अहिले मुलुकमा ३५ हजार सहकारी संस्थाहरु छन् । अधिकांश सहकारीहरुको मुख्य कारोबार बचत र ऋण भएको छ । सहकारी ऐन २०७४ को दफा ३२(१) ले “कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य हुन पाउनेछैन” भन्ने व्यवस्था गरेको साथै सहकारी ऐनले विषयगत संस्थाले दर्ता हुँदाका बखत उल्लेख गरेको विषय अनुरुपको कारोबार गर्नुपर्ने व्यवस्था गरेबाट पनि अब समुदायका व्यक्तिहरुले आफ्नो कारोबारको लागि एउटा मात्र विषयगत संस्था छनौट गर्नुपर्ने व्यवस्था रहेको छ । त्यति मात्र नभई ऐनको सोही दफामा अगाडि कुनै व्यक्ति ऐन जारी हुँदाका बखत एक भन्दा बढी समान विषयगत संस्थामा सदस्य भएमा ऐन जारी भएको तीन वर्ष भित्र अन्य संस्थाको सदस्यता त्याग गरी कुनै एउटा संस्थाको मात्र सदस्यता कायम राख्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यसैले संस्था छनौट गर्दा धेरै बिचार गरेर सदस्यमैत्री, दीगो र उच्चस्तरको सेवा प्रदान गर्ने संस्था छनौट गर्नु पर्दछ । तर नेपालमा हालसम्म सहकारी संस्थाको उत्कृष्टता मापन गर्ने निर्दिष्ट आधारको सिमितता रहेको छ ।
राज्यले समग्र सहकारी संस्थाको उत्कृष्टता मापनको सूचक विकास नगरेता पनि नेपालको बचत तथा ऋण सहकारी संस्थाको अवस्था मापनको लागि भने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा केहि सूचकहरु विकास गरिएको छ । नेपालमा सहकारी विभागसँगको सहकार्यमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी संस्थाहरुको लागि केहि सूचक निर्धारण गरेको छ जसमा गुणस्रतको आधारमा र जोखिमको आधारमा मापन गर्ने गरी दुई किसिमका सूचकहरु रहेकाछन् । त्यसैगरी नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकु)ले विकास गरेको गुणस्तर मापनका सूचक सहितको टुल्स प्रयोगको लागि नेपालमा सहजिकरण गरिरहेको छ । राष्ट्रिय सहकारी बैंकले पनि स्तरीकरण कार्यक्रमकोरुपमा अनलाईन प्रणालीबाट तथ्याङ्क एवम् सूचनाहरु प्राप्त गर्ने र सोको आधारमा वर्गीकरण गर्ने कार्यको थालनी गरेको छ ।
यद्यपी यी मापनका विधि, औजार र सूचक उक्त कार्यक्रममा सहभागी हुन चाहने संस्थाहरुमा मात्र केन्द्रीत हुने र परीक्षणमा सफल भएका संस्था बाहेक अन्य संस्थाको अवस्था सार्वजनिक नहुने भएकोले आमरुपमा संस्थाको अवस्था मापन गर्ने, वर्गीकरण गर्ने अभ्यास नरहेको भन्न सकिन्छ । यस्तो अवस्थामा संस्थाको वास्तविक वित्तीय र सुशासनको अवस्था जानकारी नहुँदा आमनागरिकहरुलाई धेरै संस्थाबाट सदस्यता एउटामा मात्र कायम गर्नुपर्दा कुन चाहिं रोज्ने ? वा नयाँ सदस्यता लिन कुन संस्था छनौट गर्ने ? भन्ने निर्णय गर्न अन्यौलता कायम रहेको छ । यस्तो अवस्थामा आफ्ना सदस्यहरुलाई कायम राख्ने र नयाँ सदस्य थप गर्ने चुनौति सहकारी संस्थाहरुसँग छ भने सदस्य वा समुदायका मानिसहरुमा समेत कुन संस्था छनौट गर्ने भन्ने द्विविधा उत्पन्न भएको छ । यसै सन्दर्भमा संस्थालाई कसरी समुदायको छनौटमा पर्न सक्ने गरी सञ्चालन गर्ने वा कस्तो संस्थाको सदस्यता कायम राख्ने र नयाँ सदस्य बन्दा कस्तो संस्थामा सदस्यता लिने भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
वित्तीय सहकारी संस्थाहरुको स्तर निर्धारणको लागि विकास गरिएका सूचकहरुको आधारमा स्तरिकृत भएका संस्थाको हकमा सोही स्तरिकरणले छनौटको आधार प्रदान गर्दछ तर स्तरिकृत नभएका संस्थाहरुको हकमा छनौट कसरी गर्ने त ? यसमा विभिन्न आधारमा संस्थाको छनौट गर्नुपर्दछ । सामान्यतया अन्य वित्तीय संस्था वा कम्पनीको छनौट गर्दा उसले प्रदान गरेको शेयर लाभांश र शेयर बजारमा उसको प्रतिकित्ता शेयर मुल्यको आधारमा गर्ने गरिन्छ तर सहकारी संस्था सामाजिक व्यवसाय भएकोले नाफासँगै उसका सञ्चालन पद्धती र सामाजिक दायित्वका विषयहरुसमेत हेर्नुपर्दछ । सामान्यतया यसरी हेर्दा सञ्चालन पद्धती, कार्यरत मानव श्रोत, कर्मचारी र अन्य सदस्यको सन्तुष्टि, सदस्य सेवा, समुदायको पहुँच जस्ता सामान्य सूचकहरु विश्लेषण गर्न सकिन्छ । तर वित्तीय एवम् अन्य प्रकाशित प्रतिवेदनहरु विश्लेषण गर्न सक्ने व्यक्तिले भने उक्त संस्थाको सञ्चालकीय सक्षमता (नाफादायकता र दीगोपना), वित्तीय सक्षमता, सम्पत्तिमा प्रतिफल दर, लगानी (शेयर)मा प्रतिफल (लाभांश) दर, सम्पत्तिमा श्रोतको विविधिकरण, श्रोतको लागत, शेयर र बाह्य ऋणको अनुपात, संस्थाको तरलता, जोखिमयुक्त सम्पत्ति, भाखा नाघेको ऋण अनुपात, अपलेखनको अवस्था, कर्मचारीको उत्पादकत्व अनुपात (प्रतिकर्मचारी लगानीमा रहेको ऋण, ऋणी सदस्य संख्या, बचत खाता र सदस्य अनुपात), सञ्चालन खर्च दर, सदस्य, सम्पत्ति र ईक्वीटीमा भएको शुद्ध वृद्धि दर, सेवाको मुल्य जस्ता आधारमा समेत विश्लेषण गर्न सक्दछन् तर सहकारीका आमसदस्य र समुदायका सम्भाव्य सदस्यहरुमा यस्तो विश्लेषण गर्ने क्षमता नहुन सक्दछ ।
बचत तथा ऋण सहकारी संस्थालाई समुदायका आममानिसहरुको पहिलो छनौटको बनाउन एशियाली ऋण महासंघ (आकु)ले एक्सेस कार्यक्रम अन्तर्गत ८६ वटा सूचक सहितको परीक्षण औजार विकास गरेको छ भने नेफ्स्कूनले सहकारी विभागसँगको सहकार्यमा प्रोबेशन कार्यक्रम विकास गरी ५० वटा सूचक सहितको परीक्षण औजार विकास गरेको छ । संस्था छनौट गर्दा माथि उल्लेखित सम्पूर्ण विषय र क्षेत्रहरु निकै महत्वपूर्ण छन् तर त्यो भन्दा बढी संस्थाको जोखिमस्तर के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । संस्था राम्रो हुनु र नराम्रो नहुनु सामान्यरुपमा एउटै देखिएतापनि यसमा केहि फरक छ । संस्था राम्रो हुनु भनेको प्रभावकारी सेवा र उच्चस्तरको प्रतिफल दिनु हो भने नराम्रो नहुनु भनेको जोखिमको स्तर न्युन र दीगो सञ्चालन हुनु हो । संस्थाको गुणस्तर परीक्षणको लागि प्रोबेशन, एक्सेस जस्ता परीक्षण सूचक विकास गरिएको छ भने जोखिम स्तर परीक्षणको लागि नेफ्स्कून र सहकारी विभागको साझेदारीमा ७५ वटा सूचक सहितको जोखिम परीक्षण औजार विकास गरिएको छ जसलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम भनिएको छ । यसको मतलब यी परीक्षण नभएका संस्थाहरु सबै जोखियुक्त वा कमजोर वा न्युन गुणस्तरका हुन्छन् भन्ने अवश्य पनि होइन तर एउटा व्यक्तिको शरीर स्वस्थ छ वा छैन भन्न स्वास्थ्य प्राविधिक मार्फत परीक्षण गर्नुपरे जस्तै संस्थाको अवस्थाको लागि पनि परीक्षण गर्दा सदस्य र समुदायलाई स्वास्थ्यको बारेमा विश्वास सिर्जित हुन्छ जसले समुदायमा पहिलो रोजाईको संस्था विकासमा सहयोग पु¥याउँदछ । कुनै पनि संस्था जोखिमरहित हुन सक्दैन तर जोखिम व्यवस्थापन र न्युनिकरण गर्न सकिन्छ तर त्यसको लागि जोखिमको अवस्था संस्था सञ्चालकहरुले पहिचान गर्ने र व्यवस्थापन गर्ने तत्परता हुनुपर्दछ । संस्थामा देहायको अवस्थामा जोखिम उच्च हुन्छ ।
क) सदस्य नबनाई कारोबार गर्ने गरेको,
ख) संस्था सिमित व्यक्ति वा परिवारका सदस्यहरुको निजी व्यवसायकारुपमा सञ्चालन भएको,
ग) नियमित साधारणसभा नगर्ने, न्युन उपस्थितिमा गर्ने, प्रतिवेदन र योजनामा छलफल नगराउने,
घ) सदस्यहरुलाई आवधिकरुपमा अद्यावधिक विवरणहरु (स्टेटमेन्ट) उपलब्ध नगराउने वा अशुद्ध र अपुष्ट विवरणहरु उपलब्ध गराउने,
ङ) उत्पादन र सेवाहरुमा उच्चदरको मुल्य निर्धारण गर्ने,
च) सिमित सदस्यहरुसँगमात्र अधिक कारोबार (खरीद, बिक्री, बचत, ऋण) गरेको र एकै क्षेत्र वा उद्देश्यमा लगानी केन्द्रित गरेको,
छ) अधिक कर्मचारी भर्ना गरेको,
ज) सञ्चालक र कर्मचारीहरुले अस्वाभाविक किसिमको जीवनशैली अबलम्वन गर्ने,
झ) कर्मचारी, सञ्चालक र सदस्यहरुलाई तालिम, शिक्षाका कार्यक्रमहरु सञ्चालन नगर्ने वा न्युन संख्यामा गर्ने गरेको,
ञ) संस्थामा कार्यरत कर्मचारीहरु र नेतृत्वको साझा बुझाई नभई फरक फरक व्याख्या गर्ने गरेको,
ट) वार्षिक लेखापरीक्षण समयमा नगर्ने वा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने,
ठ) अशुद्ध वा दोहोरो अर्थ लाग्ने सुचना, जानकारी वा प्रतिवेदन सार्वजनिक गर्ने,
ड) मासिक प्रतिवेदनहरु तयार नगर्ने, सम्पूर्ण सञ्चालकहरुलाई जानकारी नगराउने र सूचनापाटीमा प्रकाशन नगर्ने,
ढ) जगेडा कोष नहुनु वा वितरण गर्नु,
ण) सञ्चित नोक्सानी वृद्धि हुँदै जानु,
