हवाई यात्रामा हैरान यात्रु

हवाई यात्राका लागि पुग्ने यात्रुहरु पूर्व जानकारी विना नै उडानहरुमा ढिलाई हुँदा घण्टौ विमानस्थलमा कुर्न बाध्य भैरहेका छन्

सहज आरामदायी, दु्रत गन्तव्य पुग्नका लागि हवाई यातायात चुन्ने गरिन्छ । तर, पछिल्ला दिनमा हवाई यात्रा पट्यारलाग्दो बन्दै गैरहेको छ । विमानको प्रतिक्षामा विमानस्थल पुगेर घण्टौंसम्म उडानको प्रतिक्षा गर्नुपर्दा यात्रुहरुले हैरान हुनु परिरहेको हो । जहाज डिलेको हुँदा यात्रुहरुले विरोध गर्दै आएका छन् । तर, क्षतिपूर्तिको दाबी गर्दै कतै उजुरी भने गर्दैनन् । ढिलाई गर्दा पनि कुनै क्षति ब्यहोर्न नपरेकाले पनि सेवाप्रदायकले लापरवाही गरिरहेको आरोप यात्रुहरुले लगाउँदै आएका छन् ।


नेपालगन्जका सुरेन्द्रद्विप कार्की आइतबार काठमाडौं उड्नका लागि समयमै विमानस्थल पुगे । तर, ६ः२० मा उडान भर्ने भनेको यति एयरलाइन्सको विमानले निर्धारित समयभन्दा डेढ घण्टा ढिलो उडान भर्यो । ‘काठमाडौं स्थित गन्तव्य पुग्दा राती १० बजिसकेको थियो’, कार्कीले भने । गन्तव्यमा पुगेपछि कार्कीले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेका छन्, ‘१० बजे राती पनि नेपालगन्जबाट काठमाडौं आउन सकिने भो, बन्ने भो महानगर टाइपको ।’
नेपालगन्ज विमानस्थलका अनुसार, पछिल्ला दिनमा दैनिक जसो निर्धारित उडानहरु तोकिएको समय भन्दा ढिलो उडिरहेका छन् । उडानमा ढिलाई हुँदा यात्रुहरुले टिकट क्यान्सिल गरेर घर समेत फर्किने गरेका छन् ।


नेपालगन्ज–१६ बेलासपुरकी कविता श्रेष्ठ गत कार्तिक १४ गते तिहार मनाएर घर फर्किन विमानस्थल पुगिन् । उनलाई ६ बजेर २० मिनेटमा उड्ने भनिएको श्री एयरको विमान साढे आठ बजे मात्र उड्यो । उडानका लागि कविताले मात्र कुर्नु परेन उनलाई लिन एयरपोर्ट पुगेका उनका श्रीमान्ले पनि कुर्नु पर्यो । ‘रातीका बेला एक्लै हिड्न गाह्रो, उडान ढिलो भएपछि श्रीमान्लाई लिन बोलाएकी थिए’, उनले भनिन् । साँझको उडान ‘डिले’ हुँदा काठमाडौं एयरपोर्टबाट गन्तव्य पुग्नका लागि धेरैले सास्ती व्यहोर्नु परिरहेको श्रेष्ठले बताइन् ।


गत शुक्रबार श्रीलाइन्सको ६ बजे उड्नुपर्ने विमान मध्यरातमा नउड्ने निश्चित भयो । समय सार्दै राती १२ बजे उडान गर्ने भनिएपनि काठमाडौं विमानस्थल बन्द भएको भन्दै उडान रद्द गरियो । झण्डै ७० जना यात्रु विमानस्थलमै रातभर अलपत्र परे । भोकै अलपत्र यात्रुहरुले शनिबार विहान ९ बजे बल्ल काठमाडौंका लागि उडान भने । काठमाडौं जान नेपालगन्ज विमानस्थल पुगेका आशुतोष पाठक र अभय शर्मा विमान कुर्दाकुर्दै मध्यरात भएपछि नेपालगन्ज नै फर्किए । अर्कोतिर आइतबार विहानको अर्को उडानमा जानका लागि विहान ७ बजे एयरपोर्ट पुगेपनि निर्धारित समय भन्दा दुई घण्टा ढिलो उडान भयो ।


उडान ढिलाईका कारण हुने समस्याबारे सरोकारवालाहरुले ध्यान पुर्याउन नसकेको नेपालगन्जकी सुप्रिया शर्मा बताउँछिन् । गत महिना असोज २७ गते साढे ६ बजे उड्नु पर्ने यतिको विमान राती सवा ११ मा मात्रै उडेको सम्झदै उनले भनिन्, ‘नयाँ ठाउँमा आएका विदेशी यात्रुको झन् विगोज देख्न सकिन्थ्यो ।’ ‘विमानस्थलमा सुरक्षाचेकजाँच गरी भित्र छिरेपछि हत्तपत्त बाहिर निस्कन दिंदैनन्’, उनले भनिन्, ‘नेपाली यात्रु झगडै गरेर भएपछि नास्तापानी खान बाहिर निस्कन्छन्, विदेशी यात्रु चुपचाप भोकभोकै यात्रु कक्षमा बस्छन् ।’ ‘काठमाडौं विमानस्थल ओर्लेपछि मध्यरातमा भेटिने यातायातका साधनले झन् चर्को भाडा असुल्छन्’, उनले भनिन्, ‘महिलाहरुका लागि झन् सुरक्षाको चिन्ता समेत थपिन्छ ।’


सबैजसो विमान कम्पनीहरुका आन्तरिक उडान पछिल्ला दिनमा निर्धारित समयमा नउड्ने गरेका हुन् । पत्रकार पूर्णलाल चुके महिलाहरुका लागि यसले झन् सास्ती दिएको बताउँछन् । आइतबार बुद्ध एयरबाट काठमाडौं जान लागेका उनी एकघण्टा ढिलो गरी विमान उडेको जानकारी दिए ।


उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले अनावश्यक रुपमा गरिने आन्तरिक उडानको ढिलाईले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारको हनन भएको बताए । ‘प्राविधिक कारण बाहेक अन्य कारण ढिलाई नहोस् भन्नेमा सेवाप्रदायक र सरकार गम्भीर हुनुपर्छ’, गौतमले भने, ‘उडान डिले हुँदा यात्रुको व्यवस्थापनको जिम्मा सेवाप्रदायकले नै गर्नुपर्छ ।’ ‘हवाई यातायातको प्रयोग समयको बचत, आरामदायी यात्रा र हतारमा कही पुग्नुपर्दा गरिन्छ’, उनले भने, ‘त्यसैले उपभोक्ता अधिकारको संरक्षणमा सरोकारवालाहरुको ध्यान पुग्नुपर्छ ।’


पत्रकार चुकेले कुनै कारणवश उडान ‘डिले’ हुँदा त्यसको पूर्व र भरपर्दो सूचना यात्रुहरुले दिने व्यवस्था मिलाउनु पर्ने बताए । ‘बिना सूचना यात्रु रोकिंदा विरोध र आक्रोश थेग्न नसकिने पनि हुनसक्छ’, उनले भने ।


मञ्चका केन्द्रीय सदस्य गौतमले गन्तव्यमा सेवाप्रदायकका कारण गन्तव्यमा ढिलाई हुँदा उनीहरुको सुरक्षा र व्यवस्थापनप्रति सेवाप्रदायकलाई जवाफदेही बनाउन आवश्यक छ ।
विमानस्थल भनेको संवेदनशील स्थान हो । पछिल्ला दिनमा भैरहेका ढिलाईका कारण कतिपय विमानस्थलमा यात्रुहरुले नाराबाजी समेत गर्दै आएका छन् । उडानमा भएको ढिलाई कारण यात्रुहरुले विरोध सुरु गरेपछि वायु सेवा सञ्चालक संघले विज्ञप्ति जारी गरेर कारणहरुबारे प्रष्ट पारेको छ ।


संघले विज्ञप्ति जारी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक उडान चापको कारणले आन्तरिक उडानहरु तोकिएको समयमा हुन नसकेको र कतिपय अवस्थामा उडान नै रद्द गर्नुपरिरहेको बताएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग हुँदा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुका लागि अपनाउनु पर्ने प्रस्थान तथा आगमन कार्यविधि प्रयोग हुँदा आन्तरिक तर्फका वायुयानहरु आकाशै होल्ड गर्नुपर्ने, ग्राउण्डमै होल्ड गर्नुपर्ने अवस्था रहेको’ संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।


नेपालगन्ज, भैरहवा, सिमरा तथा विराटनगर बाहेक तराईका अन्य विमानस्थलमा सुर्योदयदेखि सुर्यास्तभित्र उडान गरिसक्नुपर्ने अवस्था रहेकाले जनकपुर, पोखरा, भरतपुर, चन्द्रगढी तथा धनगढी विमानस्थलका उडानहरु सम्पन्न गर्न वायुसेवाहरुलाई कठिनाई परिरहेको संघले जानकारी दिएको छ । ‘यस परिस्थितिमा वास्तविक कारण बुझाउने क्रममा यात्रु महानुभावहरुबाट कहिलेकाही अनावश्यक दुव्र्यवहारको अवस्था सिर्जना हुने गरेको छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले विमानस्थलमा यथेष्ठ पूर्वाधारको विकास वा अन्य कुनै विकल्पको व्यवस्था नभएसम्म यात्रु वर्गले ‘फ्लाइट डिले’ को समस्या केही समय व्यहोर्नु पर्ने अवस्था रहेको बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया