तरुण सभापति विरुद्ध अदालतमा मुद्दा

हतियार सहित पक्राउ परेका तरुण दल नेपालगन्जका सभापति सन्दिप जंग शाह सहित चार जना विरुद्ध शुक्रबार अदालतमा मुद्दा दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले पक्राउ परेका शाह सहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दा चलाइएको जानकारी दिएका छन् । प्रहरीले गत बुधबार अनुसन्धान सकेर मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएको थियो । इलाका प्रहरी कार्यालयका अनुसार, तरुण अध्यक्ष शाह, माधव नेपाली, प्रितम थापा र यमबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।


हातहतियार तथा खरखजना मुद्दामा उनीहरु विरुद्ध पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको हो । मुलुकी अपराध संहिता–२०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


युवा व्यवसायी समेत रहेका शाहलाई गत कार्तिक १३ गते प्रहरीले पक्राउ गरेको थियो । शाहलाई गनापुर स्थित एक रेष्टुरेन्टबाट एकथान लोडेड पेस्तोल सहित पक्राउ गरिएको थियो । कोहलपुर प्रहरीले शाहलाई एक थान मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल सहित पक्राउ गरेपछि अनुसन्धान सुरु गरेको थियो । शाहसँग फेला परेको पेस्तोलमा दुई थान गोली समेत लोड थियो ।


आसन्न एउटा ठेक्कालाई लिएर आफ्ना सहकर्मीहरु माझ योजना बनाइरहँदा शाहलाई त्यहीबाट गएको सूचनाका आधारमा कोहलपुर प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार, सन्दिप गाडी चढेर जान खोज्दा उनको गाडीको बायाँ पट्टीको सिटमूनि पेस्तोल राख्ने विशेष व्यवस्था सहितको ठाउँमा हतियार फेला परेको थियो ।

शाहलाई छोड्न जिल्ला बन्द

तरुण दलले शुक्रबार बाँके बन्द गर्दा जनजीवन प्रभावित भयो । हतियार सहित पक्राउ परेका तरुण नगर अध्यक्ष सन्दिप जंग शाह लगायतलाई छाड्न दबाब दिने उद्देश्यले तरुण दलले बन्दको आव्हान गरेको थियो । तरुण दलले शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको आरोप समेत लगाएको छ । यद्यपि, प्रहरीले अनुसन्धानका क्रममा हतियार शाहकै भएको देखिएको बताएको छ ।


बन्दका कारण शुक्रबार बाँकेका विद्यालय, कलकारखाना तथा यातायात प्रभावित रह्यो । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका नेता, कार्यकर्ता शुक्रबार विहानै देखि सडकमा बजार तथा यातायात बन्द गराउन सक्रिय देखिन्थ्ये । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया

प्रतिक्रिया