‘राजधानी बाँके, नेपालगन्ज हुनुपर्छ’

मो. इस्तियाक राई
पूर्व मन्त्री,
प्रतिनिधिसभा सदस्य बाँके

नगर प्रमुखले राग अलाप्नु भएको छ, बाँके र बर्दियालाई कर्णालीमा गाभिदिनुपर्छ । पिएचडी होल्डरहरुले संविधान अध्ययन गर्नुपर्छ । हाम्रो पार्टीले भर्खर संविधान संशोधन नहुने निश्चितता भएपछि सरकारबाट बहिर्गमन गरेका छौं । यहाँका जनतालाई दिग्भ्रमित गर्ने काम नगरौं । हामी एउटा रौं पनि भाँच्न सक्दैनौं संघीयताको । जुन प्रदेश सीमांकन भैसकेको छ । यो सीमांकनको एउटा रौं पनि हेरफेर गर्दा दुई तिहाई पार्लियामेन्टमा चाहियो, सात प्रदेश मध्ये बहुमत चार प्रदेशको निर्णय सहित पार्लियामेन्टले निर्णय गरेपछि मात्रै यो रौं भाँचिन्छ । त्यो जानकारी हुँदाहुँदै पनि दिग्भ्रमित पार्ने बेमौसमी बाजा नबजाउन आग्रह गर्न चाहन्छु ।


हामी विज्ञता र विद्वतालाई जनताका बीचमा प्रष्ट रुपमा पार्नुपर्छ । मित्रहरुलाई आग्रह छ मेरो, त्यो समिति बनाएका, पहिला संविधान संशोधन गराउनुस् अनि त्यो सम्भव छ । असम्भव कुरा, जनतालाई बेवकुफ बनाउने नगर्दिनुस् भन्ने आग्रह गर्न चाहन्छु । संविधान जबसम्म संशोधन हुँदैन तबसम्म सीमांकन हेरफेर हुनै सक्दैन । नहुने कुराका लागि जनतालाई वेवकुफ बनाउने काम नगर्नुस् ।


हिजोका दिनमा हामीले यही नेपालगन्ज राजधानी बनाउनु पर्छ भनेर आन्दोलन गर्यौं । त्यो बेला तपाईहरुले नेपालगन्जलाई राजधानी बनाउन सहयोग गर्नु भएन । त्यो बेला संघीयता चाहिदैन भन्ने नारा लगाउनु भयो । त्यो बेला राजतन्त्र चाहिन्छ भन्ने नारा लगाउनु भयो ।


राजतन्त्र हुँदा यहाँका सबै संरचना सुर्खेतमा लगेर थुपारिदिए । राजा ज्ञानेन्द्रले कु गर्दा नेपालगन्जका क्षेत्रीय कार्यालय सारे । प्रमुख प्रशासकीय केन्द्रहरु गाई, गोरु बाँध्नका लागि सुर्खेतमा थुपारिदिने त्यो राजतन्त्रीय मानसिकताले फेरि सल्बलाउने प्रयास गर्ने त्यो कदापि स्वीकार्य हुँदैन । यहाँका जनतालाई मेरो आग्रह छ, पहिला संविधान संशोधन गर्न हामीलाई साथ दिनुस् । संविधान संशोधन भयो भने सीमाकंन हेरफेर हुनसक्छ । म भन्छु, बुटवल राजधानी म कुनै पनि हालतमा मान्दैन । त्यसका लागि आन्दोलनका लागि म तयार छु । राजधानी बाँके, नेपालगन्ज हुनुपर्छ, नभए पायक पर्ने ठाउँमा हुनुपर्छ । हामी परिवर्तन गरेर देखाउँछौं । (पूर्व मन्त्री राईको नेपालगन्जमा आयोजित घरेलु महोत्सव उद्घाटनका क्रममा व्यक्त मन्तव्यको अंश)

प्रतिक्रिया

प्रतिक्रिया