’, केसीले पत्रकारहरुसँग भनिन् ।


जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका जिल्ला पर्यटन प्रवद्र्धन समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम लाल कंडेल लगायतले राज्यले बाँकेको पर्यटकीय पूर्वाधारमा लगानी बढाउनु पर्ने माग गरे ।


‘अधिकांस स्वदेशी लगानीमा पर्यटकका लागि सुविधा सम्पन्न होटलहरु रहेको नेपालगन्जमा राज्यले महत्वका साथ भ्रमण बर्षका लागि आवश्यक पूर्वाधारमा जोड दिनुपर्छ’, प्रदेश स्तरीय पर्यटक प्रवद्र्धन समितिका सदस्य समेत रहेका काफ्लेले भने, ‘सकेसम्म धेरै भारतीय पर्यटक भित्र्याउन बाँकेका व्यवसायीहरु आफ्नो तर्फबाट लागि परेका छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया