बाँकेको सीमा सुरक्षा : ६५ किलोमिटरमा ५ वटा पोष्ट

नेपालगन्ज – बाँकेको ६५ किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ । सीमा खुला छ । तर, ६५ किलोमिटर सीमा सुरक्षाका लागि सशस्त्रका ५ वटा मात्रै पोष्ट रहेका छन् । त्यही भारतीय सीमा सुरक्षा बल (एसएबसी)को उपस्थिति भने बाक्लो रुपमा रहेको छ । प्रत्येक १÷२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ ।


भारत सिमानाको बाँके खण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् । भातरतर्फ भने अर्धसैनिक बल, एसएसबीको दह्रो उपस्थिति रहने गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार, नेपाल–भारत सीमाको बाँके खण्डमा साना र ठूला गरी ३ सय बढी सीमा स्तम्भ रहेका छन् । ती मध्ये कतिपय मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् ।


सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नेपालगन्ज भन्सार, कालाबन्जर, गंगापुर, नरैनापुर, सुइया लगायतका ठाउँमा सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरेको छ । ‘हामीले दैनिक रुपमा सीमामा गस्ती गरिरहेका छौं’, गण प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले भने, ‘सीमा स्तम्भहरुको अवस्था नियमित रुपमा अवलोकन गर्दै आएका छौं ।’


सीमामा दुई देशका सीमा सुरक्षाकर्मीहरुको संयुक्त गस्ती समेत बेला–बेला हुने गरेको छ । कतिपय बेला क्षेत्र तोकेर समेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । ‘सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टस्मा छलफल समेत हुने गरेको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘प्रत्येक साता र आवश्यकता अनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।’


सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सीमामा सुरक्षाकर्मीहरुले नियमित गस्ती गरिरहेको बताउँछन् । ‘सीमामा नेपाली सुरक्षाकर्मी अटर्ल छन्’, उनी भन्छन् ।


बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सिमा सुरक्षा सँगै अर्काे युनिटले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रुपमा पनि जिल्लामा परिचालित छ ।

प्रतिक्रिया

प्रतिक्रिया