सागको कीर्तिमानी कथासँग नेपालगन्जको साइनो

(दायाँ बाबु पारस सिंह, बायाँ आमा गरिमा राना सिंहसँग १३ औं सागमा चार स्वर्ण जितेकी गौरिका)

बृहत आठौं राष्ट्रिय खेलकुदको भव्य सफलतासँगै एक साँझ तत्कालीन सदस्यसचिव केशव बिष्टले भनेका थिए–‘अब १३औं साग पनि सफल हुन्छ, ऐतिहासिक हुन्छ ।’ ऐतिहासिक कुन अर्थमा? उनीसँग स्पष्ट आधार थिएन । उनले त्यतिबेला यति मात्र भने–‘नेपालगन्जले आयोजना गरेको बृहत राष्ट्रिय खेलकुदपछि भएको आठौं दक्षिण एशियाली खेलकुद ऐतिहासिक बनेको पृष्ठभुमि छ हामीसँग, यसपटक पनि राष्ट्रिय खेलकुद विवादरहित सम्पन्न भएको छ, तसर्थ साथ पनि ऐतिहासिक हुनेछ।’


यसरी हेर्दा दक्षिण एशियाली खेलकुद(साग) र नेपालगन्जबीच त्यस्तो समानता पक्कै छ । नेपालगन्जमा भएका दुवै बृहत राष्ट्रिय खेलकुदले साग यात्रालाई ऐतिहासिक र सार्थक बनाइदिएका छन् । त्यो के भने १३ बर्ष अवरुद्ध राष्ट्रिय खेलकुदलाई नेपालगन्जले ब्युँझायो । त्यही राष्ट्रिय खेलकुदको जगमा छनोट भएका खेलाडीले ३२ स्वर्ण जित्दै नेपाललाई आठौं दक्षिण एशियाली खेलकुद (१९९९, काठमाडौं) ऐतिहासिक बनाइदिए । साग इतिहासमै नेपाल त्यतिबेला पहिलोपटक दोस्रो स्थानमा उक्लिएको थियो । फेरि नेपालगन्जले आठौं राष्ट्रिय खेलकुद आयोजनाको अवसर पायो, १३औं सागका लागि छनोट स्पर्धाका रुपमा । जसरी नेपालगन्जले चौथो राष्ट्रिय खेलकुद विवादरहित ढंगले सफल तुल्याएको थियो, आठौं पनि त्यसरी नै सफल बनायो । त्यही आठौंबाटै छानिएका खेलाडीले १३औं सागमा कमाल गरेर देखाइदिए ।

सदस्यसचिव रमेश सिलवालको ५० स्वर्ण जित्ने दाबीलाई पुर्णता दिने संकेत गरिसकेका छन् । त्यसमा पनि पौडी, एथ्लेटिक्स, भारोत्तोलन, ट्राइथोलन जस्ता इभेन्टमा । पौडीमा गौरिका सिंहले चार स्वर्ण र एक रजत पदक जितेर कीर्तिमान बनाएकी छिन् । बेलायतमा बस्दै आएकी गौरिकाको यो पदकले धेरै ठुलो अर्थ राख्छ । देशका लागि उनको योगदान सबैले सम्झनलायक छ । नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा समेत गर्मीको पर्वाह नगरी उनले नयाँ राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । यो माता बागेश्वरीको पवित्र भुमि हो । यस भुमिबाट धेरै राम्रा कुराहरु मात्र यो देशले पाएको छ ।


नेपालगन्जकै चेली सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्, विकास श्रेष्ठले पनि भारोत्तोलनमा स्वर्ण जिते । भारोत्तोलनसँग नेपालगन्जको गहिरो नाता छ । दुई सन्तानकी आमा आयशा शाक्यले दुई स्वर्ण जितेर आम नेपाली महिलाका लागि प्रेरणा बनेकी छिन् । एथ्लेटिक्समा पनि सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरण बोगटीले स्वर्ण जित्दा अन्य धेरै खेलमा यस्ता कीर्तिमान बनेका छन्, जो साँच्चिकै सुन्दर भविष्यको संकेत गरेका छन् । भनिन्छ नि बिहानीले दिनको संकेत गर्छ । महिला फुटबलमा नेपालगन्जीया चेली निरु थापाको टोलीले रजत पदकमा चित्त बुझाएपनि राम्रो प्रदर्शन गरेका छन् । समग्रमा खेलाडीले राम्रो सन्देश दिन सफल भएका छन् ।


