बढैयाताल गाउँपालिका वडा नम्बर २ बर्दियाका मित्रलाल अर्याल नेपालगन्ज आउनुपर्दा नगर बसमा सरर आउने गर्छन् । काम बिशेषले प्रयाजसो नियमित रुपमा नेपालगन्ज आइराख्ने मित्रलाल नगर बस चलेदेखि नगर बसमै आउने गरेका छन् । घरदेखि गौघाटसम्म अटो रिक्सामा आउने गरेका मित्रलाल नगर बसमा यात्रा गर्न पाउदा पहिलेको तुलना धेरै सहज भएको बताउँछन् । पहिले म्याजिक गाडीमा यात्रा गर्ने गरेको बताउदै उनी भन्छन्, ‘नगर बस चलेदेखि म्याजिक चढ्न छोडेको छु, म्याजिकमा यात्रा गर्दा कोचाकोच हुने र बस्नलाई सिट नपाइने समस्या हुन्थ्यो नगर बसमा आनन्दले बस्न पाइन्छ ।’
बढैयाताल गाउँपालिका वडा नम्बर २ बर्दियाकै धनराज अर्याल पनि नगर बसमा सरर नेपालगन्ज आउने गर्छन् । बिहानाको ९ बजे खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा आइपुग्दा अत्याधुनिक सुविधा सम्पन्न बस नेपालगन्जका लागि तयारी अवस्थामा बसेको हुन्छ, त्यहि बसमा नेपालगन्ज आउने गरेको छु उन्ले भने । खुल्ला सिट, ठुलो आकारको बस हुँदा बस्नलाई कुनै समस्या नहुने गरेको बताउदै अर्याल भन्छन्, ‘सस्तो भाडामा छिटो, छरितो र सहज यात्रा गर्न पाएका छौं, पहिलेको जस्तो जोखिम मोलेर यात्रा गर्नुपर्दैन् ।’
नेपालगन्ज उपमहानगरपालिकाले केही महिना अघि ७ वटा सुविधा समपन्न नगर बस सञ्चालनमा ल्याएको थियो । नगर बस संचालन भएपछि यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाइका छन् । ७ वटा नगर बस मध्ये ६ वटा बस नेपालगन्ज भन्सारदेखि कोहलपुर र १ वटा बस नियमित रुपमा नेपालगन्जको गणेशमान चोकदेखि खजुराको रिमझिम चोक हुँदै गौघाट सम्म पुगेर फर्किने गर्छ । नगर बस चलेपछि बिभिन्न ठाउँबाट नेपालगन्ज सम्म आउन र फर्किन निकै सजिलो भएको यात्रुहरु बताउँछन् ।
विभिन्न कामको सिलसिलामा नेपालगन्ज आउने गरेकी खजुरा गाउँपालिका वडा नं. २ सितापरकी सिता बिक नगर बसले आउजाउ गर्न धेरै सहजता भएको बताइन् । ‘नगर बस चलेपछि कठिनको यात्रा गर्न छुटेको छ’, उनले भनिन्, ‘म्याजिकमा बस्नलाई सिट नै पाइन्नथ्यो उभिएर यात्रा गर्नुपथ्र्या अहिले आरामले बस्न पाइन्छ ।’ बिहाना खाना खाएर नेपालगन्ज आउने ठिक्कको समयमा बस पाइने गरेको यात्रुहरु बताउँछन् । १ वटा नगर बस बिहान ७ बजेर ३० मिनेटमा नेपालगन्जदेखि गौघाट, ९ बजे गौघाटदेखि नेपालगन्ज हुँदै वनकटवासम्म पुगेर नेपालगन्ज भन्सार फर्किने गर्छ भने दिउँसो ३ बजे पुनः नेपालगन्जदेखि गौघाट पुगेर फर्किने गर्छ । ६ वटा नगर बस बिहान ६ बजे देखि साँझ ७ बजेसम्म नेपालगन्ज–कोहलपुर र कोहलपुर–नेपालगन्ज चल्ने गरेका छन् ।
बर्दिया बगनावाकी सिता थारुले सोमबार नेपालगन्ज आउने क्रममा कोहलपुरदेखि नगर बसमा बस्न पाएकोमा आरामदायी यात्राको महसुस गरेको बताइन् । सधैजसो अरु माइक्रोबसमा यात्रा गर्ने गरेको बताउँदै उनले भनिन्, ‘धेरै समयसम्म ठाउँ, ठाउँमा रोक्ने र ढिलो गर्ने समस्या नगर बसमा पाएन, मजाले सिटमा बसेर आरामदायी यात्रा गर्न पाइयो ।’ पहिलो पटक नगर बसमा यात्रा गरेको बताउने नेपालगन्ज–९ बाँके गाउँकी नेत्रकला शाहीले नगर बसमा यात्रा गर्ने क्रममा अन्य गाडीको तुलनामा फरक महसुस भएको बताइन् । फराकिलो सिट, अपाङ्गता र बृद्धहरुका लागि अलकै सिटको ब्यवस्थापन हुनु र यात्रुलाई टिकट दिने ब्यवस्था राम्रो भएको उनले बताइन् ।
नेपालगन्जदेखि गौघाटको रुटमा सञ्चालन हुने बसमा मात्रै दैनिक १ सय २० देखि १ सय ५० जना सम्म यात्रुहरुले यात्रा गर्ने गरेको बताइन्छ । नेपालगन्ज–गौघाटको रुटमा सञ्चालन हुने भे १ ख ३०७८ नम्बरको बसका चालक तेज बहादुर खत्री नेपालगन्ज–गौघाट दैनिक २ पटक बस पुग्ने गरेको बताउँछन् । दैनिक बसको भाडा बापत रु. ४ हजार देखि ६ हजारसम्म साँझ बुझाउने गरेको उनले जानकारी दिए । अहिले ७ वटा नगर बसबाट दैनिक ३५ हजारदेखि ४० हजारसम्म भाडा बापतको रकम आम्दानी हुने गरेको नेपालगन्ज उपमहानगरपालिकाले जानकारी दिएको छ । नेपालगन्ज उपमहानगरपालिका आफैले सञ्चालन गरिरहेको नगर बस ठेक्कामा सञ्चालन गर्नलाई टेण्डर आवान गरि टेण्डर छनौटको अन्तिम चरणमा पुगेको नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए ।