शुरु भयो ग्रासरुट फुटबल

नेपालगन्ज रंगशालामा शुक्रबार देखि ग्रासरुट लिग फुटबल सुरु भएको छ । ओलम्पियन समेत रहेका प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगर पालिका उपप्रमुख उमा थापा मगर, एन्फा पूर्वउपाध्यक्ष गोवद्र्धन सिह सम्झना, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षकलाई बल हस्तान्तरण गर्दै ग्रासरुटको उद्घाटन गरे ।


सानै उमेरदेखि बालबालिकालाई फुटबलमा दक्ष बनाउने लक्ष्य सहिते ग्रासरुट लिग फुटबलको आयोजना गरिएको हो । पहिलो पटक नेपालगन्जमा सञ्चालन गरिएको ग्रासरुट लिगमा बाँकेका ८ विद्यालयका ३ सय ८ बालबालिकाको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिताबाट १० वर्ष मुनिको एउटा छात्र टिम, १३ वर्ष मुनिको छात्र र छात्रा टिम छनोट गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । उनका अनुसार, छनोट भएका तिन टिमले एक महिना पछि हुने प्रदेश नम्बर ५ स्तरीय ग्रासरुट प्रतियोगितामा भाग लिनेछ ।


ग्रासरुट फुटबलमा बाँकेका ८ वटा विद्यालयको सहभागिता छ । संघका अनुसार, ग्रासरुट फुटबलमा दीपज्योति सेकेन्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेन्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी नेपालगन्ज, होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज, स्टार फयुचर स्कुल नेपालगन्ज, एबिसी रेसिडेण्टल स्कुलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।


प्रतियोगितामा ती विद्यालयका १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ग्रास रुट फुटबलले स्थानीय स्तरबाट खेलाडी उत्पादन र प्रतिभा छनोटमा सहयोग गर्ने अध्यक्ष शाहीले विश्वास व्यक्त गरे । ‘ग्रास रुटले फुटबलको विकास गर्नका लागि तल्लो स्तरबाट आधार तयार पार्ने विश्वास छ,’ बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले भने, ‘फुटबल प्रति आकर्षण बढाउन ग्रास रुटले सहयोग गर्छ । यसले हाम्रो भविष्यमा सिनियर टिम कस्तो हुन्छ भन्ने संकेत गर्छ ।’ प्रतियोगिता सकिएपछि यीनै बालबालिकाहरुका लागि संघले प्रशिक्षण सञ्चालन गर्ने अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया