करलाई सहज बनाउन एकद्वारबाट कर तिर्ने व्यवस्था मिलाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले लामो समयदेखि फरक–फरक स्थानमा कर तिर्ने व्यवस्था झन्झटिलो भएको भन्दै एकद्वार बनाउने तर्फ सरकारको ध्यान जानु पर्ने माग गर्दै आएका हुन् ।
कर सप्ताहको पूर्व सन्ध्यामा दैनिक नेपालगन्जसँगको कुराकानीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले महासंघले एकद्वार प्रणालीका कर तिर्ने व्यवस्था मिलाउन माग गर्दै आएको बताएका छन् । ‘कर तिर्न सहज भए मात्र करदाता आकर्षित हुनसक्छन्’, उनले भने, ‘आगामी बर्षको बजेट भाषणामा नै उक्त विषय सम्बोधन गरिनु उचित हुन्छ ।’
‘मुलुकलाई समृद्धि तर्फ लग्न करको भूमिका महत्वपूर्ण हुन्छ’, केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘व्यवसायीले कर तिर्न कञ्जुस्याई गर्दैनन्, तर तिर्ने परिपाटीलाई सहज बनाउन आवश्यक छ ।’ उनले करका धेरै हाँगाबिगा भएको टिप्पणी गर्दै करलाई सहज बनाउन एकद्वार प्रणाली प्रभावकारी हुने बताए ।
‘व्यवसायीहरुलाई तनाव दिएर होइन उत्साहित बनाएर सरकारले कर लिनुपर्छ’, केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘संघीयता पछिको दोहोरो, तेहेरोसम्म करको मारमा व्यवसायी परिरहेकाले त्यो खारेज गर्नु आवश्यक छ ।’ उनले अज्ञानतावश व्यवसायीबाट हुने गल्तीमा समेत ठूलो जरिवाना भैरहेकाले त्यसलाई हटाइनु पर्ने बताए । ‘कसैले जानाजान कर छल्ने नियतले काम गरे कारवाही स्वभाविक हो’, उनले भने, ‘तर, अज्ञानतावश हुने गल्तीमा जरिवाना लिनु उचित हुँदैन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले मुलुकको समृद्धिका लागि सबै नागरिकले कानुन बमोजिम कर तिर्नुपर्ने बताएका छन् । तर, करदातामा कर तिर्नुपर्छ भन्ने भावना जगाउने, करलाई रहर बनाउने दायित्व राज्यको भएको अध्यक्ष वैश्यको धारणा राखेका छन् ।
राज्यले कर लिने मात्रै नभई करका बारेमा व्यवसायीहरुलाई जानकारी दिन निरन्तर कर शिक्षाका कार्यक्रमहरु पनि सञ्चालन गरिरहनु पर्ने अध्यक्ष वैश्यको भनाइ थियो । ‘करमैत्री वातावरण बनाएर व्यवसायीलाई कर तिर्ने तर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु सञ्चालन भैरहनु आवश्यक छ’, उनले भने, ‘निरन्तरको कर प्रशासन र व्यवसायी बीचको निरन्तर छलफलले करमा आइपरेका समस्या समाधान गर्न सहज हुन्छ ।’ उनले आन्तरिक राजश्व कार्यालय नेपालगन्जले व्यवसायीहरुलाई करको सम्बन्धमा सहजीकरण गरिरहेको जानकारी दिएका छन् ।
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन (एनइए) बाँकेका अध्यक्ष चिरञ्जीवि ओलीले राज्यले करको दर भन्दा दायरा फराकिलो बनाउनु आवश्यक रहेको बताएका छन् । ‘करमा सहभागी नभएका व्यवसायीहरुलाई पनि करको दायरामा ल्याउनु पर्छ’, उनले भने, ‘कर विना नै हुने कारोबार राज्यको नियम बमोजिम कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा पर्दै आएका छन् ।’
एनइए बाँके अध्यक्ष ओलीले स्थानीय तह, वाणिज्य, घरेलु, आन्तरिक राजश्व लगायतका कार्यालयमा छुट्टाछुट्टै कर लिने व्यवस्थाको अन्त्य गरी एकद्वार बनाए कर संकलन प्रभावकारी हुने र व्यवसायीलाई पनि सहज हुने बताए । ‘कर राज्यले लिने हो, त्यसैले एक ठाउँबाट लिने व्यवस्था गरिनुपर्छ’, उनले भने । अध्यक्ष ओलीले कर तिर्ने व्यवस्था अनलाइन सिष्टममा गैरहेको भन्दै त्यसलाई व्यवसायीले सरकारात्मक रुपमा लिएको बताए । ‘अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउने हो भने राज्य र व्यवसायी दुवैलाई सहज हुन्छ’, उनले भने ।
तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ अध्यक्ष भीम बहादुर रानाभाटले राज्यले तोके अनुसारको कर व्यवसायीले सहज रुपमा तिर्नुपर्ने बताए । ‘सरकारले मुलुकको विकासका लागि लिइने कर लिने हो, त्यसैले कर शिक्षा र कर तिर्ने वातावरण सहज हुनुपर्छ’, उनले भने ।
आज आइतबारदेखि कर सप्ताह विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा मनाइ“दै छ । सरकारले यो वर्ष स्वच्छ कर प्रशासनः विकास र सुशासन भन्ने मुल नाराका साथ कर दिवस मनाउन लागिएको हो । दिगो राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सुदृढ कर शासन स्थापित गर्न भन्दै सरकारले २०६९ साल देखि राष्ट्रिय कर सप्ताह मनाउन थालेको हो । मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस र मंसिरको पहिलो सातालाई कर सप्ताहका रुपमा मनाइने गर्छ ।
यस बर्ष आठौं कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । आज कर सप्ताहको पहिलो दिन आन्तरिक राजश्व कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी कर सप्ताहको उद्घाटन गरिने प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिएका छन् ।
कर सप्ताहमा विद्यार्थीसँग अन्तरक्रिया, उद्योग वाणिज्य संघको समन्वयमा कर शिक्षाका कार्यक्रमहरु तय गरेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पौडेलले बताएका छन् । कर, करले होइन रहरले तिरौं भन्ने नाराका साथ नेपालगन्जमा आगामी बुधबार सिस्नुपानी नेपालका कलाकारहरुको प्रस्तुति राखिएको पौडेलले जानकारी दिएका छन् ।
आन्तरिक राजस्व विभागको आयोजना र सिस्नुपानी, नेपालको समन्वयमा सुरु भएको देशव्यापी करमैत्री यात्रा नेपालगन्ज आउन लागेको हो । मुलुकको विकासका लागि भ्रष्टाचारी तथा घूसखोरीलाई कडा सजाय हुनुपर्ने र कर करले होइन रहरले तिर्नुपर्छ भन्ने सचेतना फैलाउने उद्देश्यले करमैत्री यात्राको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सिस्नुपानी नेपालका कलाकारहरुले कर तिर्ने वातावरण बनाउने खालका व्यंग्यात्मक प्रस्तुती दिनेछन् । करमैत्री यात्रामा चर्चित कलाकार मनोज गजुरेल लगायत आधा दर्जनबढी कलाकारहरुले प्रस्तुति रहने आन्तरिक राजश्व कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
यस बर्ष सरकारले सुरु गरेको सबैलाई प्यान कार्यक्रमबाट देशभर ७ लाख ९४ हजार करदाता थपिएका छन् । यो सँगै देशभर करदाताको संख्या २९ लाख ६५ हजार पुगेको छ ।आन्तरिक राजस्व विभागको तथ्याङक अनुसार, ती करदाताबाट कार्तिक २९ गतेसम्म १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । यो गत वर्षको तुलनमा औसत २३ प्रतिशत बृद्धिदर हो । तर चालू आर्थिक वर्षको लक्ष्य अनुसार भने १३ प्रतिशतले कमी हो । यस्तै देशभर मूल्य अभिवृद्धि करमा करदाताको संख्या २ लाख ३९ हजार ७ सय ५८ पुगेको छ ।