नगरका पोलका प्रवद्र्धन सामाग्री हटाइँदै

नेपालगन्जमा ‘डु लिटिल गुड’ अभियान


नगरलाई नै कुरुप बनाउने गरी जथाभावी सडक छेउका पोलमा टाँसिएका विज्ञापनहरु हटाउन सुरु गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकालाई सुन्दर र सरसफाई युक्त बनाउन ‘सानो गरौं राम्रो गरौं’ अभियान अन्तर्गत बासका स्वयंसेवकहरुले पोलमा विज्ञापन हटाउन सुरु गरेका हुन् ।


अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिका कार्यालय अगाडि देखि धम्बोझी चौक सम्म सडकको दायाँबायाँका बिजुलीका पोलहरुमा भएको पर्चा, पम्पलेट, फेलेक्स बोर्डहरु हटाई पोलहरुमा पेन्टीङ्ग गरिएको हो । एक हप्ता चल्ने उक्त अभियानमा बासका १५ जना स्वयंसेवक परिचालित छन् ।


‘नगर सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि अभियानको थालनी गरिएको हो’, बासका सूचना अधिकारी हेमराज भट्टले भने, ‘अभियानको निरन्तरताका लागि उपमहानगरपालिकासँग छलफल गरिरहेका छौं ।’


अभियान गत बिहिबार देखि सुरु भएको हो । जनप्रतिनिधिहरु समेत स्वयंसेवकहरुको काम नियाल्न र सघाउन पुग्ने गरेका छन् । नेपालगन्ज नगर प्रमुख डा. धवल समेशर राणा, उपप्रमुख उमा थापाले जथाभावी टाँसिएका विज्ञापन हटाउने कार्य अनुगमन गर्दै स्वयंसेवकहरुलाई प्रोत्साहन समेत गरेका छन् ।


जथाभावी फोहर नगरौ, सहरलाई सफा राखौँ भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन
गरिएको होे । नेपालगन्ज उप–महानगरपालिकाले बासलाई सो अभियानको क्रममा पोलमा टाँस गरिएका पोष्टर पम्पलेट तथा अनाधिकृत रुपमा टासिएका बोर्डहरु समेत निकाली सफा गर्न अनुमति दिएको छ । नगर प्रमुख डा. राणाले अनुगमनका क्रममा सहर सफा राख्नुपर्छ भन्ने सन्देश अभियानले दिएको धारणा राखेका थिए ।


नेपालगन्ज नगर क्षेत्रमा नेपाल तथा भारतीय उत्पादन, विभिन्न व्यवसायिक प्रतिष्ठानका विज्ञापन विना अनुमति, जथाभावी रुपमा टाँसेको देख्न सकिन्छ । यस्ता विज्ञापनदाताले अनुमति नलिने र कर समेत तिर्ने गरेको पाइँदैन । बासका सूचना अधिकारी स्वयंसेवकहरुले अगाडि बढाएको कामलाई उपमहानगरपालिकाले अपनत्व लिएर निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया