नेपालगन्ज – नेपाल टेलिभिजनको कोहलपुर प्रशारण केन्द्रले प्रदेश ५ सरकारसँगको सहकार्यमा समृद्ध प्रदेशका लागि वकालत गर्ने भएको छ । त्यसका लागि प्रदेश नम्बर ५ र नेपाल टेलिभिजनबीच विभिन्न कार्यक्रमहरु निर्माण तथा प्रसारणको सम्झौता गरिएको हो ।
आइतवार प्रदेश नम्बर ५ सरकारको कानुन मन्त्रालयसँग महत्वपूर्ण सम्झौता गरिएको नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख विजय कुमार बर्माले जानकारी दिए । मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
‘सम्झौता अनुसार प्रदेश नम्बर ५ का आर्थिक, राजनीतिक, विकास निर्माण, सांस्कृतिक लगायतका गतिविधिहरुलाई समेटेर नेपाल टेलिभिजनले प्रदेश डायरी, समृद्ध प्रदेश, चेतनामुलक सन्देश लगायतका कार्यक्रम निर्माण गरी नेपाल टेलिभिजन कोहलपुरबाट प्रसारण गर्नेछ’, प्रमुख र्माले दैनिक नेपालगन्जसँग भने ।
आइतवार भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले नेपाल टेलिभिजनले सरकार र जनताको बिचमा पुलको काम गर्दे सरकारका कृयाकलापहरु सही तरिकाले जनतासम्म पुर्यापउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल टेलीभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले बिगतदेखि नै प्रदेश ५ सरकारले नेपाल टेलीभिजनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरिएको बताए । प्रदेश सरकारले यसअघिपनि नेपाल टेलिभिजनको कोहलपुर प्रशारण केन्द्रबाट विभिन्न कार्यक्रम प्रशारण गर्दै आएको छ । ‘विगतको निरन्तरता भएपनि थप परिष्कृत हुँदै गएका छौं,’ नयाँ सम्झौताबाट उत्साहित बर्माले भने, ‘यसवर्षदेखि आपसी साझेदारीमा कार्यक्रम उत्पादन र प्रशारणमा जाने सहमति भएको छ ।’