बर्षाले नोक्सान: चाङ्गमै गले काँचो इट्टा

बिमा नहुने भएकाले नोक्सान व्यहोर्नु परिरहेको व्यवसायी बताउँछन्


मंसिर देखि जेठसम्म इट्टा उत्पादनको समय हो । बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ । सिजनमा तयार भएका इट्टा बर्षभरी बिक्री गरिन्छन् । यस बर्षपनि बाँकेका इट्टा व्यवसायीले करोडौं काँचो इट्टाको चाङ्ग लगाएका थिए । तर, उनीहरुको बनाएको काँचो इट्टाको चाङ्ग शुक्रबार दिनभर भएको बर्षाले गलाइदिएको छ । सिजनको सुरुमै इट्टा गलेपछि यस बर्ष बाँकेमा इट्टा उत्पादन घट्ने भएको छ ।


इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बषात्का कारण करोडौंको नोक्सान व्यवसायीले व्यहोर्नु परेको बताएका छन् । ‘सिजन भएकाले सबै जसो व्यवसायीले काँचो इट्टाको चाङ्ग लगाइसकेका थिए’, संघका कार्यालय सचिव सुर्य पौडेलले भने, ‘बर्षात् चाङ्गका इट्टा काम नै नलाग्ने गरी पगालिदिएको छ ।’ इट्टा व्यवसायी संघ बाँकेले ३ करोड वटा इट्टा पानीले गलाएको जानकारी दिएको छ । ‘व्यवसायीहरुसँग नोक्सानबारे बुझ्ने काम भैरहेको छ’, पौडेलले भने, ‘हालसम्मको नोक्सान हेर्दा ५ करोड भन्दा बढी नोक्सान व्यवसायीले व्यहोर्नु पर्ने देखिन्छ ।’
हरेक बर्ष अकस्मात हुने बर्षाले इट्टा व्यवसायीको करोडौं नोक्सान हुने गरेको छ । खुला आकाशमूनि बनाइने इट्टा नपकाउँदासम्म जोखिम रहन्छ । ‘काँचो इट्टाको बिमा हुँदैन’, इट्टा व्यवसायीहरु भन्छन्, ‘बिमाको व्यवस्था भए नोक्सान कम हुन्थ्यो, तर हाम्रो सुनुवाई कसैले गर्दैन ।’ बाँकेमा ५० बढी इट्टा व्यवसायी रहेका छन् । उनीहरुको २ देखि २० लाख वटासम्म काँचो इट्टा काम नलाग्ने भएका हुन् ।


इट्टा उत्पादकहरुले सिजनमा ७ राउण्डसम्म इट्टा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा ५÷६ लाखसम्म इट्टा तयार पारिन्छ’, संघका कार्यालय सचिव सुर्यमणि पौडेलले भने । सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा इट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरु भन्छन्, ‘सरकारले करको दायरामा हामीलाई ल्यायो तर, हाम्रो व्यवसायिक सुरक्षाका लागि कुनै नीति अघि सारेन ।’

किसानलाई आवश्यकता भन्दा बढी

शुक्रबार भएको बर्षाका कारण बाँकेका किसानहरुले नोक्सानी बेहोर्नु परेको छ । लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकता भन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकास खेतमा लगाइएको बालीमा ९० प्रतिशत बढी क्षति पुगेको किसानहरुले बताएका छन् । उच्चा स्थानमा लगाएको बालिका ३०÷४० प्रतिशत सम्म नोक्सानी पुगाएको सितापुरका किसान यम बहादुर महतराले जानकारी दिएका छन् । उनले किसानको खेतबारीमा ठुलो नोक्सानी हँुदा समेत कृषि ज्ञान केन्द्रले उदासिनता देखाएको गुनासो गरेका छन् ।


बाँकेको ८ वटै स्थानीय तहका किसानहरुलाई बर्षभरी खान लगाइएको बालीलाई एकैदिन परेको पानिले नोक्सानी पारेपछि यो वर्ष दलहन तथा तेलहन बालिको उत्पादन घट्ने बाली वैज्ञानिक रामदास चौधरीले बताए ।


कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जमेको पानि कटाउन सकिए नोक्सानी कम हुने प्रतिक्रिया दिएका छन् । उनले शनिबार घाम लागेकाले गहुँ बालीमा भने कम नोक्सानी हुने बताए ।


बर्षातले मसुरो लगायत अन्य हिउदेबालीको परिक्षण र विउ उत्पादनमा प्रतिकुल असर पुगेको कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिएका छन् । पानीका कारण पुगेको असरले लक्ष्य अनुसारको प्रगति नहुने देखिएको संयोजक दराइले बताएका छन् । विउ उत्पादनका लागि बनाइएको नर्सरीमा समेत ७० प्रतिशत नोक्सानी भएको उनको भनाइ छ ।


अनुसन्धान कार्यक्रममा विउ उत्पादन कार्यक्रमका लागि ४ हेक्टर भित्र ५० वटा व्याडहरु बनाई अनुसन्धान गरिएको छ । कोशेबाली कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दर्राले जानकारी दिएका छन् । शनिबार जमेको पानीलाई बाहिर फाल्ने कार्य भैरहेको र अब हुन सक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया