नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले तयारी थालेको छ । प्रदेश सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरिय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बर्दियाको ठाकुरद्वारामा आयोजना गर्ने गरेको छ ।
प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ बर्ष संगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने जनाएको छ । भ्रमण बर्षको शुभारम्भको औपचारिक उद्घाटन प्रदेश नं. ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण बर्ष पर्यटन प्रवद्र्धन समितले तयारी थालेको हो ।
भ्रमण बर्षको अघिल्लो दिन नेपालगन्जमा भव्य कार्यक्रमको तय गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिका सदस्य भाष्कर काफ्लेले जानकारी दिएका छन् । ‘डिसेम्बर लाष्टमा नेपालगन्ज र जनवरी १ मा ठाकुरद्वारामा भ्रमण बर्षको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हौं’, उनले भने । भ्रमण बर्ष उद्घाटनका दिन जनवरी १ तारिखका दिन विहान बाँकेको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गर्ने निर्णय समितिले गरेको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहेका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भब्य बनाउन आवश्यक तयारी सुरु गरेको जानकारी दिएका छन् । त्यसका लागि मन्त्री गिरीले पर्यटन प्रवद्र्धन समिति सचिवालयको मंगलबार बैठक बोलाएर आवश्यक तयारी थालेका हुन् ।
भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा वर्दियाको ठाकुरद्वारामा ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सचिवालय बैठकमा मन्त्री गिरीले जानकारी दिए । भ्रमण बर्षको उद्घाटन कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रबद्र्धन समितिका ५÷५ जना सदस्य, स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई निम्त्याइँदैछ ।
उद्घाटन कार्यक्रमलाई ब्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल ब्यवसायी, यातायात ब्यवसायी, पर्यटन समिति, संचार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सह संयोजक माधव नेपालले जानकारी दिएका छन् ।
उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत माग गर्ने निर्णय समेत गरिएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री गिरीले पर्यटनलाई जनताको आयआर्जन संग जोड्न नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेको भन्दै यसलाई सबैले सहयोग गर्न गनुपर्ने धारणा राखेका थिए ।
होटल व्यवसायीको प्याकेज
भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई थप भव्य बनाउन होटल व्यवसायी संघ प्रदेश नं. ५ ले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर दुई हजार बीस रुपैयाँमा एक रात दुईदिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको संघका अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिएका छन् ।
ती पर्यटकले चाहेमा जंगल सफारीसमेत गर्नेछन् । अन्य विदेशी पर्यटक आए उनीहरुलाई पनि विशेष छुटसहितको खानेबस्ने व्यवस्था गरिने काफ्लेले बताउनुभयो । सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन् ।
किन रोजाईमा प¥यो ठाकुरद्वारा ?
प्रदेश नम्बर ५ अन्तर्गत वर्दिया जिल्लाको साविकका बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ठाकुरद्वारामा रहेको ठाकुरद्वार मन्दिरको नामबाट यस ठाकुरबाबा नगरपालिकाको स्थापना २०७३ फाल्गुन २७ मा भएको हो । संघीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया निर्वाचन क्षेत्र नं. २ र प्रदेशसभा निर्वाचन क्षेत्रको आधारमा २(क) मा पर्दछ । यस नगरपालिका भौगोलिक सिमाना, भौतिक पूर्वाधार तथा सामाजिक मुल्य मन्यताको आधारमा ९ वटा वडामा विभाजन गरिएको छ । भौगोलिक हिसाबले यस ठाकुरबाबा नगरपालिका पूर्वमा बारा बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा मधुवन नगरपालिका र राजापुर नगरपालिका पर्दछन् ।
चिरपरिचित बर्दिया राष्ट्रिय निकुञ्ज त्यही क्षेत्रमा रहेको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं. ९ को ठाकुरद्वारामा निकुञ्जको मुख्य कार्यालय रहेको छ । ५ नं. प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्यसमेत रहनुभएका बर्दिया किङिफिसर रिसोर्टका सञ्चालक कृष्ण प्रसाद शर्मा (वाग्ले) काअनुसार यो राष्ट्रिय निकुञ्जले करिब ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । जुन पूर्वपश्चिम राजमार्गको अम्रेनीबाट दक्षिणतर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७मा करिब ३ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु सो निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । शर्माकाअनुसार विश्वकै दुर्लभ वन्यजन्तु कृष्णसार पनि बर्दियाको गुलरियामा पाईन्छ । त्यसको संरक्षणमा अहिले राष्ट्रिय निकुञ्ज र स्थानीय समिति सक्रिय छन् । पर्यटनको प्रचुर सम्भावना रहेको बर्दिया जिल्लामा केदारेश्वर धाम, सिमसार क्षेत्र, बढैया ताल, सत्खलुवा ताल, विभिन्न ताल, मन्दिर, लगायतका क्षेत्र पर्यटकिय गन्तव्यका रुपमा रहेका छन्।
त्यस क्षेत्रमा वर्षेनी पर्यटकको संख्या बढिरहेको भएपनि अझै आन्तरिक र बाह्य पर्यटकको संख्या बृद्धि गरेर बर्दिया जिल्लालाई नेपालको उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुग्ने उद्देश्यका साथ भ्रमण वर्षको उदघाटनका लागि बर्दिया जिल्लालाई छानिएको समितिका कार्यक्रम सहसंयोजक माधव नेपालले बताउनुभयो । नेपालकाअनुसार उदघाटन सत्रमा बर्दिया पुगेका पाहुनाहरुलाई स्थानीयले सञ्चालन गरेको होम स्टेमा बसालिने तयारी गरिएकाले यहाँ सञ्चालित होम स्टेको थप प्रचारप्रसार हुने नेपालले विश्वास व्यक्त गर्नुभयो ।
जनवरी १ मा भ्रमण वर्षको औपचारिक रुपले उदघाटन गरिएपछि ५ नं. प्रदेशका सबै जिल्लाहरुमा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाईने निर्णय भएको ५ नं. प्रदेशस्तरीय प्रर्यटन प्रवद्र्धन समितिकी सचिवालय सदस्य ईश्वरी जिएमले जानकारी दिनुभयो ।
बुटवल ।