स्वास्थ राज्यमन्त्री पुगे क्यान्सर अस्पताल
सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा करोडौंको भौतिक पूर्वाधार र उपकरण छन् । तर, अस्पतालले आफ्नो क्षमता जति सेवा प्रवाह गर्न सकेको छैन । जनशक्ति नहुँदा अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्न नसकेको हो ।
सोमबार अस्पताल अनुगमनका लागि पुगेका स्वास्थ तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालमा विशेषज्ञ सेवा सुचारु गर्नका लागि जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । अध्यक्ष कक्षपतिले जनताको लगानीबाट निर्माण सुरु भएको अस्पतालमा विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षा गरेअनुरुप सेवा दिन नसकेको प्रति राज्यमन्त्री रावतको ध्यानाकर्षण गराएका थिए । अस्पतालसँग भएका उपकरणहरु जनशक्तिको अभावमा प्रयोगमा आउन सकेका छैनन् ।
अनुगमनका क्रममा बोल्दै राज्यमन्त्री रावतले जनशक्ति र प्रविधिका कारण स्वास्थ्य सेवा प्रवाहका क्रममा समस्या देखिएको बताए । ‘समस्याबाट नआत्तिएर काम गर्छु’, उनले भने । राज्यमन्त्री रावतले खजुराको क्यान्सर अस्पताल कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ का लागि स्वास्थ्य सेवा दिन केन्द्र रहेकाले अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनका लागि तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । ‘जनशक्ति र आवश्यक उपकरणका मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउँछु’, उनले भने ।

लेखाप्रमुख बिमल श्रेष्ठले अस्पतालका गतिविधिका बारेमा राज्यमन्त्री रावतले जानकारी गराएका थिए । अस्पतालका तर्फबाट बिमल श्रेष्ठ, खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्ष लगायत स्थानीयले राज्यमन्त्रीलाई स्वागत गरेका थिए ।
स्थानीयबासीले २०६२ सालमा सन्त श्री दिनदयाल जि महाराजको संकल्पबाट प्रखर परोपकार मिसन नेपाल नामक संस्था गठन गरि महायज्ञ लगाई ५ करोड भन्दा बढी रकम संकलन गरि अस्पताल निर्माण सुरु गरेका थिए । नेपाल सरकारले आफ्नो स्वामित्वमा लिइ सञ्चालन प्रक्रिया अगाडि बढाएपनि अस्पतालले अपेक्षित गतिलिन सकेको छैन ।
सामान्य बिरामी मात्रै हेरचाह गर्दै आएको उक्त अस्पतालले क्यान्सर रोग नै पत्ता लगाउन नसक्दा यस क्षेत्रका बिरामीहरू लामो यात्रा गरेर काठमाडांै र भरतपुर जान बाध्य छन् । अस्पतालमा दैनिक ३० जनासम्म क्यान्सर सम्बन्धीका बिरामी आउँछन् । अस्पतालमा नियमित औषधी सेवन गर्न १ सय ६ जना विरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पताल पूर्ण रुपमा सञ्चालन गर्न करिब दुई सयजना स्वास्थ्यकर्मी आवश्यक पर्दछ । क्यान्सर रोग पत्ता लगाउन ३० जनाजति विशेषज्ञ चिकित्सक चाहिन्छ । तर अहिले एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालका निर्देशक बिश्वराम पौडेलल ३ बर्ष काज सकिएर फिर्ता भैसकेका छन् ।
एक सय शैय्याको प्रस्तावित क्यान्सर अस्पतालमा अहिले ६० जनासम्म बिरामी भर्ना गर्न सक्ने अवस्था छ । हाल अस्पतालमा २ जना एमबिबिएस, २ जना फिजीसीएन एक जना अकोलिजिएसन कार्यरत छन् । क्यान्सरको सेकाइको लागि मात्रै ३ करोडको लागतमा भवन बन्दै छ । अस्पतालको मापदण्ड अनुसार ५० जना नर्सको आवश्यकता रहे पनि चार जना नर्स कार्यरत छन् । पश्चिम क्षेत्र सुर्खेतबाट रावत स्वास्थ्य राज्यमन्त्री बनेकाले उनले अस्पताल सञ्चालनका लागि पहल गर्ने विश्वास स्थानीयले लिएका छन् ।
व्यवस्थापन खोई ?
अस्पताल विकास समिति कर्मचारी यूनियनले आफ्नो व्यवस्थापनलाई लिएर चिन्ता गरेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएपछि पहिलो पटक नेपालगन्ज आइपुगेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई ज्ञापन पत्र बुझाउँदै यूनियनका भेरी अञ्चल अध्यक्ष होम नाथ सुवेदी लगायतको कर्मचारीहरुको टोलीले विकास समितिका कर्मचारीहरुको व्यवस्थापनलाई लिएर चिन्ता व्यक्त गरेको हो ।
२०७५ असार ३२ गतेको निर्णयबाट सरकारले मुलुकभरका अस्पताल विकास समितिहरु भङ गरेपछि नियमन निकाय नभएको भन्दै स्थायी कार्यरत कर्मचारीहरुको समेत स्तरवृद्धि, बढुवा लगायतका सबै सुविधाबाट वञ्चित हुनुपरेको गुनासो यूनियनको छ ।
समायोजनको व्यवस्था माग गर्दै कर्मचारीहरुले सरकारसँग सुनुवाईका लागि यूनियन मार्फत राज्यमन्त्री रावतलाई ज्ञापनपत्र बुझाएका हुन् ।