एक विद्धानले कतै भनेका छन् –‘सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।’ विश्वमानचित्रमा नेपाल पनि सम्पत्ति नभएर गरिब भएको देश हैन, सम्पत्ति नचिनेर हो । प्राकृतिक स्रोतको अथाह सम्भावना एकातिर छ, अर्कोतर्फ सगरमाथा र गौतमबुद्धको जन्मस्थल जस्ता संसारलाई लोभ्याउने अचुक अस्त्र हामीसँगै छन् । यी नेपाललाई संसारमा ब्रान्डिङ गर्ने सजिलो उपाय पनि हुन् । यी र यस्तै सम्भावनालाई उजागर गर्दै नेपाल सरकार २०२० लाई भ्रमण बर्ष मनाउने तयारीमा युद्धस्तरमा जुटेको छ । सरकारको उद्देश्य भ्रमण बर्षका बहानामा धेरैभन्दा धेरै विदेशीलाई नेपाल देखाउनु हो । त्यसको अर्थ नेपालको पर्यटन प्रवद्र्धनमा सरकार गम्भीर छ भन्ने सन्देश दिनु पनि हो ।


वास्तवमा पर्यटन भनेको आर्थिक क्षेत्र चलायमान गराउने निकै प्रभावकारी माध्यम हो । विकसित देशहरुले खेलकुद, सिनेमा र साहित्यका इभेन्टमार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुराइरहेका हुन्छन् । अझ च्याम्पियनसीपभन्दा पनि गेम्स आयोजनामा उनीहरुको बढ्ता रुची देखिन्छ । ओलम्पिक, एशियाड जस्ता गेम्स आयोजनाको जिम्मेवारी लिनुमा चुनौति भन्दा अवसर बढी देख्ने भएकै कारण उनीहरुले समृद्धिको बाटो पछ्याएका हुन् । किनकी पर्यटन भनेको रिक्सा चालकदेखि हवाइजहाज, पान पसलेदेखि पाँच तारे होटलसम्मले लाभ उठाउन सक्ने विधा हो । मानिसहरुको आवागमन बढाउनु नै पर्यटन प्रवद्र्धन हो । त्यसहिसाबले दक्षिण एशियाली खेलकुद(साग) पनि पर्यटन प्रवद्र्धनका लागि एउटा ठुलो अवसर हो ।


दश बर्षे सशस्त्र द्धन्द्ध, र त्यसपछि २०७२ मा गएको महाभुकम्पले थिलथिलो बनाएका भौतिक पुर्वाधार पुननिर्माणको चुनौति एकातिर तेर्सिएको थियो, अर्कोतर्फ सार्क राष्ट्रहरुलाई सामाजिक एकता, आपसी भाइचारा, शान्ति र समृद्धितर्फको यात्रान्मुख भएको सन्देश प्रवाह गर्नु महत्वपुर्ण अवसर पनि नेपालसँग थियो । यही अवसरलाई सदुपयोग गर्दै नेपालले सागमार्फत दक्षिण एशियाभर एउटा गतिलो सन्देश प्रवाह गर्दैछ । नेपाल साँच्चिकै शान्त छ, घुम्न लायक छ, यहाँका बासिन्दा सौम्य छन् भनेर सन्देश प्रवाह गर्ने अवसर बनेको छ, १३औं साग । जुन आइतबार मात्र सुरु भएको छ । नेपालको एकमात्र अन्तराष्ट्रिय दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटनको उद्घोष गरेसँगै साग सुरु भएको हो । यो त्यही रंगशाला हो, जहाँदेखि सागले यात्रा आरम्भ गरेको थियो सन् १९८४ मा । पहिले साफ गेम्स भनिन्थ्यो, अहिले साग, कतिपय एसए गेम्स पनि भन्छन् । हो, यो सागका परिकल्पनाकार शरदचन्द्र शाह थिए । उनी त्यतिबेला राखेप सदस्यसचिव थिए । वर्णानुक्रमअनुसार बंगलादेशलाई पहिलो संस्करण आयोजना गर्न जिम्मेवारी सुम्पिएपनि त्यतिबेला बंगलादेश सुस्त भइदिएपछि नेपालले नै सुरुवाती साग गर्ने अवसर पाएको थियो । त्यसपछि क्रमैसँग अघि बढेको साग १९९९ मा जन्मघर फर्किएको थियो । आज फेरि २० बर्षपछि जन्मथलो आएको हो । यतिबेला आयोजना स्थलका रुपमा काठमाडौं र पोखरालाई ब्रान्डिङ गरिएपनि ललितपुर र जनकपुरमा पनि खेल सञ्चालन हुदैछन् ।


वास्तवमा आठौं राष्ट्रिय खेलकुदपछि नेपालगन्ज रंगशाला अभिभावक विहिन बनेको छ । उक्त रंगशालालाई पनि कुनै खेलको भेन्यु बनाइदिएको भए पक्कै सरकारको लगानी सार्थक बन्थ्यो । राष्ट्रिय खेलकुुद परिषदसामु देश जोड्ने सुवर्ण अवसर थियो । आयोजक यस्ता सवालमा धेरै ठाउँमा चुकेको छ । यसको समिक्षा सागपछि गरौंला । यसमा नेपालगन्जको समग्र नेतृत्व पनि लबिङमा चुकेकै हो ।


सागले सार्क राष्ट्रहरुलाई एउटै थलोमा उभ्याएर एकताको सन्देश दिन्छ नै, यता देशभित्र प्रादेशिक संरचनामा गइसकेपछि पहिलोपटक हुन लागेको यति भव्य खेल उत्सवका लागि सातैवटा प्रदेश समेटिएको भए साँच्चिकै देश जोडिन्थ्यो । अर्कोतर्फ देश अझै प्रक्रिया र पद्धतिमा अगाडि जान सकिरहेको छैन भन्ने प्रस्ट बुझ्न सकिन्छ । उद्घाटन समारोह चल्नै थाल्दा पनि भिआइपी प्यारापिटमा कुर्सी जडानका केही काम गरिरहेका दृष्यले लाज ढाक्न पनि मुस्किल भइरहेको थियो । उदघाटन समारोहको मौलिकता, सिर्जनशीलता र व्यवस्थापन पक्षका बारेमा पनि सागपछि नै समिक्षा गरौंला । यद्यपी भौतिक पुर्वाधार निर्माणका काममा हेलचक्रयाई भएकै हो । खेलकुद नेतृत्वले सरकारलाई बुझाउनै सकेन, या त सरकारको नजरमा खेलकुदका पुर्वाधार प्राथमिक बिषय हैन ।


दक्षिण एशियाली खेलकुद(साग) कुनैपनि शक्तिसाली देशको राष्ट्रप्रमुखको भ्रमणभन्दा महत्वपुर्ण छ देशका लागि । राष्ट्रप्रमुख कुनै होटलको भव्य अडोटरियम हलमै सबै बैठक सकेर फर्कन सक्छन्, तर ती देशका सदभावना दुतका रुपमा खेलाडीहरुले सारा सहर हेर्छन्, भौतिक पुर्वाधार र समृद्धिसँग साक्षात्कार गर्छन् । यसहिसाबले साग अझ महत्व बोकेको हुन्छ । कम्तीमा सातवटा देशमा प्रत्यक्ष तथा संसारभर अप्रत्यक्ष यहाँको समृद्धिको सन्देश प्रवाह गर्ने सुवर्ण अवसर हो हाम्रालागि । हुनत भौतिक पुर्वाधारमा नेपालले छलाङ मार्न नसकेको गतिलो उदाहरण त छँदैछ । साढे तीन दशकको यात्रामा हामीसँग उही रंगशाला छ दशरथ रंगशाला ।

पहिलो साग भएको यो रंगशालाको विकल्प १३औं साग हुँदा पनि खोज्न सकिएको छैन ।
सन् २०१२ मा बेलायत सरकारद्धारा सञ्चालित डिएफआइडी लगानीको इएसपी र द एशिया फाउन्डेसन नामक गैरसरकारी संस्था मिलेर नेपाल सरकारका लागि प्रकाशित मार्गदर्शन नामक पुस्तक पढ्ने सबैलाई एउटा कुराले धेरै नराम्रोसँग झक्झक्याउँछ । त्यो के हो भने नेपालको राजनीति, इतिहास, स्थानीय तह, सरकार, वित्त, व्यवस्थापन, कानुनी व्यवस्था लगायत सबै कुराका बारेमा विस्तृत जानकारी भएको उक्त पुस्तकले पुर्वाधारको बिषयमा एक शब्द पनि बोलेको छैन । यो पुस्तकले दुई कुरा राख्छ । पहिलो ः नेपालमा भएका पुर्वाधार विकासका काम कुनै पनि गणनायोग्य छैनन्, दोस्रो ः हाम्रा दाता राष्ट्रहरुले नेपालमा पुर्वाधार विकासको परिकल्पना नै गरेका छैनन् ।


वास्तवमा दुर्भाग्य नै मान्नुपर्छ, पहिलो, आठौं र तेह्रौं गरी तीनवटा सागको उदघाटन समारोह एउटै रंगशालामा भए । नेपालमा भएका पुर्वाधार विकासका काम कुनैपनि गणनायोग्य छैनन् भन्दा मुटु चसक्क दुख्छ । सबैलाई खुशी दिने खेलकुद र त्यही खेलकुदको रंगशालाका बिषयमा सरकार मौन छ । प्रधानमन्त्रीले यसलाई अवसरका रुपमा रुपान्तरण गर्नै सकेनन् । यो बिडम्वना हो ।


कुनैपनि बृहत खेलकुद महोत्सव आयोजनाको प्रमुख कारण सम्बन्धित देशले शान्ति, विकास र समृद्धि देखाउने नै हो । ओलम्पिक वा एशियाड जस्ता प्रतियोगिता विकसित देशले आफ्नो विकास र समृद्धि देखाउने माध्यम बनाएका छन् भने क्षेत्रीय खेल मेला दक्षिण एशियाली खेलकुद(साग) सार्क राष्ट्रहरुमाझ आपसी भाइचारा, एकता र मित्रता सुदृढ बनाउने थलो बनेको छ ।


समग्र खेलकुदले एकता, भातृत्व र प्रतिस्पर्धाको भावनालाई बढाइदिन्छ । जीवनलाई जीवनजस्तै राख्न खेलको ठुलो भुमिका छ । खेलहरुले मैत्रीपुर्ण भावनाको विकास गराउँछ । आपसमा सहयोग र आदानप्रदान गर्न सिकाउँछ । हामीले सारा खेलहरुबाट सिक्न सक्ने कुरा पनि सायद यही हो । फ्रान्सेली लिजेन्ड जिनेदाने जिदानेले फुटबलतर्फ संकेत गर्दै भनेका छन् –‘यो खेलले बल हान्न त सिकाउँछ नै, जीवनबारे पनि सिकाउँछ ।’ वास्तवमा खेलकुद भनेको जीवन जिउने कला हो, प्रतिस्पर्धा गर्न सिकाउने माध्यम हो, अनुशासन हो, भातृत्वको भावना हो, मैत्री सम्बन्ध कायम गर्ने विधा हो ।


साग आयोजनाको अर्थ हामीले सबैलाई बुझाउन सक्यौं कि सकेनौं? यो समिक्षाको बिषय पक्कै बनेको छ । तर, राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले परिकल्पना गरेको क्षेत्रीय खेलकुद महोत्सव फेरि एकपल्ट घर फर्किएको छ । साग आयोजनामा नेपालले ह्याट्रिक गरेको छ । नेपाल भ्रमण बर्षको पुर्व सन्ध्यामा हामीले सात देशका हजारौंको संख्यामा खेलाडी, अफिसियल, पदाधिकारी गरी सिंगो सार्क राष्ट्रलाई एकैपटक एउटै थलोमा जमघट गराउन सक्यौं, यो ठुलो उपलब्धि हो । खेलकुदमार्फत दिनसकिने समृद्धिको सन्देशलाई अब सरकारले आत्मसात गर्नैपर्छ । हामीले हाम्रो सम्भावना पहिचान गर्नैपर्छ । त्यसका लागि राज्य र नागरिक दुवै उत्तिकै जवावदेही हुन सक्नुपर्छ ।


सागको आयोजनाबाट नेपालगन्ज लगायत सहरले लाभ उठाउन सकिने आधार धेरै तयार भएका छन् । दक्षिण एशियाली राष्ट्रहरुमाझ नेपालको शान्ति, विकास र समृद्धिको सन्देश प्रवाह भएको छ । यहाँका नागरिकले देखाएको व्यवहारले पक्कै समग्र देशको सन्देश राम्रो गएको छ । यसलाई तपाईं हामी सबैले सकारात्मक सोंचका साथ व्यापक प्रचार प्रसार गर्न सक्यौं भने हामी पनि विदेशी पर्यटकहरु भित्राउन सफल हुनेछौं ।

प्रतिक्रिया

प्रतिक्रिया