(बाँकेको अति विकट बघौडाको मटेहियामा हुलाकी सडक बनेसङगै यातायातको सहजै पहुँच बढेको छ । तस्विर ः दैनिक नेपालगन्ज)
नेपालगन्ज – निर्माण अवरुद्ध रहेको हुलाकी सडकको बाँके खण्ड पुनः सुचारु हुने भएको छ । निर्माण सम्झौता अनुसार गत साउन अन्तिमसम्म काम सक्नुपर्ने भएपछि अझै फिल्डमा ३० प्रतिशत काम गर्न बाँकी नै छ ।
नेपालगन्जको पुष्पलाल चोक देखि नरैनापुर गाउँपालिका–१ कटकुईंयासम्म ४४ दशमलव ६ किलोमिटर रहेको हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फाल्गुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भएपनि फिल्डमा भने गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।
निर्माण सम्पन्न गर्ने अवधी सकिएपछि फिल्डमा झन् काम ठप्प रहेको मटेहियाका स्थानीयबासिन्दाले जानकारी दिएका छन् । ‘बन्दाबन्दै सडक रोकियो’, स्थानीयबासीले भने । ठेकेदार कम्पनीले ठेक्का अवधी सकिएपछि थप ६ महिना समय थप गर्नका लागि हुलाकी सडक निर्देशनालय योजना कार्यालय नेपालगन्जमा पहल गरिरहेको छ । गणपतिका प्रमुख तुल्सीराम भण्डारीले तत्काल काम सुरु गर्ने तयारी रहेको बताएका छन् । उनले निर्माण सामाग्री अभाव हुँदा केही समय काम रोकिएको बताए ।
‘मंसिर अन्तिम सातासम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखेर रोकिएको काम पुन सुरु गर्दैछौं’, गणपतिका सहायक व्यवस्थापक इन्द्र बहादुर केसीले भने, ‘कामका क्रममा विभिन्न ठाउँमा भएका विवाद र अवरोधका कारण समयमै काम सक्न सम्भव नभएको हो ।’ उनले निर्माण सामाग्री समेत अभाव, पर्व बिदा, सडक क्षेत्रफलका लागि भएको विवादका कारण काममा ढिलाई भएको प्रतिक्रिया दिएका छन् ।
गंगापुर र फत्तेपुरका केही ठाउँ बाहेक मटेहियासम्म कालोपत्रेको काम भैसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । ‘७०÷७५ प्रतिशत काम सकि सकेका छौं’, गणपतिका सहायक व्यवस्थापक इन्द्र बहादुर केसीले भने ।