त) उच्च जोखिमयुक्त क्षेत्रमा लगानी भएको वा ऋण असुली न्युन भएको र ऋण एवम् लगानीको जोखिम कोष व्यवस्था नगरेको,
थ) लेखासुपरिवेक्षण समिति अप्रभावकारी वा निस्क्रिय भएको,
द) सञ्जालमा आवद्धता नभएको वा नाममात्रको आवद्धता रहेको (सेवाहरुमा सहभागिता नभएको र निर्देशनहरुको पालना नभएको)
उल्लेखित अवस्था भएमा संस्था जुनसुकै अवस्थामा जोखिममा पर्न सक्ने भएकोले त्यसमा सदस्यहरुको चासो र नियन्त्रण आवश्यक पर्दछ । यी उल्लेखित विषयहरुको परीक्षण कुनै परीक्षण औजार र प्राविधिकको उपस्थिति बिना नै आम व्यक्तिले बुझ्न सक्दछ ।
अब माथि उल्लेखित समस्याहरु छैनन् भने पनि सबैभन्दा राम्रो र उत्कृष्ट छनौट गर्नुपर्ने हुन्छ त्यसको लागि पनि हामीले केहि सुचकहरु हेर्न सक्दछौं ।
क) संस्थामा सदस्यताको लागि सदैव खुला भएको, सामान्य शुल्क र न्युनतम शेयर खरीद गरी सदस्य बन्न पाउने व्यवस्था भएको,
ख) कम्तिमा ५०% सदस्यको उपस्थितिमा आर्थिक वर्षको पहिलो तीन महिना भित्र नियमित साधारणसभा सम्पन्न गरेको,
ग) वार्षिक प्रगति प्रतिवेदनको छपाई गरी सदस्यहरुलाई वितरण गर्ने गरेको,
घ) साधारणसभाद्वारा बजेट, कार्यक्रम र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल र पारित,
ङ) संस्थाको अद्यावधिक लेखा तथा अन्य अभिलेख भएको र पारदर्शीता कायम गर्नको लागि सुचना प्रवाहको प्रणाली स्थापित गरेको,
च) संस्थाको विनियममा सञ्चालक बन्ने योग्यता निर्धारण (यस्तो योग्यता निर्धारण गर्दा लगानी रकमको आधारमा नभई सेवामा सहभागिता, निरन्तरता र बुझाईको आधारमा भएको),
छ) मासिकरुपमा सञ्चालक समितिको र उपसमितिहरुको आवश्यकताका आधारमा नियमित बैठक बस्ने गरेको,
ज) सदस्यहरुको आवश्यकता, माग, चाहना र सुझावको आधारमा संस्थाको व्यवसायसँग सम्बन्धित नीति लगायत अन्य नीति निर्माण गरी सोहि आधारमा संस्था सञ्चालन भएको,
झ) कम्तिमा ९०% भन्दा बढी सदस्यहरुको नियमित बचत भएको,
ञ) ऋण असुली नियमित (तोकिएको समयभित्र सतप्रतिशत) भएको,
ट) रणनीतिक व्यवसायिक योजना तर्जुमा र कार्यान्वयन भएको,
ठ) कर्मचारीहरुलाई मुख्य कार्यसम्पादन सुचक सहितको कार्यविवरण दिइएको,
ड) कर्मचारीले लक्ष्य र उपलब्धीको तुलनात्मक प्रगति प्रतिवेदन तयारी गरी नियमित मासिक बैठक बसी प्रगति प्रतिवेदनउपर छलफल एवम् पुनरावलोकन गर्ने गरेको,
ढ) कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन र पुरस्कारको व्यवस्था भएको,
ण) सञ्चालक समितिको निर्णयको पुर्णरुपमा कार्यान्वयन भएको,
त) सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकासको लागि वार्षिक कम्तिमा दुईवटा तालिम,
थ) लेखा सुपरिवेक्षण समितिद्वारा नियमितरुपमा आन्तरिक लेखापरीक्षण गर्ने र त्रैमासिक बैठक बस्ने गरेको,
द) लेखा सुपरिवेक्षण समितिको आन्तरिक लेखापरीक्षण गर्ने ज्ञान र सीप उच्चस्तरको रहेको र नियमित सिकाईको लागि योजना र बजेट व्यवस्था भएको,
ध) लेखापरिक्षक वा अन्य मुल्याङ्कनकर्ताले पत्तालगाएका कमजोरीहरु सुधारको मापदण्ड र आधार तयार गरी नियमित सुधार गरेको,
न) संस्थाले सरकार, आवद्ध संघहरु वा अन्य कुनै संस्था वा निकायबाट प्रशंसा वा पुरस्कार प्राप्त गरेको,
प) सदस्यको मागको आधारमा वित्तीय तथा गैरवित्तीय सेवाको विकास र कार्यान्वयन गरेको,
फ) संस्थाको वार्षिक योजना र बजेटमा व्यवस्था गरी कम्तिमा दुईवटा गैरवित्तीय सेवा सञ्चालन गर्ने गरेको,
ब) संस्थामा दोहोरो सञ्चारको प्रणाली विकास गरी सदस्यको गुनासो प्रभावकारीरुपमा सुनुवाई गर्ने गरेको,
उल्लेखित विषयहरु सहकारी संस्थाका लागि कुनै नयाँ विषय होइन । यी विषयहरु सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य र असल अभ्यासहरुको आधार हुन् । आम सहकारीका अलावा बचत तथा ऋण सहकारीका लागि बचत तथा ऋण सहकारीको विश्व सञ्जाल विश्व ऋण परिषद् (ओकु)ले केहि थप सिद्धान्तहरु प्रतिपादन गरेको छ र ती सिद्धान्तहरुको आधारमा समेत केहि क्षेत्रगत सुचकहरु माथि उल्लेख गरिएको हो । यसर्थ त्यहि संस्था राम्रो हुन्छ जुन संस्थाले सहकारीका सिद्धान्त र मुल्यको अक्षरशः पालना गरेको हुन्छ । अब आममानिसहरुलाई सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरु के छन् त ? भन्ने प्रश्न आउन सक्दछ । तसर्थ यहाँ अन्तर्राष्ट्रिय सिद्धान्त र मुल्यहरु प्रस्तुत गरिएको छ ।
सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरु ः
१) खुला तथा स्वेच्छिक सदस्यता ः संस्थामा कुनैपनि दिन सदस्यता आवेदन बन्द नगरिएको, प्रवेश शुल्क न्युन रहेको, सानो रकमको शेयर खरीद मार्फत सदस्यता प्रदान गरेको र शेयर खरीदको आधारमा सदस्यहरुबिच विभेद नभएको ।
२) प्रजातान्त्रिक नियन्त्रण ः संस्थाको साधारणसभा, नीति तथा योजना निर्माणका साथै नेतृत्व चयनमा एक व्यक्ति एक मतको आधारमा मताधिकार प्रदान गरेको, सदस्यहरुबीच चुन्ने र चुनिने अधिकारमा विभेद नभएको तर कुनै पदको लागि प्राविधिक योग्यता र निरन्तरता जस्ता आधार निर्धारण गर्न आवश्यक भएमा सो गरेको ।
३) सदस्यको आर्थिक सहभागिता ः संस्थाका हरेक सदस्यले आफ्नो क्षमता अनुरुपको शेयर खरीद, बचत र आवश्यकतामा संस्था मार्फत ऋण सेवा उपयोग गरेको । बचत तथा ऋण सहकारी संस्थाका प्रत्येक सदस्यले सदस्य रहँदासम्म एउटा निश्चित रकम प्रत्येक महिना अनिवार्यरुपमा बचत गर्ने र प्रत्येक वर्ष कम्तिमा एक कित्ता देखि मुद्रास्फिति दरले हुन आउने रकम बराबरको शेयर थप गर्ने गरेको ।
४) स्वायत्तता र स्वतन्त्रता ः सहकारी संस्थाले राज्यका प्रचलित कानुनका अधिनमा रहि आफ्ना नीति, योजना, आन्तरिक कार्यविधि र बजेट निर्माणका साथै नेतृत्व चयन गर्ने कार्य गरेको ।
५) तालिम, शिक्षा र सूचना ः सहकारी संस्थामा रहेको तालिम तथा शिक्षा कोषको रकमबाट आफ्ना सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, उपसमिति र सदस्यहरुको लागि नियमित तालिम तथा शिक्षाका कार्यक्रम सञ्चालन गरेको र संस्थाका नीतिगत परिवर्तन लगायतका समसामयिक विषयमा संस्थाले अग्रतापूर्ण खुलासा मार्फत सूचना सम्प्रेषण गर्ने गरेको ।
६) सहकारीबीच सहयोग ः सहकारी संस्थाले आफूसँग भएको श्रोत अर्को सहकारीले उपयोग गर्न सक्ने र अर्को संस्थासँग भएको श्रोत आफूले उपयोग गरेको तर वित्तीय श्रोत (शेयर, बचत, ऋण) को सहकार्यको लागि आफु आवद्ध संघहरु वा सहकारी बैंकको माध्यम प्रयोग गरेको ।
७) समुदायप्रति चासो ः वार्षिक योजना तथा बजेटमा व्यवस्था गरी वार्षिक कम्तिमा दुईवटा सामुदायिक कार्य गर्ने गरेको ।
बचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरु ः
१) सदस्य सुरक्षा ः संस्थामा नीति, योजना र बजेट निर्माणका साथै निर्णय गर्दा सदस्यहरुको वित्तीय÷आर्थिक, सामाजिक र सांस्कृतिक मुल्यको सुरक्षालाई प्राथमिकता दिइएको । सदस्यका व्यक्तिगत सूचनाको गोपनीयता, अवाधिक विवरण प्रदान, जवाफदेहिपूर्ण मुल्य निर्धारण जस्ता अभ्यास भएको ।
२) सुशासन ः संस्थामा आवद्ध नेतृत्व र व्यवस्थापन व्यक्तिहरु व्यक्तिगतरुपमा सुशासित अभ्यासमा रहेको, संस्थाका आन्तरिक कार्यसञ्चालन साधारणसभाबाट स्वीकृत नीति अनुरुप पारदर्शीरुपमा सञ्चालन भएको, संस्थाको आवद्धता र प्रतिवेदनमा नियमितता र शुद्धता कायम भएको ।
३) सञ्चालन ः संस्थामा सदस्यको सहभागिता, स्वामित्व, समानता र नियन्त्रण पद्धती स्थापित भएको, वित्तीय समावेशीकरण प्रबद्र्धन गरिएको, वित्तीय स्थायित्वको आधार तयार गरिएको, वित्तीय साक्षरता प्रबद्र्धन गरेको, सञ्जालमा आवद्ध भएको, सामाजिक उत्तरदायित्व निर्वाह गरेको र विश्वव्यापी परिकल्पनाको आधारमा दीर्घकालिन योजना विकास गरी सञ्चालन भएको ।
४) सुरक्षा र स्वस्थता ः संस्थामा रहेको सदस्यहरुको पुँजीको सुरक्षा र संस्थाको वित्तीय स्वस्थताको लागि नियमितरुपमा पल्र्स अनुगमन प्रणालीको आधारमा विश्लेषण र सुधार योजना सहित सञ्चालन भएको ।
माथि उल्लेखित आधारमा संस्था सञ्चालन गरेमा समुदायका आममानिसहरुको रोजाईको संस्था विकास गर्न सकिन्छ र यस्तो संस्थाको रोजाईबाट सदस्यहरुको पनि आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको उन्नयन हुने भएकोले संस्था सञ्चालक, व्यवस्थापनका कर्मचारीहरु र आमसदस्यले यसमा विशेष ध्यान दिनु जरुरी छ । जय सहकारी !