नेपालगन्ज – प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको नियुक्ति संवैधानिक व्यवस्था बमोजिम हुनुपर्ने धारणा राखेकी छन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभामुख तुम्बाहाम्फेले सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन हुनुपर्ने धारणा राखेकी हुन् ।
‘सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ । त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ’, उनले भनिन्, ‘सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ । दलले जतिबेला मलाई सोध्छ, परामर्श छलफलमै के गर्ने भन्ने टुङ्गो लाग्छ ।’
उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभाका सबै सदस्य सभामुख पदका लागि योग्य रहेको धारणा राखेकी थिइन् । उनले भनिन्, ‘प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।’ उनले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताइन् ।
रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताएकी थिइन् ।
उपसभामुख तुम्बाहाम्फेले शनिबार नै सिक्टा सिँचाइ आयोजना अनुगमनका लागि पुगेकी थिइन् । त्यसक्रममा उनले सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनतालाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी थिइन् । सिक्टा सिँचाइ आयोजना २०७७ असार मसान्तभित्र काम सम्पन्न गर्ने म्याद रहेको छ । तर अहिलेसम्म ६० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ ।
उपसभामुख तुम्बाहाम्फेलाई बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले सिक्टा नहर सञ्चालन र सिक्टाबाट बाँकेका जनताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले सिक्टा परियोजनाको प्रगति र समस्याहरुका बारेमा उपसभामुखलाई जानकारी गराउँदै आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको बताएका थिए । उनले सिक्टा सिँचाइ सम्पन्न भएपश्चात अगैयादेखि पूर्वी नहरबाट नौ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ भने पश्चिमी नहरबाट ३३ हजार ७६६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको बताए ।