भारतीय सर्वोच्च अदालतले विवादास्पद धार्मिक स्थल अध्यायाबारे आज शनिबार फैसला दिएको छ । फैसला अघि नै भारत भर सुरक्षा व्यवस्था बढाइएको छ ।
त्यसैक्रममा आज शुक्रबार मध्यरातीदेखि नेपाल–भारत सीमा बन्द गरिएको छ । सीमा नाकामा काँडेतार लगाएर आवातजावत ठप्प पारिएको हो । नेपाली सुरक्षा अधिकारीहरुले शुक्रबार राती एक्कासी सीमा बन्द गरिएको बताएका छन् ।
सुरक्षाको दृष्टिकोणले सीमा बन्द गरिएको भारतीय सुरक्षा अधिकारीले त्यहाँ स्थित सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । एक्कासी सीमा बन्द हुँदा सीमा दुवै तर्फ हजारौं मानिस रोकिएका छन् ।
भारतमा सुरक्षाको दृष्टिकोणले शनिबार स्थानीय विद्यालय र कलेजहरू बन्द गरिएका छन् र अयोध्याको विवादित जग्गामा पुग्ने सडकहरू प्रहरीहरूले कब्जामा लिएका छन् । प्रान्तीय प्रहरी प्रमुख ओमप्रकाश सिंहले रोयटर्स समाचार संस्थालाई बताए अनुसार अदालतको फैसला आउनुअघि सामाजिक सञ्जालहरूमा द्वेष फैलाउने किसिमका सामग्रीहरू राखिन्छन् कि भनेर अनुगमन भइरहेको छ । उनले भने, ‘हामी हिन्दू या मुस्लिमले अदालतको फैसलामाथि सार्वजनिक प्रतिक्रिया दिएको सहने छैनौँ ।’