सिक्टामा सकुशल बग्यो पानी

अनिश्चितताको डेढ बर्ष पछि पानी चल्दा किसान उत्साहित

कृष्ण अधिकारी

बाँकेका किसानको भाग्य र भविष्य ठानिएको सिक्टा सिंचाई आयोजनाको परीक्षण सफल भएको छ । निर्माण सम्पन्न नहँुदै पटक पटक भत्किंदै आएको सिक्टा सिंचाइ आयोजनाको मुल नहर मर्मत गरेर पानी संचालन गरिएको हो ।

२०७५ साउन ७ गते चंगाई खोला नजिकै भत्किएको नहरको मर्मत संहार गरेर शनिवारदेखि नहर संचालनमा ल्याइँदा त्यस क्षेत्रका किसानहरु उत्साहित भएका छन् ।
घुलनशिल माटोका कारण समस्याग्रस्त रहेको बालापुर ढकेरी क्षेत्रको करिब ६ किलोमिटर क्षेत्र मध्ये मुख्य समस्याग्रस्त क्षेत्रको मर्मत संहार गरी करिब १ क्युमेक्स ( एक हजार लिटर प्रति सेकेन्ड ) पानी संचालनमा ल्याइएको हो ।

नहरमा पानी पनि संचालन गर्ने र समस्या देखिएको ठाउमा मर्मत संहार गर्दै किसानको खेतबारी सम्म पानी पुराउने लक्ष्यका साथ नहरको मर्मत संहार र पानी संचालन एकै साथ अगाडि बढाइएको आयोजनाका प्रमुख कृष्ण नेपालले बताए । नहरमा १ क्युमेक्स पानी संचालन गरेर सिधनिया शाखा मार्फत डुडुवा गाउँ पालिकाको करिब २ हजार हेक्टरमा पानी संचालन गर्ने तयारी आयोजनाले गरिरहेको छ ।

सिक्टा सिचाई आयोजनाको हेडबक्स देखि ३० किलोमिटरको दुरीमा रहेको सिधनिया शाखा नहरबाट किसानको खेतबारीमा सिंचाई सुबिधा दिन लागिएको हो ।

सिक्टा सिचाई आयोजनाको करिब ३० किलोमिटर क्षेत्रमा बाँके राष्ट्रिय निकुन्जको जंगल, मध्यवर्ती क्षेत्र र राप्ती सोनारी गाउपालिकाका बालापुर, ढकेरी र शम्सेरगन्ज गाउँहरु पर्छन । सम्बद्ध अधिकारीा अनुसार, ती गाउँहरु नहरको सतह भन्दा अग्लो स्थानमा भएका कारण डुडुवा गाउँपालिकाका गाउँहरुमा सुबिधा दिन लागिएको हो ।
समस्याग्रस्त नहरको मर्मत संहार भएर पानी संचालन भएपछि स्थानीय बासिन्दाहरु गहँु, तोरी र तरकारी बारीमा सिचाई गर्न पाउने आशाले उत्साहित भएको स्थानिय बासिन्दा दल बहादुर खत्रीले बताए ।

आर्थिक वर्ष २०७६/०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा पुरा गर्ने लक्ष्य राखिएको भए पनि हाल सम्म ब्यारेज तथा पश्चिम क्षेत्रको मुल नहर निर्माणको काम सम्पन्न करिब २१ सय हेक्टर सिचाई सुबिधा पुराउने सिधनिया शाखा बाहेक अन्य शाखा नहरको निर्माणको कामले गति लिन सकेको छैन ।
बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले १३ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा हालसम्म करिब १६ अर्ब रुपैया खर्च भइसकेको छ । ‘शाखा नहरहरु निर्माण गरेर छिटो भन्दा छिटो किसानको खेतबारीमा सिचाई सुबिधा पुराउने तर्फ आयोजनाले ध्यान दिन जरुरी छ,’ अगुवा किसान भन्छन् ।

अवरोध हटाउन पहल

सिक्टा सिंचाईको पूर्वी नहर निर्माणमा रहेको अवरोध हटाउन पहल सुरु भएको छ । सिक्टाको पूर्वी नहर खण्डको नरैनापुर रुटका सम्बन्धमा रहेको अन्योलता हटाउन राप्तीपारीका जनप्रतिनिधि एक ठाउँ भेला भएर निकासका लागि छलफल गरेका हुन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्षता इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको बैठकले नहर सहजतापूर्वक निर्माणका लागि अवरोधहरुलाई हटाउनका लागि पहल गर्ने निर्णय गरिएको थियो । नहरका लागि ठूलो मात्रामा जग्गा आवश्यक भएकाले जनताको साथ दिएमा सहज हुने धारणा नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले राखेका छन् । ‘१६ मिटर जग्गा चाहिन्छ, त्यसका लागि जग्गाधनीलाई सहमत गराउनु चुनौति रहेको छ’, अध्यक्ष शाहले भने ।

बैठकमा संघीय सांसद महेश्वर गहतराज, प्रदेशसभा सदस्य नमूना केसीको पनि उपस्थिति रहेको थियो । बैठकमा सिक्टा नहर अगाडि बढाउँदै पानी छाड्दै जाँदा उचित हुने विचार सहभागी जनप्रतिनिधिहरुले राखेका थिए । नहरका लागि जग्गा लिंदा क्षतिपूर्ति दिने सहमति पनि बैठकले गरेको थियो । राप्तीपारी पूर्वी नहर सम्पन्न भएमा ९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुग्ने सिक्टा सिंचाई आयोजनाले बताउँदै आएको छ । नगरका लागि उचित स्थानका सम्बन्धमा केही दिनभित्रै अध्ययन गर्ने आयोजनाले बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया