सन्जय तिमिल्सीना
आजभोली सञ्चार माध्यमको सहकारीप्रतिको चासो बढेको कारण पनि होला सामाजिक सञ्जालका साथै आम सञ्चारका माध्यमबाट सहकारीका सन्दर्भमा राम्रा, नराम्रा दुवै किसिमका विषयले विगतमा भन्दा बढी स्थान पाउने गरेका छन् जो सहकारी अभियानको लागि सुखद पनि हो तर यस्ता विषय सकारात्मक भन्दा नकारात्मक नै बढी हुने गरेको पाइन्छ ।
गत महिना बाँके जिल्लाको नेपालञ्ज स्थित एक सहकारी संस्थाको समाचारले स्थानीयका साथै राष्ट्रिय स्तरका सञ्चार माध्यममा समेत उल्लेख्य चर्चा पायो । विषय सहकारी संस्था भित्र सदस्यको बचत र शेयर रकम दुरुपयोग भएको विषयमा केन्द्रित थियो । यस सम्बन्धमा छानविनको लागि विषयगत समिति पनि बनिसकेकोले समितिको प्रतिवेदन र अदालती फैसला पश्चात मात्र यस विषयमा विस्तृत चर्चा गर्न उपयुक्त हुन्छ । यसै महिना कपिलवस्तुको एउटा संस्थामा रकम हिनामिना भएको विषयले उस्तै चर्चा पायो । सहकारी संस्था मार्फत समुदायमा भएका राम्रा कामहरुले भने उल्लेख्य चर्चा पाउन सक्दैनन् ।
चालु आ.व.मा नेपालका २४ वटा बचत तथा ऋण सहकारी संस्था (साकोस)ले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिन्ह प्रमाणपत्र (एक्सेस) प्राप्त गरे तर यो विषयले भने मुलधारका राष्ट्रिय सञ्चार माध्यममा स्थान पाउन सकेन । सञ्चार माध्यमले कुन विषयलाई स्थान दिने, कुन विषयलाई स्थान नदिने भन्ने उनिहरुको स्वायत्तताको विषय हो तर सहकारी अभियानले नकारात्मक समाचारको विषय नबन्ने गरी आफुलाई व्यवस्थित गर्नु जरुरी छ । संस्थामा नीति, विधि र प्रविधिको उचित व्यवस्थापन र प्रयोग नगर्दा सञ्चालनमा संलग्न कर्मचारी तथा सञ्चालकहरुले संस्थाको श्रोत, साधन र पहिचानलाई दुरुपयोग गर्ने सम्भावना कायम रहन्छ । त्यसैले यस लेखमा सहकारी संस्थामा हुनसक्ने सम्भाव्य दुरुपयोग र त्यसको रोकथामका उपाय सम्बन्धमा चर्चा गरिएको छ ।
क) शक्तिको दुरुपयोग ः सहकारी संस्थामा कार्यकारी अधिकारप्राप्त व्यक्तिले शक्तिको प्रयोग गलत ठाउँ, तरिका र मनसायले गर्न सक्ने अवस्था रहन्छ । शक्तिको दुरुपयोग गर्दा सम्बन्धित व्यक्तिले आफ्ना निजी, पारिवारिक वा नातेदारका स्वार्थपुरा गर्ने वा आफ्ना विचारसँग असंगत वा विमति राख्ने व्यक्तिहरुलाई गलत प्रभाव पार्ने निर्णयहरु गर्न सक्दछ । यस्ता निर्णय गर्दा तत्कालिक वा दीर्घकालिनरुपमा आफुलाई फाईदा वा वेफाईदा के हुन्छ भनेर निश्कर्षमा पुग्ने गरेको पाइन्छ । त्यसैगरी कुनै अवसरको लागि आफ्नो नातागोता वा ईष्टमित्रलाई प्राथमिकता दिने, क्षमता भन्दा सम्बन्धको गणना गर्ने जस्ता अभ्यास पनि शक्तिको प्रयोग गर्ने पक्षबाट भएको हुन सक्दछ भने शक्तिको लालसा वा डर, धम्की देखाएर संगठन भित्र आन्तरिक गुटबन्दी गर्ने अवस्था रहन सक्दछ । यस्तो अवस्थामा शक्तिको प्रयोगकर्ताले आफ्ना गलत कार्यको अन्ध समर्थनको लागि गुट तयार गर्दछ जसले गर्दा संस्थाका कमजोरीहरु भित्र भित्रै झाङ्गिदै जान्छ ।
कुनै पनि संस्थामा कार्यकारी अधिकार (शक्ति) एकै व्यक्तिमा केन्द्रित गर्नु नै शक्ति दुरुपयोगको आधार भएकोले संस्थाले अधिकार प्रत्यायोजन गर्दा निकै सन्तुलन कायम गर्नु पर्दछ ।
रोकथाम ः कुनैपनि संस्थामा शक्तिको दुरुपयोग हुन नदिन शक्ति सन्तुलनको सिद्धान्त अनुरुप शक्ति प्रयोगकर्ताको कार्य र परिणामहरुको परीक्षण गर्ने अर्को निकाय सशक्त हुनु पर्दछ । सहकारी संस्थामा सामान्यतया व्यवस्थापनलाई शक्ति प्रयोगको अधिकार प्रदान गरिएको अवस्थामा व्यवस्थापन संरचना र अभ्यास बुझेको व्यक्ति सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा हुनु पर्दछ । यदि निर्वाचन हुँदा त्यस्तो क्षमता भएको व्यक्ति निर्वाचित नभएमा तालिम शिक्षाको माध्यमबाट सशक्तिकरण गर्नुपर्दछ । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको मिलेमतोमा शक्तिको दुरुपयोग भएको अवस्थामा साधारणसभाले यसको नियन्त्रण गर्नुपर्दछ । त्यसैले साधारणसभा नाचगान हेर्ने, भाषण सुन्ने र भत्ता बुझ्ने कार्यक्रम नभई संस्थामा सदस्यको हितको संरक्षण र शक्ति विन्यासलाई सन्तुलन गर्न आवश्यक छलफल र निर्णय गर्ने उच्चस्तरको संरचना हो । कुनैपनि संस्थामा एकै व्यक्तिमा नभई समुहमा शक्ति प्रयोगको अधिकार प्रत्यायोजन मार्फत यसलाई व्यवस्थापन गर्न सकिन्छ । सदस्यहरुले शंकाको सुविधा उपयोग गर्ने र स्पष्ट नभएको वा चित्त नबुझेको विषयमा प्रश्न गर्ने व्यक्तिलाई प्रोत्साहित गर्ने अभ्यास गर्नुपर्दछ ।
ख) श्रोतको दुरुपयोग ः संस्थामा वित्तीयका साथै वौद्धिक र भौतिक श्रोतहरु परिचालन भएका हुन्छन् यस्ता श्रोतहरुको दुरुपयोगमा विशेषगरी तलब भत्ता जस्ता आयका श्रोतहरु, यातायातका सवारी साधन, सुचना तथा सञ्चारका उपकरण र प्रविधि, यात्रा, तालिम र मनोरञ्जन जस्ता माध्यमबाट दुरुपयोग हुनसक्ने सम्भावनाहरु रहन्छ । विशेष गरी संस्थाको क्षमता भन्दा अस्वभाविक तलब निर्धारण, बैठक तथा भ्रमण भत्ता वापत ठुलो रकम भुक्तानी, आवश्यकता भन्दा बढी बैठक तथा भ्रमण गर्ने कार्यबाट वित्तीय श्रोतको दुरुपयोग गरी व्यक्तिगत लाभ लिन सक्दछन् । त्यसैगरी संस्थागत यातायातका सवारी साधनहरु निजी प्रयोजनमा प्रयोग गर्ने, आवश्यकता भन्दा विलाशिताको लागि सवारी साधन खरीद र प्रयोग गर्ने जस्ता दुरुपयोग अभ्यास हुन सक्दछन् यद्यपी संस्थाको वित्तीय क्षमताले थेग्न सक्ने गरी संस्थाको छवी निर्माणको लागि क्षमता र आवश्यकता अनुरुपका साधन प्रयोग गर्नै नहुने अर्थमा यसलाई बुझ्नु हुँदैन । संस्थामा सञ्चार उपकरण र प्रविधिलाई आफ्नो हितमा प्रयोग गरी सोको दुरुपयोग गर्न सक्ने सम्भावनातर्फ पनि संस्था र सदस्यहरु सदैव सचेत हुनुपर्दछ । कम्प्युटर, फोन, ईन्टरनेट जस्ता उपकरणहरुको व्यक्तिगत वा पारिवारिक प्रयोग गरी संस्था मार्फत भुक्तानी भएका थुप्रै उदाहरणहरु देख्न सकिन्छ । त्यसैगरी श्रोतको दुरुपयोगमा पछिल्लो समय यात्रा (अवलोकन भ्रमण), तालिम र मनोरञ्जन जस्ता माध्यम प्रयोग भएको पाइन्छ । उद्देश्य विहिन अवलोकन भ्रमणका कार्यक्रम गर्ने र संस्थाहरु नै नभएको स्थानमा सहकारी अवलोकन भ्रमण गर्ने र संस्थामा भ्रमण गर्दा समेत सिक्ने भन्दा फोटो खिच्ने प्रयोजन प्राथमिकतामा पर्ने, तालिम शिक्षामा आवश्यकता भन्दा पनि पालो पुरा गर्ने वा आफ्नो नजिकको सम्बन्धमा रहेको व्यक्तिलाई पठाउने जस्ता कार्य मार्फत श्रोतको दुरुपयोग गरेको पाइन्छ ।
समाधान ः संस्थामा श्रोतको दुरुपयोगलाई शुन्य गर्न असम्भवप्रायः नै होला तर यसको न्युनिकरणको लागि संस्थामा कार्यरत व्यवस्थापन प्रमुखको तलब भत्ता लगायतका सुविधाहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिका भत्ता तथा अन्य सुविधाहरु साधारणसभामा स्पष्ट खुल्ने गरी औचित्यता सहित पेश गरी छलफल मार्फत पारित गरिनु पर्दछ । व्यवस्थापन प्रमुख र दोश्रो तहका कर्मचारी तथा सो भन्दा तल्लो तहको तलब स्केल र अन्य सुविधाहरुमा ठुलो फरकता नहुने व्यवस्था गर्नु पर्दछ । यातायातका सवारी साधन प्रयोगमा औचित्य खुल्ने गरी प्रयोग अभिलेख पुस्तिका (लगबुक) व्यवस्थापन गर्नु पर्दछ भने सुचना तथा सञ्चारका उपकरण र प्रविधिको आवश्यकताको योजना वार्षिक योजनामा समावेश गर्ने र सोको प्रयोग सम्बन्धी कार्यविधि निर्माण गरी व्यवस्थापन गर्नु पर्दछ । त्यसैगरी अवलोकन भ्रमण र तालिममा सहभागी छनौट कार्यविधि निर्माण गरी सोही आधारमा छनौट गर्ने तालिम तथा सिकाईको योजना र अवलोकन भ्रमणको कार्यक्रम तयारी गर्नुपुर्व सिकाईको प्राथमिकता निर्धारण गरी संस्था र रुट निश्चित गर्ने ।
अवलोकन भ्रमण तथा तालिममा सहभागी प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत सिकाई र संस्थामा गर्न सक्ने थप योगदान सहित उल्लेख गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गर्ने अभ्यास मार्फत श्रोतको दुरुपयोग रोक्न सकिन्छ ।
ग) उत्पादन तथा सेवाहरुको दुरुपयोग ः संस्थाका उत्पादन तथा सेवा भित्र सम्बन्धित सहकारी संस्थाले सदस्यलाई उपलब्ध गराउने खरीद, बिक्री र सुविधा सँग सम्बन्धित सेवाहरु पर्दछन् । विशेष गरी बचत तथा ऋण सहकारी संस्थाहरुमा उत्पादन तथा सेवा भन्नाले विभिन्न प्रकारका बचत, विभिन्न प्रकारका ऋण, विप्रेषण, बीमा तथा सदस्य सुरक्षा जस्ता कार्यक्रमहरु पर्दछन् भने अन्य विषयगत संस्थामा सदस्यसँग गरिएका खरीद र बिक्रीका साथै सदस्य सेवा र सुरक्षाका अन्य कार्यक्रमहरु समेत पर्दछन् । विशेषगरी उत्पादन तथा सेवाहरुको दुरुपयोग गर्न संस्थाको कार्यकारी तहमा बस्ने व्यक्ति वा निर्णयकर्ताले मुल्य निर्धारण, कमिशन, शुल्कहरु, ऋण नविकरण, धितो वा सुरक्षणको अधिक÷न्युन मुल्याङ्कन, ऋण तथा समस्याग्रस्त सम्पत्तिको अपलेखन जस्ता क्षेत्रमा दुरुपयोग गर्न सक्दछन् । विशेष गरी संस्थामा सञ्चालक तथा नेतृत्व तहमा बहाल व्यक्तिहरु मात्र संलग्न हुन सक्ने बचत तथा ऋणका सेवा विकास गर्ने, निर्णयकर्ताको मात्र संलग्नता रहने गरी उत्पादन तथा सेवा विकास र त्यस्ता सेवामा फरक व्याज दर, सेवा शुल्क निर्धारण गर्ने । वस्तु तथा सेवाको मुल्य निर्धारण गर्दा बजारको मुल्य अवस्था विश्लेषण नगरी वा नजरअन्दाज गरी आफुले खरीद (ऋण) भन्दा बिक्री (बचत) बढी गर्नुपर्ने भएमा व्याज वा मुल्य उच्च र सो भन्दा फरक भएमा न्युन मुल्य राख्ने अभ्यास हुन सक्दछ ।
संस्थागत कारोबार मार्फत आउने कमिशन व्यक्तिको नाममा आउने वा अन्य कुनै प्रकारका गैरवित्तीय लाभ लिने, संस्थामा कारोबार गर्दा लाग्ने शुल्क अनावश्यक र उच्च कायम गर्ने साथै त्यस्तो शुल्क व्यक्तिपिच्छे फरक फरक गर्ने वा कतिपय संस्थामा त्यस्तो शुल्क व्यक्तिको नाममा प्राप्त हुने व्यवस्था गर्ने, ऋण असुली भन्दा नविकरणलाई प्राथमिकता दिई सदस्यलाई तिर्न नसक्ने ऋणको भार थप्दै लैजाने जसले एकातर्फ निर्णयकर्ताले तत्काल ऋणीको समर्थन प्राप्त गर्ने । वास्तविक भन्दा अधिक वा न्युन हुनेगरी धितो तथा सुरक्षणको मुल्याङ्कन गर्ने जसले दीर्घकालमा या त सदस्यले संस्थाको दायित्व भुक्तान नगरी संस्थालाई नोक्सान पु¥याउँदछ या सुरक्षणको मुल्याङ्कन न्युन गरिएको भए उक्त धितो÷सुरक्षण संस्थाका सञ्चालक वा आफन्तले सकार गरी व्यक्तिलाई नोक्सान पु¥याउँदछ । त्यसैगरी लगानी गरिएको ऋण असुली ताकेता गर्नुभन्दा अपलेखन गरी अस्वस्थ वित्तीय प्रतिवेदनहरु सार्वजनिक गर्ने अभ्यासहरु हुन सक्दछन् जसले सदस्यको बचत तथा शेयरमा जोखिम सिर्जना गरेको हुन्छ ।
रोकथाम ः उल्लेखित दुरुपयोग हुन नदिनको लागि उत्पादन तथा सेवाको विकासमा सदस्यहरुको सहभागिता सुनिश्चित गरी उनिहरुको पृष्ठपोषणलाई प्राथमिकताका साथ सम्बोधन गर्ने, बचत तथा ऋण सेवामा व्याज दर तोक्दा समान प्रकृतिको कारोबार गर्ने मुख्य प्रतिस्पर्धीहरुको व्याज दर र अन्य सेवामा समेत खरीद र बिक्रीको मुल्य संकलन गरी सोही आधारमा प्रतिस्पर्धी हुनेगरी तोक्ने, व्याज वा मुल्य निर्धारण कम्तिमा त्रैमासिक रुपमा पुनरावलोकन गर्ने, कमिशनको लागि संस्थागत सम्झौता मार्फत खातामा प्राप्त हुने व्यवस्था गर्ने र संस्थाले दिनु पर्ने भएमा स्वीकृत नीतिको आधार उल्लेख गरी भुक्तानी गर्ने । नीतिमा उल्लेखित बाहेक अन्य शुल्क असुल नगर्ने, सामान्य अवस्थामा ऋण नविकरण नगर्ने र नविकरण गर्नै पर्ने भएमा मनासिव कारण उल्लेख गरी सञ्चालक समितिको बैठकबाट बढीमा एक पटकमात्र नविकरण गर्ने, धितो तथा सुरक्षणको मुल्याङ्कनको लागि दर्तावाल मुल्याङ्कनकर्ताको सेवा लिने, ऋणको अपलेखन गर्ने नीतिगत व्यवस्था बमोजिम सञ्चालक समितिको पुर्ण बैठकले निर्णय गर्ने जस्ता उपायहरु अबलम्बन गरी उत्पादन तथा सेवाहरुको दुरुपयोग रोक्न सकिन्छ ।
घ) संस्थाको दुरुपयोग ः संस्थाको नेतृत्व परिवर्तनशिल हुन्छ त्यसैले संस्थामा आफ्नो कार्यकालमा सदस्यहरुलाई सन्तुष्ट बनाउने सोचले सञ्चालकहरुलाई प्रेरित गरेको हुन्छ यस्तो सन्तुष्टि मापनको प्रमुख आधार सदस्यले प्राप्त गर्ने लाभांशलाई मानिन्छ । त्यसैले संस्थामा जसरी पनि उच्च दरमा लाभांश वितरण गर्नुपर्ने सोच स्थापित भएको छ तर लगानी गरिएको ऋणले भाखा नाघिरहँदा उक्त ऋण सुरक्षणको लागि ऋण सुरक्षण व्यवस्था नै नगरी लाभांश वितरण गर्नु संस्थाको दुरुपयोगको प्रमुख पक्ष हो । त्यसैगरी भाखा नाघेको ऋण असुल गर्नुको सट्टा अपलेखन गर्ने वा नविकरण गर्ने, घर, जग्गा, सवारी साधन, फर्निचर, उपकरण जस्ता नकमाउने सम्पत्तिमा सदस्यको बचत र शेयरको रकम प्रयोग गर्ने (संस्थागत पुँजीले नधान्ने गरी खरीद गर्ने), गलत वा काल्पनिक वित्तीय विवरण बाहिर ल्याउने, संस्थागत छवी र पदलाई व्यक्तिगत लाभको लागि प्रयोग गर्ने जस्ता अभ्यास हुनसक्ने तर्फ संस्था र सदस्यहरु सदैव सचेत रहनु पर्दछ ।
रोकथाम ः संस्थामा उल्लेखित दुरुपयोग हुन नदिनको लागि ऋण वर्गिकरणको आधारमा स्वचालित प्रणालीबाट ऋण सुरक्षण व्यवस्था गर्ने, ऋण भाखा नाघेको दुई वर्ष पुरा भएपश्चात अपलेखन गर्ने र यसरी अपलेखित ऋणलाई अपलेखन भएको मितिले एक वर्ष भित्र असुल गरिसक्नुपर्ने व्यवस्था गर्ने, नकमाउने सम्पत्ति आर्जन सम्बन्धी नीतिगत व्यवस्था गरी लागतरहित कोषको ५० प्रतिशत रकम मात्र नकमाउने सम्पत्तिमा प्रयोग गर्ने नीतिगत व्यवस्था गर्ने, वित्तीय विवरणहरुको विश्वसनीयता परीक्षण गर्ने र आवश्यक परेमा संस्थाको सामाजिक परीक्षण समेत गराउने गर्नु पर्दछ ।
ङ) अन्य दुरुपयोगहरु ः संस्थामा शक्ति, श्रोत, उत्पादन तथा सेवा र संस्थागत दुरुपयोगका अतिरिक्त अन्य किसिमका दुरुपयोग समेत भएको पाइन्छ । यद्यपी यि दुरुपयोगहरु शक्तिमा आधारित हुन्छन् । संस्थामा कार्यरत कर्मचारी वा संस्थाको काममा खटिइ गएको कुनै पनि सदस्यले तोकिएको पुर्णसमय निर्दिष्ट काममा नदिई व्यक्तिगत कामको लागि प्रयोग गर्ने, संस्थाको कार्यस्थलमा व्यक्तिगत हितका कार्यहरुको लागि बैठक, भेला वा अन्य कुनै तरिकाले व्यक्तिगत लाभमा प्रयोग गर्ने, संस्थामा कार्यरत विपरित लिङ्गी कर्मचारीहरुको लैङ्गीक शोषण गर्ने, तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई आफ्नो निजी काममा प्रयोग गर्ने जस्ता दुरुपयोगहरु हुन सक्दछन् । त्यसैले संस्थाका कुनैपनि जिम्मेवारीमा एउटै व्यक्ति लामो समयसम्म रहनु पनि आफैंमा संस्था भित्र विभिन्न किसिमका दुरुपयोगको आधार हो । संस्थामा हुनसक्ने सम्भाव्य दुरुपयोगबाट संस्थालाई बचाइराख्ने हो भने संस्थाको उच्च तहमा एउटै व्यक्ति लामो समय कार्यरत रहने अभ्यास परिवर्तन गर्नु पर्दछ । त्यसैले विभिन्न व्यवसायिक संस्था, कम्पनी र बैंकहरुमा प्रमुख व्यवस्थापकीय तहमा एउटै व्यक्तिलाई लामो समय पदस्थापन गरिंदैन ।
रोकथाम ः संस्थामा हुने यस्ता दुरुपयोग रोकथामको लागि हरेक तहमा सुपरीवेक्षक तोक्ने, कार्यस्थलको नियमित परीक्षण गर्ने, कार्यस्थल खुल्ला र सहजै सुपरिवेक्षक वा अन्य कर्मचारीको पहुँच पुग्ने गरी वयवस्थापन गर्ने, लगातार लामो समयसम्म विपरित लिङ्गी कर्मचारीहरुलाई सानो संख्यामा एउटै कार्यकक्षमा बस्ने व्यवस्था नगर्ने, कार्यालय समयभन्दा अगाडि वा पछाडि औचित्यता पुष्टि नहुने गरी कार्यालयमा उपस्थित नहुने, अतिरिक्त समय काम लगाउँदा सम्भव भएसम्म सामुहिक सहभागिता कायम गराउने, कर्मचारी नियुक्ति सँगै वा प्रत्येक आर्थिक वर्षको सुरुमा नै मुख्य कार्यसम्पादन सुचक सहितको कार्य विवरण उपलब्ध गराउने, कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनलाई वैज्ञानिक र प्रभावकारी बनाउने, कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनलाई ७२० डिग्री विधि (सम्पुर्ण सरोकारवाला पक्षहरु माथिल्लो तह, समान तह, तल्लो तह, सेवाग्राही लगायतबाट मुल्याङ्कन) गर्ने, आवश्यकताको आधारमा वार्षिक वा अर्धवार्षिकरुपमा सामाजिक लेखापरीक्षण गर्ने जस्ता विधि अवलम्वन गर्न सकिन्छ । संस्थामा हुने सबै किसिमका दुरुपयोगको दिर्घकालिनरुपमा समाधान गर्ने भनेको शुन्य सहनशिलताका आधारमा दुरुपयोगकर्तालाई कारवाहीको भागिदार बनाउनु हो जसले नयाँ पुस्तालाई पाठ सिकाउन सक्दछ ।
कुनैपनि संस्थामा अख्तियार प्राप्त व्यक्तिले दुरुपयोग गर्नु भनेको उक्त संस्थाको प्रशासनिक व्यवस्था कमजोर हुनु हो । कुनैपनि संस्थामा दुरुपयोगहरु बढ्नु वा प्रशासनिक व्यवस्थाहरु कमजोर हुनु भनेको उक्त संस्थाका शेयर सदस्यको लागि दुःखद पक्ष हो । अझ बचत तथा ऋण सहकारी संस्था, जसमा नगदको कारोबार हुन्छ त्यहाँ त एकै व्यक्तिले ठुलो वित्तीय श्रोतको दुरुपयोग गर्न सक्ने अवस्था रहन्छ । त्यसैले बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सञ्चार माध्यममा समाचार बनिसकेपछि होइन उक्त अवस्था आउन पनि सक्दछ भन्ने शंकापुर्ण सुविधा सहितको विश्वासबाट संस्थाको निगरानी गर्नु पर्दछ । कुनैपनि संस्थामा दुरुपयोगहरु भइरहेका छन् वा छैनन् ? संस्थागत शासन व्यवस्था कत्तिको व्यवस्थित र मजबुत छ भन्ने जानकारीको लागि देहायका विषयमा बढी चनाखो हुनुपर्दछ ।
१. निर्दिष्ट कार्यविभाजनको अभाव ः सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु र कर्मचारीमा विभिन्न पदको स्पष्ट कार्य र जिम्मेवारी नतोकि आवश्यकता अनुरुप व्याख्या एवम् अभ्यास गर्ने ।
२. व्यवस्थापनको काममा सञ्चालक समितिको हस्तक्षेप ः व्यवस्थापनको कार्यमा सञ्चालक समितिको तर्फबाट दवाव सिर्जना गर्ने वा हस्तक्षेप गरी निर्णय वा कार्य गर्न नदिने,
३. संभ्रान्तपन ः व्यक्तिपिच्छे फरक र दोहोरो मापदण्ड बनाई अधिकार प्राप्त व्यक्तिले आफुलाई सम्भ्रान्त ठाँटमा प्रस्तुत गर्ने । सदस्य र सञ्चालक वा कर्मचारी बीच साहु र ग्राहकको जस्तो व्यवहार गर्ने,
४. कर्मचारी सुविधामा विभेद ः लगत्तै माथिल्लो र तल्लो तहको, व्यवस्थापन प्रमुख र अन्य कर्मचारीको सेवा सुविधा र तलब, भत्तामा ठुलो फरकता कायम हुने,
५. कडा नेतृत्व ः शक्ति तथा अधिकारमा बढी केन्द्रित हुने, कठोर नेतृत्व मार्फत शक्ति केन्द्रिकरणको अभ्यास, अन्य व्यक्तिलाई अधिकार प्रत्यायोजन गरेमा आफु कमजोर हुने सोच भएको,
६. काल्पनिक ढंगले राखिएको लेखा ः अवास्तविक अंक, ऋण सुरक्षण नभएको, उठ्न बाँकी व्याजलाई आम्दानी देखाउने, नविकरण शुल्क मार्फत आय वृद्धि भएको जस्ता अभिलेखबाट लेखा व्यवस्थापन गरिएको छ भने त्यस्तो संस्थामा शुसासन कमजोर भएको बुझ्नु पर्दछ । यस्ता संकेतहरु देखिन सुरु हुनु भनेको कुनैपनि संस्थाको लागि सडकमा सवारी चलाउँदा पहेँलो ट्राफिक बत्ती बलेजस्तै हो, जुनसुकै समयमा रातो बत्ती बल्न (समस्याको अवस्था आउन) सक्दछ । त्यसैले संस्थामा कारोबार गर्ने सदस्यहरुले आफ्नो संस्था हेरेर, वित्तीय प्रतिवेदनहरु पढेर वा अन्य सुशासन सुचकहरुमा मापन गरी वित्तीय कारोबारको निर्णय लिनु उपयुक्त हुन्छ । जय सहकारी !