धान बेच्न पालो कुर्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले यस बर्ष ३५ हजार क्वीन्टल धान खरिदको लक्ष्य राखेको थियो । कम्पनी प्रमुख भरत राज खनियाले मंगलबारसम्म २५ हजार ६ सय क्वीन्टल धान खरिद भैसकेको जानकारी दिएका छन् । अब कम्पनीलाई लक्ष्य पूरा गर्न ९ हजार ४ सय क्वीन्टल मात्र धान खरिद गर्नुपर्नेछ । तर, धान बेच्न आउने किसानहरुको घुइँचो देख्न सकिन्छ ।


कम्पनीमा धान बेच्न आउने किसानहरुको संख्या बढेपछि पालो कुर्नु परिरहेको छ । पालो कुर्दा भएको बर्षाका कारण केही किसानको धान भिजेको गुनासो गरेको छन् । कम्पनीले फिल्ड पानीले भिजाएपछि थप किसानका ट्याक्टर भित्रिन रोक समेत लगाएको थियो । ‘कम्पनीको फिल्डमा सवारीसाधनको चाप र बर्षाले हिलो भएपछि दुई दिन थप ट्याक्टर भित्रिन रोकका हौं’, कम्पनीका नेपालगन्ज प्रमुख खनियाले भने, ‘हाल कसैलाई पनि रोकेका छैनौं ।’


बजार मूल्य भन्दा बढी र पल्लेदारी समेत कम्पनीले नै ब्यहोर्ने भएपछि कम्पनीमा धान बिक्रीका लागि किसानहरुको घुइँचो लागेको हो । यस बर्ष समयमै सरकारले धानको समर्थन मूल्य तोकेकाले पनि कम्पनीमै धान बिक्रीका लागि किसानहरुको पुगेका हुन् ।


कम्पनीले तीन वटा काँटा मार्फत धानको तौल गरिरहेको छ । ‘किसानको कुनै परिरहेकाले एउटा काँटा थप गर्न लागेका छौं’, कम्पनी प्रमुख खनियाले भने । धान बिक्रीका लागि आउने अधिकांस किसान बाँकेका हुन् । कम्पनीले खरीद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थिरीकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ । यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ । नेपालगन्जमा मोटा र मध्यम धान मात्र खरिद भैरहेको छ ।


कम्पनीले देशभर ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य राखेको छ । कम्पनीका केन्द्रीय प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य निर्धारण भएको बताएका छन् । गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरीद गरेको थियो । पहिलो चरणको धान खरिद गरेपछि दोस्रो चरणमा थप धान खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया