नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिकालाई बुधबार मानव सहयोगापेक्षी गाउँपालिका घोषणा गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र नीलसागर सेवाश्रमको समन्वयमा ४ सय ६० गाउँपालिकामध्ये पहिलो गाउँपालिकाको रुपमा खजुरालाई सडक मानवमुक्त घोषणा गरिएको हो । घोषणा अघि गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै बेसहाराहरुको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका हुन् ।
खजुरा गाउँपालिका क्षेत्रभित्र बेसहारा अवस्थामा रहेका ३६ जनालाई उद्दार गरिएकोमा ९ जनालाई नीलसागर सेवा आश्रमको सेवा पश्चात पारिवारीक पुनः मिलन गरेको र २७ जना हाल नीलसागरकै संरक्षणमा रहेका छन् । खजुरा गाउँपालिकामा अब यस्ता व्यक्तिहरु नरहेकोले खजुरालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले बुधबार आयोजित घोषणासभामा जानकारी दिएको थियो ।
खजुरामा ¥यालीपछि आयोजना गरिएको सभामा प्रदेश नं. ५ का सांसद आइपी खरेलले खजुरा गाउँपालिका सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा गरेका थिए । यसअघि भरतपुर महानगरपालिकालाई घोषणा गरी सकिएको छ । उक्त अवसरमा बोल्दै सांसद खरेलले राज्यका हरेक अंग मावनको सेवा गर्ने र मानवलाई सम्मान गर्ने दिशातर्फ अग्रसर हुनु पर्ने बताए ।
खजुरा गाउँपालिका प्रमुख कक्षपतिले वर्षभरी आफ्ना अभिभावकलाई राम्रोसंग पालनपोषण गर्नेलाई सम्मान गरिने, कोही नभएका बेसहारालाई गाउँपालिकाले संरक्षण दिने र अभिभावकलाई अपहेलना गर्नेलाई गाउँपालिकाबाट प्रदान गर्ने सेवामा कटौती गरिने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले बाँके जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने दिशामा आफु लागिरहेको बताए । कार्यक्रममा बोल्दै नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनालले संस्थाले सबैभन्दा ठूलो सेवा मानव सेवा रहेको मान्दै देशका विभिन्न जिल्लामा हाल पनि २३० जनाको संरक्षण गरिरहेको बताइन् । मानव सेवाको पवित्र कार्यमा निरन्तर लागिरहेको नीलसागरलाई खजुराले सम्मान पनि ग¥यो । घोषणासभा सुरु हुनु अघि खजुराको धनौलीबाट सुुरु भई विभिन्न सन्देशमुलक प्ले कार्ड र नौमती बाजासहितको ¥याली गाउँपालिका परिसर पुगेको थियो ।