‘स्ट्रिट फुड’का लागि ख्याती कमाएको नेपालगन्जको पहिचानलाई उचाई दिन नेपालगन्ज उपमहानगरपालिकाले नयाँ योजना अघि सारेको छ । सडकमा जथाभावी लगाइने ठेलालाई व्यवस्थित र आधुनिकीकरण गर्दै सन्ध्याकालीन सडक बजारको योजना अघि सारेको हो । ‘त्यसका लागि ४० लाखको योजना बनाइएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले दैनिक नेपालगन्जसँग भने, ‘बजेटका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं ।’ यद्यपि, उपमहानगरपालिकाले बजेट व्यवस्थापनका लागि अन्य उपायहरु पनि गरिरहेको जनाएको छ ।
नगर प्रमुख डा. राणाका अनुसार, गणेशमानचोकमा उक्त बजारको परिकल्पना गरिएको छ । ‘गणेशमानचोकदेखि पश्चिम भृकुटीनगर सडकलाई यसका लागि प्रस्ताव गरिएको छ’, डा. राणाले भने । यसअघि बिटिएस रोडमा दिवाकालीन ठेला व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याएको उपमहानगरपालिका सफल हुन नसकेपछि व्यवसायीहरुकै भावना अनुसार नयाँ विकल्प खोजिएको हो ।
सन्ध्याकालीन बजारका लागि कम्तिमा ४० वटा ठेलालाई नियमित बजार लगाउने व्यवस्था गरिनेछ । त्यसका लागि नेपालगन्जमा पहिचान बनाएका पानीपुरी, चाटदेखि सडकमा विक्दै आएका सबै चर्चित परिकारहरु एकैठाउँमा पाउने व्यवस्था मिलाइने नगर प्रमुख डा. राणाको योजना छ । ‘सिङ्गो नेपालगन्जलाई झल्काउने गरी स्ट्रिट फुड मार्केटको विकास एकै ठाउँमा गर्न खोजिएको छ’, डा. राणाले भने, ‘नेपालगन्ज आएपछि एकपटक पुग्नै पर्ने ठाउँ बन्नेछ ।’