वसन्त गौतम
पछिल्लो समय बाँके लगायत देशका बिभिन्न भागमा एक पछि अर्को गर्दै महिला र साना नानीहरु यौनजन्य हिंसाको शिकार भएका घटना सार्वजनिक भैरहेका छन् । महिलाहरु यौनजन्य मात्रै होइन शारिरीक, मानसिक र आर्थिक हिंसाको समेत शिकार हुने क्रम रोकिएको छैन ।
व्यक्तिगत तहमा पुग्ने क्षतिका अतिरिक्त लैंगिकतामा आधारित हिंशाका कारण सिंगो समाजले नै ठुलो नोक्सानी पु¥याइरहेको छ । लैंगिकतामा आधारित हिशाले यूद्ध, अर्वुध रोग तथा सवारी दुर्घटना जस्ता कारणहरुलाई पनि उछिनेको देखिन्छ । दक्षिण एसियाको सन्दर्भमा हेर्दा ४० देखि ७० प्रतिशत महिला तथा किशोरीहरुले कुनै न कुनै प्रकृतिको शारिरिक, यौनजन्य वा भावनात्मक दुव्यवहार भोग्ने गरेको तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसै गरी महिलाको आधा जनसंख्याले घरेलु हिंसाको अनुभव गर्ने गरेको तथ्य पनि बिभिन्न निकायहरुले उजागर गरेका छन् ।
लैंगिकतामा आधारित हिंसालाई महिलाको मात्रै एकल सरोकारको विषय होइन । निश्चय पनि ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक र अन्य कारणहरुले गर्दा महिला नै लैंगिकतामा आधारित हिंशाको प्रमुख तारो बन्ने गरेका छन । त्यसकारण पनि नेपालको सन्दर्भमा लैंगिकतामा आधारित हिंसा अन्त्यका प्रयासहरुले महिला र वालिकाहरुलाई केन्द्रमा राख्ने गरिएको हो । संगसंगै यस समस्यालाई समग्रतामा सम्बोधन गर्नको लागि पुरुष तथा यूवाहरुको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । व्यवहार परिवर्तन नगरिकन केवल दण्डात्मक तरिकाले मात्रै लैंगिक हिंशाको दिगो सम्बोधन हुन सक्दैन । किनकी धेरै जसो लैंगिक हिंसाजन्य कार्यलाई अपराधिकरण गरिएको छ र फौजदारी कसुरको रुपमा दण्डित गर्ने कानुन भए पनि महिलाहरु हिंसाको शिकार हुन छाडेका छैनन । दण्डात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौतिपूर्ण रहेको सन्दर्भमा निरोधात्मक उपायहरुको अवलम्बन गर्न पनि त्यत्तिकै जरुरी छ । यहि वुझाईका आधारमा पछिल्लो समय महिलाका अतिरिक्त पुरुषहरु तथा किशोरहरुलाई पनि यस्ता प्रयासहरुमा सहभागि गराउने र उनिहरुको सकारात्मक भुमिका खोज्ने प्रचलन बढ्दै गएको छ ।
यसका माध्यामवाट महिला तथा किशोरीहरुको जिवनमा मात्रै होइन पुरुष र किशोरहरुको जिवनमा पनि रुपान्तरणात्मक परिवर्तन ल्याउन सकिने विश्वास गरिएको छ । लैंगिक हिंसाका पीडक तथा सम्भाव्य पीडकको भुमिकामा प्रस्तुत हुने होइनकी लैंगिक समानता कायम गर्न पुरुष तथा किशोरहरुको सकारात्मक भुमिकालाई अभिवृद्धि गर्नु पर्दछ भन्ने मान्यता अगाडि आएको छ । यस्तो सकारात्मक भुमिकाले हिंसाको रोकथाम हुने मात्रै होईन पुरुष तथा यूवाहरुको जिवनमा पनि सुधार ल्याउँछ । खासगरी पुरुषत्वका हानिकारक पक्षहरु तथा सिमा बन्धनवाट मुक्त गराउँछ । हिंसा रोकथामको रणनीतिहरुले हिंसालाई प्रश्रय दिने खालका विश्वासहरु तथा मुल्यमान्यताहरुलाई ईन्कार गर्ने मात्रै होइन तिनलाई चुनौती दिनु पर्छ । खासगरी हिंसाको वलमा परिपोषित हुँदै आएको पितृसत्तात्मक शक्ति सम्बन्धलाई कमजोर पार्ने तर्फ लक्षित हुन्ु पर्छ ।
लैंगिकतामा आधारित हिंसालाई रोकथाम गर्ने सवालमा पुरुषले धेरै भुमिकाहरु निभाउन सक्तछन । उनीहरु निति निर्माण गर्ने निर्णायक ठाउँ देखि लिएर परिवारको मु्लीसम्मका जुनजुन हैसियतमा छन त्यहाँ उनीहरुले रचनात्मक भूमिका खेल्न सक्तछन । परिवार तथा समुदायको सदस्यको हैसियतले तिनिहरुले पिडकलाई हिंसा गर्नवाट रोक्न सक्तछन । पीडित तथा तिनका आश्रितहरुलाई सहयोग गर्न सक्तछन । लैंगिक समानताका सन्दर्भमा अभियन्ताको रुपमा आफुलाई स्थापित गरेर समुदायका अन्य सदस्यहरुलाई त्यस तर्फ उत्प्रेरित गर्न सक्तछन् । यस्ता पुरुषहरुले आफुभन्दा फरक पृष्ठभुमि, जिवनशैली, सांस्कृतिक परिवेश तथा लैंगिक पहिचानका व्यक्तिलाई सम्मान गरुन, पारस्परिक सम्मान, समता तथा सम्मानमा आधारित लैंगिक सम्बन्धमा विश्वास गरुन, समानताको आधारमा प्रजनन सम्बन्धि निर्णय लिने, जिवनसाथी तथा संगी वा अन्य कसैउपर लैंगिकताका आधारमा हिंसा तथा विभेद नगरुन, हिंसाको प्रयोग तथा हिंशा माथीको उनिहरुको विश्वास हटोस, अभिभावकिय तथा घरायसी जिम्मेवारीमा साझेदारी गरुन, अरुका अधिकारहरु प्रति सम्मान गर्नु, अरुलाई पीडा नदिनु एउटा वास्तविक पुरुषको गुण हो भन्ने सम्झिउन तथा आफ्ना भावनाहरुलाई खुलस्त पोख्न सकुन ।
विश्वव्यापि रुपमा नै वयस्क तथा प्रौढ पुरुषहरु नै लैंगिकतामा आधारित हिंसामा संलग्न भएको पाईन्छ । साथै परम्परागत लैंगिक पूर्वाग्राही सोंच तथा नकारात्मक पुरुषत्वको प्रभावका कारण उनीहरुले आफुलाई पनि विभिन्न जोखिममा पारिरहेका हुन्छन । जस्तै वास्तविक पुरुष वा मर्द भनेको यस्तो व्यक्ति हो जो आकर्षक हुन्छ, शासकीय प्रकृतिको हुन्छ, आक्रामक तथा यौनिक हिसावले शसक्त हुन्छ भन्ने आम सामाजिक धारणा रहि आएको पाईन्छ । उनीहरुलाई पीडक वन्नवाट र पीडित हुनवाट जोगाउन उनीहरुमा जागृति सृजना गराएर सकारात्मक भुमिकाको प्रवद्र्धन गर्नू जरुरी छ । दुव्र्यसन, आत्महत्या, तथा अवान्छित कृयाकलापमा संलग्न हुनुको पछाडी उनिहरुलाई परिवारमा कस्तो वातावरण दिएर हुर्काईएको हु्न्छ भन्नेमा पनि निर्भर गर्दछ । हामीले वालवालिकाहरुलाई कसरी हुर्काएका छौ त्यसै अनुसार उनीहरुको आनीबानी बसेको हुन्छ । लागेको बानीब्यहोरा र आचरणलाई एकाएक परिवर्तन गर्नु अप्ठ्यारो कुरा हो तर परम्परागत पुरुषत्वका कतिपय नकारात्मक पक्षहरुलाई परिवर्तन गर्दै जानु अपरिहार्य हुन्छ । मद्यपान, धुम्रपान तथा लागु औषध दुव्र्यसन तथा जोखिमपूर्ण यौनिक व्यवहारहरु धारणा गर्नुलाई पनि पुरुषत्वको स्वभाविक परिणतीको रुपमा हेर्ने गरिएकाले यस्ता गलत धारणाहरुलाई चिर्दै लिंगका आधारमा हुने हरेक खोले हिंशा रोकथाममा पुरुषको सहभागिता बढाइनु पर्दछ । नारामा मात्र होइन ब्यवहारीक रुपमै त्यसलाई कार्यान्वयनमा ल्याइनु पर्दछ ।
विभिन्न हैसियतमा रहेका पुरुषहरु तथा सरोकारवाला व्यक्तिहरुले लैंगिक हिंशा अन्त्यमा सकारात्मक भुमिका खेल्न प्रेरित गर्नमा पुरुषहरुको सहकारात्मक भुमिका खेल्न सक्दछन् । पुरुषत्व तथा पितृसत्तामा आधारित लैंगिक मान्यताहरुलाई चुनौती दिन पुरुष तथा यूवाहरुको भुमिका अहम हुनु पर्दछ । वैयक्तिक विश्वासहरु, धारणा तथा प्रवृतिहरु तथा व्यवहारहरुलाई रुपान्तरण गरेर समतामुलक लैंगिक सम्बन्ध विकास गर्ने कार्यमा सबैको सहकारात्मक योगदान पु¥याउनु पर्दछ । पुरुषत्व, पितृसत्ता, स्थापित लैंगिक सम्बन्ध तथा तिनिहरुको हिंशासंग सम्बन्ध रहने भएकाले यो कुराको जनचेतना फैलाईनु पर्दछ । लैंगिक शक्ति सम्बन्धहरुलाई मलजल गर्ने खालका राजनैतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक संरचना तथा पद्दत्तीहरुलाई पहिल्याउन पर्दछ ।
लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (आ.व. २०६९÷०७०–२०७३÷०७४)ले लैंगिकतामा आधारित हिंशा अन्त्यका प्रयासहरुमा पुरुष तथा यूवाहरुको भुमिका महत्वपूर्ण हुने बताएको छ । हिंशा विरुद्ध “शून्य सहनशीलतालाई प्रवद्र्धन गर्दै लैङ्गिक समानता र महिला तथा बालिका विरुद्ध हुने हिंसाप्रति शून्य सहनशीलता सम्बन्धी सन्देश र सुनियोजित हस्तक्षेप सहित पुरुष तथा युवाहरूलाई सहभागी गराउने साझेदार र परिवर्तनको संवाहकका रूपमा सक्रियरूपमा संलग्न गराउने” उदेश्य राखेको छ । यसलाई महत्वपुर्ण रुपमा लिन सकिन्छ । पुरुष तथा यूवाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु पर्ने व्यवस्था गरिएको छ । गरी व्यवहारमा पनि सहभागिता दिनानुदिन वृद्धि हुँदै गएको छ । फेसवुक तथा सामाजिक सञ्जालका यूवा तथा पुरुष प्रयोगकर्ता हरुले त्यस्ता सञ्जाललाई प्रयोग गरेर लैंगिक हिंसा विरुद्ध शसक्त आवाजहरु उठाउन सकेमा यसले लैंगिक हिंशा रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।
नेपालमा लैंगिक हिंसा रोकथाममा धेरै राम्रो कानून भए पनि कार्यान्वयमा समस्या रहेको छ । प्रभावकारी कार्यान्वयन भएन भने राम्रो कानूनको अर्थ हुँदैन । न्यायको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायको सहकार्य र प्रभावकारी भूमिकाले मात्र पीडितको न्यायमा पहुँच पुग्ने भएकाले यस तर्फ सरोकारवालाको ध्यान पुग्न जरुरी छ । (लेखक अधिवक्ता हुन्)