नेपालगन्जले यसैबर्ष पहिलो आकाशे पुल पाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि औपचारिक प्रक्रिया सुरु गरेको हो । ‘६ महिनाभित्रै आकाशे पुल निर्माण गर्ने गरी काम अगाडि बढाएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले भने, ‘टेण्डर आव्हान भैसकेको छ, त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अगाडि बढ्छ ।’
नेपालगन्जका विभिन्न मुख्य चोकमा आकाशे पुल निर्माण गर्ने नगर प्रमुखको योजनामा वडाध्यक्षहरुले साथ नदिएको गुनासो नगर प्रमुखको थियो । बजेट निर्माणका क्रममा वडामै बजेट लैजाने जोड सबै वडाध्यक्षले गरेपछि ठूलो योजना प्रभावित भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
‘यसपाली विरेन्द्रचोकमा आकाशे पुल निर्माण गरिंदैछ’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘क्रमशः आवश्यकताका आधारमा थप योजना बनाउँदै जाने हो ।’
उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको छ । यसैसाता आव्हान गरिएको टेण्डरमा उपमहानगरपालिकाले गल्र्स स्कुलका लागि भौतिक पूर्वाधार निर्माण कार्य पनि अगाडि बढाउने उल्लेख छ ।