१० हजार क्वीन्टल धान खरिद
खम्ब पुन
सरकारले यो वर्ष समयमै धानको मूल्य निर्धारण गरी खरिद सुरु गरेकाले नेपालगन्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने किसानको घुँइचो लाग्ने गरेको छ । निश्चित कोटा तोकेर खरिद खुल्ला गरेको खाद्यमा किसानहरुले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।
दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनु पर्ने वाध्यता रहेको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । ३ हजार ५ सय क्वीन्टल धान खरिदको कोटा तोकेर गत कात्तिक २७ गतेदेखि खरिद सुरु गरिएकोमा हालसम्म १० हजार क्वीन्टल धान खरिद गरिएको जनाइएको छ ।
किसानहरुले मोटो धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा प्रति क्वीन्टल पाउने गरेका छन् । जुन मूल्य गत वर्षको भन्दा २ सय रुपैयाँ बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुगेका नेपालगन्ज वडा नं. १९ का किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफुले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताए । उनीसंगै भेटिएका नेपालगन्ज १९ का अर्का किसान शालिकराम कोरी बाहिर व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफुहरु बिक्रीका लागि आएको बताए ।
चार वटा काँटबाट तौल गरेर रात दिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नै पर्ने वाध्यता रहेको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड नेपालगन्जका प्रमुख भरतराज खनिया तोकिएको कोटाका लागि खरिद खुल्ला गरिएकोमा धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताउँछन् । उनले दैनिक २०/२५ ट्याक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेको बताए । खाद्यले धान खरिदका लागि तोकिएको कोट पूरा गर्न अझै पुस १५ गतेसम्म समय लाग्ने अनुमान गरिएको छ ।