सन्ध्या गैरे
२०७६ साल मंसिर २०गते शुक्रबारको दिन विद्यालयले कक्षा ६ देखि १० सम्मलाई भ्रमण लैजाने तय गर्यो । त्यही अवसर मलाई मेरो अभिभावकले भ्रमण जाने कुरामा सहमति जनाइदिनुभयो । शुक्रबारको दिन विहानै म तयार भएर विद्यालयको कम्पाउण्ड भित्र गएँ । त्यहाँ मेरा साथीहरु उपस्थित भैसकेका थिए । मेरा साथीहरुको साथसाथै ९ र १० का दिदी, दाई र ६, ७ का भाई, बहिनीहरु सबै जना उपस्थित हुनुभएको थियो । हामी कक्षा ६ देखि १० सम्मलाई लिएर प्रिन्सिपल केशवा गौतम म्याडम, सन्दिप सर, दिपक सर, रवि सर र टिकाराम सर साथमा शिक्षिका कल्पना म्याम, राधा म्याम, भूमि म्याम, सपना म्याम र मनिशा म्याम जानुभएको थियो ।
म सँग मेरा साथीहरु चन्द्रिका, भारती, प्रबिशा, सोर्निमा, पविता, निरु, झरना, मनिशा, सुदिका, कमला, कृष्टि, स्वस्तिका, नरेन्द्र, जीवन, अमानत, रिजवान, संगम, नमराज, निर्माण प्रतिक, मनोज जैसी, खिलाप, सौरभ, मनोज खत्री, मोहन, युवराज, हिमांशु र निर्णय यात्रामा गएका थिए ।
हामीहरुको यात्रा विहानको ७ बजे राष्ट्रिय गान गाएर आरम्भ भएको थियो । हामीहरुले गाडीमा नाचगान गर्दै रमाइलो गर्दै गन्तव्य स्थानका लागि अघि बढ्यौं । हामीले बाटोमा कार्डबोर्ड बनाउन सुकाएका काठहरु पनि देख्यौं । हामी रमाइलो गर्दै यात्रा गरिरहेका थियौं ।
करिब २ घण्टा भित्रै हामी हाम्रो गन्तव्य स्थान बर्दियाको कोठियाघाट पुग्यौं, जहाँ पुग्न धेरैको धोको थियो । त्यहाँको दृश्यहरु एकदमै रमणीय थियो । म त्यहाँको दृश्यमा यसरी हराएको थिएँ कि मानौं आफुले यो सबै कल्पना गरे जस्तो लाग्थ्यो । त्यहाँको वातावरण नै एकदमै फरक खालको थियो । त्यहाँ नजिकै थारु बस्ती पनि थियो । हामी सबै साथीहरुले खाजा खाएर यो पुलको अन्तिमसम्म पैदल यात्रा गर्ने निधो गर्यौं । त्यसपछि हामी सबैले खाजा खाएर पैदल यात्रा सुरु गर्यौं । हामीले बाटोभरी कुराकानी गर्दै तस्वीरहरु खिच्दै अन्तिमसम्म पुग्यौं ।
साँच्चैमा कोठियाघाट नेपालकै लामो पुल मध्यको एक रहेछ । पुल सकिएपछि हामी पुलको तलतिर झर्यौं । त्यहाँ खोलामा सुन्दर तरिकाले पानी बगेको थियो । मलाई लाग्यो कि यो यति धेरै पानी कहाँबाट आयो ? कहाँ बगेर जान्छ ? जति गर्मी भएपनि किन सुक्दैन ? प्रश्नहरु अनेकौं उब्जिए तर उत्तरहरु पाएन । हामी सबैले खोलामा गएर हात खुट्टा भिजायौं । मेरा कक्षाका केटा साथीहरुले त अलि पर गएर नुहाएर नै आए । त्यो खोलालाई नियालेर हेर्ने हो भने लाग्छ कि खोलाले आफै गीत गाउँदै नाचिरहेको छ । त्यो पानी बगेको आवाज र हावाको बहाव सँगै बगेको पानी । आहा ! साँच्चै आनन्दित र अचम्मित थियो कोठियाघाट क्षेत्र । मानिस प्रकृतिसँग रमाउन पनि प्राकृतिक क्षेत्रहरुको भ्रमण आवश्यक छ, प्रकृति चिन्न पनि कोठियाघाटले सघाउछ ।
हामीहरुले त्यहाँको दृश्य हेर्दै पुनः पिकनिक स्थल फर्कियौं । हामी भएको ठाउँमा अरु ठाउँका मानिसहरु पनि वनभोज मनाउन आएका थिए । त्यहाँ प्रहरी सुरक्षाकर्मीहरु पनि वनभोज मनाउन आएका थिए । हामीहरुले एकछिन फेरि गीत बजाउँदै रमाइलो गर्यौं । त्यसपछि म र मेरो साथी भारती, प्रविशा, सोर्निमा र चन्द्रिका जंगल भित्र पस्यौं । त्यहाँ ठूला रुखहरु थिए । हामीहरु जंगलको धेरै भित्र नपसी बाहिर निस्किहाल्यौं ।
त्यसपछि हामी सबैले गुप्रिङ्गमा फोटो खिचायौं । साँझ पर्न आँटिसकेको थियो । त्यही भएर प्रिन्सिपल म्याडमले अब फर्कने भन्नुभयो र हामी सबैजना एक एक गरी गाडी भित्र पस्यौं । गाडीमा मैले फर्कने बेला बहिनी सुजाता, सुहाना र अरपनासँग बसेर रमाइलो गर्दै थिए । त्यत्तिकैमा फेरि गीत घन्कियो र सबै जना गाडीमा उफ्रिदै नाच्दै फर्कियौं । यसरी नै मेरो यात्रा सकुशल रमणीय तरिकाले सफल भयो । साथीहरुको खुशी देखेर लाग्यो, बालबालिकालाई कक्षा कोठाको चार दिवारीमा मात्र होइन, प्राकृतिक स्थलहरुको चिनारीसँग पनि सिकाउन सकिन्छ, जीवन र जगतका पाठ ।
अन्तिममा म भन्न चाहन्छु धेरैधेरै धन्यवाद मेरो स्कुल, होप इन्टरनेशनललाई जसले हामीलाई नयाँ वातावरणमा रम्ने अवसर प्राप्त गरायो र नेपालकै लामो पुलमाथि पाइला टेकाई पैदल यात्रा गर्न समेत अनुमति दियो र आशा गर्छु आउँदो बर्ष पनि नयाँ ठाउँ र वातावरणमा रम्ने मौका दिओस् । म मेरो अभिभावकलाई र अरु सबैको अभिभावक प्रति पनि आभार व्यक्त गर्दछु किनभने यो सबै अभिभावक बिना असम्भव नै थियो । भ्रमण वर्ष २०२० दैलोमा आइरहँदा म अरुलाई पनि सल्लाह दिन चाहन्छु कि पहिले स्वदेशको सम्पदाको भ्रमण गरौं त्यसपछि मात्रै विदेशको सोंच गरौं । यसखाले भ्रमण ठुला खर्च र टाढा होइन, नजिकैका प्राकृतिक विविधताका क्षेत्रहरुबाट थालौं ।