राजमार्गका होटलको बेथिति रोक्न महासंघद्वारा समिति

लामो दुरीको यात्रा गर्दा राजमार्गमा खाना खाने यात्रुहरु ठगिएको कसैबाट लुकेको छैन । तर, कसैले पनि त्यसलाई नियन्त्रण गर्न चासो देखाएको पाइँदैन । राजमार्गका होटलमा साधा खानाको २ सय ५० रुपैयाँसम्म तिर्नुपरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । मांसाहारी खानाको झण्डै ३ सय सम्म असुली गरिन्छ । अझ बन्दका बेला अलपत्र यात्रुलाई व्यवसायी ‘नाफा कमाउने’ अवसरको रुपमा प्रयोग गर्दछन् । राजमार्गमा फाष्टफुड होस् वा खाना अत्याधिक शुल्क असुलिने गरिएको छ ।


सामान्यतया साधा खाना १ सय २० रुपैयाँ सम्म पाइन्छ । तर, राजमार्गका होटल व्यवसायीले दोब्बर असुल्दै आएका छन् । खाना नखाई फाष्टफुड खानेहरु पनि ठगीबाट जोगिएका छैनन् । शुल्क कम लाग्ने आशामा चना, अण्डा, रोटी लगायत खानेकुरा खानेहरु पनि बिल तिर्ने बेलामा ठगिएको महसुस गर्छन् । ‘तर, कहाँ उजुरी गर्ने, कस्ले सुनुवाई गर्छ’, नेपालगन्जबाट हालै काठमाडौं यात्रामा क्रममा खानामा ठगिएको महसुस गर्ने राजेश क्षेत्री भन्छन्, ‘मनपरी छ, सरोकारवालालाई मतलब छैन ।’ रात्री बसको यात्रा गरेको बताउने उनी कसैले पनि त्यसको विरोध नगर्ने र चुपचाप रकम भुक्तान गर्दा ‘खानामा अवैध असुली’ झनै मौलाउँदै गएको बताउँछन् ।


राजमार्गका होटल सञ्चालकको ‘सेटिङ्ग यातायात चालक र त्यसका धनीहरुसँग हुने गरेको’ नेपालगन्ज–५ का रामेश्वर शर्मा बताउँछन् । ‘यात्रुको खानामा यातायात चालक तथा धनीहरुले कमिसन खाने गरेकै कारण बढी मूल्य तिर्नुपरेको हो’, उनी भन्छन्, ‘खानामा भैरहेको अवैध असुलीमा पुरै वेवास्ता हुने गरेको छ ।’ चालकले आफ्नो ‘सेटिङ्ग’ रहेका होटलमा खाना खुवाउन रोक्ने र त्यसको अन्य विकल्पमा भोकै बस्न नसकिने भएकाले पनि यात्रुले बढी रकम तिर्न बाध्य हुने गरेको सुर्य गौलीले बताए । ‘जहाँ बस रोकिन्छ त्यही खाने हो, खाएपछि उनैले भने अनुसार पैसा तिर्नुपर्छ’, उनी भन्छन् । ‘राजमार्गमा यात्रा गर्नेहरु खानाको गुणस्तरमा समेत प्रश्न त उठाउँछन् तर उजुरी कहाँ गर्ने भन्ने थाहा नहुँदा वास्ता गर्दैछन्’, नेपालगन्जका दिपेश आचार्यले भने, ‘पैसा भन्दा गन्तव्यमा यात्रुको चासो हुन्छ, त्यसैले कसैले उजुरी ध्यान नजाने गरेको हो ।’

पर्यटकलाई २० प्रतिशत छुटको निर्णय
भ्रमण बर्ष सन् २०२० मा होटल व्यवसायी महासंघ प्रदेश ५ ले पर्यटकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको छ । दाङ्गमा बुधबार भएको प्रदेश ५ को बिस्तारित बैठकले पर्यटकहरुलाई छुट दिने निर्णय गरेको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिएका छन् । ‘भ्रमण बर्षमा पाहुनालाई छुट दिने निर्णय गरिएको हो’, अध्यक्ष काफ्लेले भने ।


सरकारले घोषणा गरेको भ्रमण बर्ष सुरु हुन एक महिना मात्रै बाँकी छ । ‘निजी क्षेत्रबाट पनि सरकारको अभियानलाई सघाउन छुटको घोषणा गरिएको हो’, अध्यक्ष काफ्लेले भने । बैठकमा प्रदेश ५ मा रहेका पर्यटकीय स्थल र त्यसमा पर्यटक कसरी आकर्षक गर्ने भन्ने विषयमा पनि चर्चा गरिएको थियो ।


होटल व्यवसायी महासंघ प्रदेश ५ को बैठकले राजमार्गका होटलमा भैरहेको बेथिति नियन्त्रणका लागि एउटा समिति पनि बनाएको छ । ‘राजमार्गका होटलले गर्ने सेटिङ्ग र असुली विरुद्ध कदम चाल्नका लागि समिति बनाइएको हो’, बैठकमा सहभागी महासंघका पदाधिकारीले भने, ‘यसले अनुगमन गरी बेतिथि नियन्त्रणका कदम चाल्ने छ ।’ व्यवसायी एकनारायण चापागाईको नेतृत्वमा गठित समितिले ‘व्यवसायी बीच नै सेटिङ्गमा यात्रु तान्ने र चर्को असुली’ गर्ने प्रवृत्ति विरुद्ध अनुमगन गरेर त्यसलाई निस्तेज गर्न कदम चाल्नका लागि पहल गर्नेछ ।


बैठकले होटल व्यवसायी महासंघका केन्द्रीय महाधिवेशनमा एउटै आवाज लिएर जाने समेत सहमति गरेको छ । ‘जुनसुकै विचार र आस्थाका भएपछि प्रदेश हितलाई मध्येनजर महासंघको केन्द्रीय समितिमा एकभएर अगाडि बढ्ने निर्णय गरेका हौं’, प्रदेश अध्यक्ष काफ्लेले भने । बैठकले प्रदेश ५ बाट केन्द्रीय समितिमा उम्मेदवारी दिनेलाई सघाउने सहमति पनि गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया