स्थानीय तहले माग गरे भन्दा निकै कम बजेट उपलब्ध भएको हो ।
सरकारले राष्ट्रिय योजना आयोग मार्फत बाँकेका १७ वटा योजनालाई २३ करोड रुपैयाँ विनियोजन गरेको छ । बाँकेका आठ वटा स्थानीय तहले माग गरेका समपुरकका १० र विशेष अनुदानका ७ वटा योजनालाई योजना आयोगले बजेट छुट्याएको हो । आयोगले सबै योजनालाई माग गरे अनुसारको बजेट भने उपलब्ध गराएको छैन ।
समपुरक अनुदान पाउनका लागि स्थानीय तहले अर्थ मन्त्रालयले उपलब्ध गराउने बराबरकै रकम साझेदारी गर्नैपर्ने व्यवस्था छ । सोहीअनुसार आफ्नो बजेट सिलिङको आधारमा जिल्लाका स्थानीय तहले समपुरक बजेटका लागि प्रस्ताव पेश गरेका थिए । आयोगले गत आसोज ६ गते विशेष र समपुरक योजनाका लागि प्रस्ताव माग गरेको थियो ।
आयोगले नेपालगन्ज उपमहानगपालिकालाई १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाका लागि १० करोड रुपैयाँ उपलब्ध गराएको छ । समपुरक बजेट माग गरिएको उक्त योजनाको लागत भने २५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत अनुदान माग गरिएको भएपनि आयोगले १० करोड रुपैयाँ मात्रै बजेट छुट्याएको हो । विशेष अनुदान तर्फ उपमहानगरपालिकाले प्रस्ताव गरेको मधेशी, मुस्लिम तथा लोपोन्मुख जातिका १ करोड रुपैयाँ विनियोजन गरेको छ । जसका लागि ३ करोड रुपैयाँ माग गरिएको उल्लेख आयोगले गरेको छ । विपन्न वर्गको आय आर्जन कार्यक्रमका लागि पनि १ करोड विशेष अनुदान विनियोजन आयोगले गरेको छ ।
कोहलपुरलाई बहुबर्षिय योजना अन्तर्गत रिङ्गरोडका लागि समपुरक योजना तर्फ आयोगले ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । कोहलपुरको ६८ करोड बढीको उक्त योजना तीन बर्षे अवधीको रहेको छ । समपुरक योजनामा कोहलपुर साझा चोकदेखि पूर्व दिपशिखा स्कुल नगर विकाससम्मको सडक पनि परेको छ । उक्त योजनाका लागि ४१ लाख रुपैयाँ छुट्याइएको छ । विशेष योजनामा कोहलपुरको सिकलसेल एनिमिया ल्याब स्थापनाका लागि आयोगले बजेट छुट्याएको छ । ३ करोड २१ लाख १० हजार रुपैयाँ विशेष अनुदान माग गरिएपनि आयोगले १ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । विशेष अनुदानमा शिक्षा तर्फ कोहलपुरले बजेट पाएको छ । सरस्वती माविको विद्यालय भवन निर्माणका लागि ५३ लाख ६७ हजार बजेट छुट्याइएको हो ।
खजुरा गाउँपालिकालाई पूर्वाधार विकासका लागि समपुरक बजेट आयोगले छुट्याएको छ । खजुरा वडा नं. ५ मा सडक कालोपत्रे गर्नका लागि २ करोड ४४ लाख रुपैया आयोग छुट्याएको हो ।
जानकी गाउँपालिकाको मोतिपुर, रमुवापुर हुँदै बन्जारे गाउँ वडा नं. र ३ मा पर्ने सडकका लागि समपुरक योजना अन्तर्गत १ करोड १९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जानकीका दुई वटा योजनालाई विशेष अनुदानमा समेटिएको छ । वडा नं. ३ र ६ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि क्रमशः ५५ र ५० लाख रुपैयाँ विशेष अनुदान छुट्याइएको हो ।
डुडुवा गाउँपालिकाका तीन वटा बाटो स्तरोन्नतीका लागि समपुरक बजेट आयोगले विनियोजन गरेको छ । पूर्वाधार क्षेत्रतर्फ वडा नं. १, ५ र ६ को बाटो स्तरोन्नतीका लागि आयोगले क्रमशः ४१, ४२ र ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । पूवाधार विकास तर्फ नरैनापुरका दुई वटा योजनालाई आयोगले बजेट छुट्याएको छ । हुलाकी सडक देखि बर्फानीसम्म जाने बाटो निर्माण र रोशनपूर्वा, हुलाकी सडकदेखि रंगशाला जाने बाटोका लागि आयोगले क्रमशः १ करोड ९ लाख र ४३ लाख बजेट विनियोजन गरेको हो । नरैनापुरमा दलित आयआर्जनका लागि बाबरी बाख्रा वितरण कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन भएको हो ।
आयोगले विभिन्न ५ वटा क्षेत्रका लागि स्थानीय तह र प्रदेश सँग योजना माग गरी बजेट विनियोजन गर्दै आएको छ । आर्थिक क्षेत्र, कृषि, भूमिसुधार तथा वन, पूर्वाधार, सामाजिक, सुशासन तथा अन्य क्षेत्रका लागि प्रस्ताव माग गर्दै आएको छ । आगामी आ.व.का लागि आयोगले बजेट माग गरिसकेको छ ।