सावधान नेपालगन्ज ! नेपालकै सबैभन्दा बढी प्रदूषित वायु नेपालगन्जमा

कृष्ण अधिकारी / नेपालगन्ज :
वातावरणीय दृष्टिले नेपालगन्ज जोखिमपूर्ण अवस्थामा देखिएको छ । वातावरण विभागले देशभरका १३ वटा शहरहरुमा वायुको गुणस्तर अनुगमन गर्दा नेपालगन्जमा नेपाल कै सबैभन्दा बढी प्रदूषित वायु देखिएको हो ।


सम्बद्ध कार्यालयका अनुसार, वायु मापन केन्द्रले आफ्नो वरीपरीको क्षेत्रमा रहेको वायुमा प्रदुषणको अवस्थालाई रियल टाइम डाटाका आधारमा रेकर्ड गरेर वातावरण बिभागको सर्भरलाई उपलब्ध गराउछ । आइतवार अर्थात् कार्तिक २४ गते साँझ सवा ७ गरिएको मापनअनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा २०४ माइक्रोग्राम प्रतिक्युविक मिटर रहेको प्रदूषण अनुगमन शाखाले जनाएको छ । ‘यो गतिलो संकेत होइन,’ सम्बद्ध अधिकारी भन्छन् ।


वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युविक मिटरसम्मलाई गुणस्तरिय वायु मानिन्छ । नेपालगन्जको वायुको अवस्था नेपाल मै सबै भन्दा बढी प्रदुषित पाइएको हो । नेपालगन्जको वायुमा धुलोको मात्रा अत्यधिक धेरै पाइएको छ । नेपालगन्जको वायु मापदण्ड भन्दा ५ गुणा बढी प्रदुषित मापन गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय बाँकेको कार्यालय परिसर भित्रै वातावरण बिभागले वायु २०७५ भदौमा वायु माप केन्द्र स्थापना गरेको थियो ।
प्रदुषण बढ्नुका मुख्य २ कारण भारतका विभिन्न शहरमा देखिएको उच्च प्रदूषणको असर र चिसो बढ्नु भएको बिज्ञहरुले बताएका छन । नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका विहार र उत्तर प्रदेशको प्रदूषणको असर नेपालगन्जमा परेको हो ।


धुँवा जति हानिकारक छ वातावरणको लागि धुलो पनि त्यत्ति नै हानिकारक मानिन्छ । बालुवा तथा माटो बोकेर तिब्र गतिमा चल्ने ट्रयाक्टर र टिप्परले सडकमा बालुवा र घुलो झारेर पक्की सडकलाई धुलाम्मे बनाउने गरेका छन ।


नेपालगन्जमा सडक, ढल तथा घरहरु निर्माणका लागि बालुवा, माटो तथा ढुंगा गिट्टीहरु सडकका किनाराहरुमा राखिएकाका कारण सबारी साधनहरु गुड्दा कालोपत्रे सडकमा पनि धुलो उड्ने समस्या धेरै छ । जानकारका अनुसार, नेपालगन्जमा बायु प्रदुषणको मुख्य कारकको रुपमा शहरीको केन्द्र भागमा रहेको औद्योगिक क्षेत्रका उद्योगबाट निस्कने धुँवा रहेको छ ।


नेपालगन्जको शहर वरीपरी रहेको दर्जनौ इट्टा भट्टाबाट निस्कने धँुवाका कारण पनि नेपालगन्जको वायु प्रदुषित हुने गरेको छ । वायु प्रदुषणको प्रत्यक्ष असर सर्बसाधारणको जनस्वास्थ्यमा पर्ने गरेको छ ।
वायु प्रदुषणका कारण श्वास प्रश्वास, छाला र आँखासंग सम्बन्धित धेरै स्बास्थ्य समस्या देखिने र लामो समय सम्म वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्ने मानिहरुमा क्यान्सर सम्म हुन सक्ने भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डेले बताए ।


सडक, ढल लगायतका संरचनाहरु निर्माणका क्रममा सडकका किनाराहरुमा रुखहरु काटिएका कारण पनि नेपालगन्जमा धुलो समस्या धेरै देखिएको हो । नेपालगन्जको मुख्य शहरी क्षेत्रमा रुखहरु निक्कै कम छन । रुखहरु नभएका कारण मुख्य शहरी क्षेत्र उजाड बन्दै गएको छ । अधिकाँश नगरबासीहरुमा नयाँ रुख रोपेर हुर्काउने भन्दा भएका रुखहरु काट्ने प्रबृत्ति धेरै छ ।


नेपालगन्जलाई हरियाली बनाउनका लागि जमुनाहा देखि राझा चौक सम्म रोपिएका बिरुवाहरु पनि उचित हेरचाह र मलजलका कारण राम्रोसंग हुर्कन सकेका छैनन् ।


नेपालगन्जमा बायु प्रदुषणको अबस्था बिकराल बन्दै गए पनि सरोबारवाला निकायको अझै ध्यान जान सकेको छैन ।
प्रदूषणको हिसाबले दोस्रो उच्च प्रदूषण रहेको क्षेत्रका रूपमा सुनसरीको झुम्का क्षेत्र रहेको छ । झुम्कामा आइतबार पीएम २.५ को मात्रा १५७ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया