प्रयोगविहीन घुम्ती शौचालय

नेपालगन्ज
नेपालगन्ज सहर मध्य तथा सुदूरपश्चिम क्षेत्रकै प्रमुख सहरका रुपमा गनिन्छ । धार्मिक, आर्थिक, औद्योगिक, पर्यटकीय र व्यापार व्यवसायको दृष्टिकोणले नेपालगन्ज सहर महत्वपूर्ण सहर मानिदै आएको छ । मध्य तथा सुदुर–पश्चिम क्षेत्रकै व्यापारिक एवं शैक्षिक केन्द्रविन्दुको रुपमा नेपालगन्ज सहरलाई लिने गरिन्छ ।


बाँके जिल्लाकै सबै भन्दा पुरानो पालिकाको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाले बिभिन्न विशेषता बोकेको छ । बिभिन्न किसिमले पछिल्लो समय ब्यवस्थित र विकसित बन्दै गएको नेपालगन्ज उपमहानगरपालिकाकाले बिभिन्न खालका समस्याहरुको सामना समेत गर्दै आएको छ । मान्छेहरुको अत्याधिक चाप तथा भिडभाड हुने नेपालगन्ज सहरमा पछिल्लो समय सार्वजनिक शौचालय ब्यवस्थापनमा समस्या देखिएको छ । बिगत लामो समयदेखि नै सार्वजनिक शौचालय ब्यवस्थापनको विषयमा आलोचना खेप्दै आएको नेपालगन्ज उपमहानगरपालिका सार्वजनिक शौचालयको अभावलाई ब्यवस्थापन गर्न बिभिन्न महत्वकाँक्षी योजनाका साथ अगाडि बढेपनि सफल भने हुन सकेको छैन ।


नेपालगन्ज उप–महानगरपालिकाको बिभिन्न क्षेत्रमा गरि १३ वटा सार्वजनिक शौचालय निर्माण भएको भएपनि मुख्य बजार तथा चोकहरूमा सार्वजनिक शौचालयको अभाव कायमै छ । ग्राहक तथा यात्रुहरुको बढी भिडभाड हुने यहाँका मुख्य बजार तथा चोकमा सार्वजनिक शौचालय नहुँदा समस्या उत्पन्न हुने गरेको स्थानीयहरु बताउँछन् । नेपालगन्ज सहर भित्र रहेका १३ वटा सार्वजनिक शौचालयहरु पनि सबै चालु अवस्थामा छैनन् ।


नेपालगन्जको सार्वजनिक शौचालयको अभाव तथा आवश्यकतालाई पूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाख बराबरको लगानीमा ४ वटा घुम्ती शौचालय खरिद गरि संचालनमा ल्याएको थियो । तर अहिले ती घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा थन्क्याइएका छन् । सुरुवातका केही महिना मुख्य चोकहरुमा सञ्चालनमा राखिएका घुम्ती शौचालयहरु मध्ये ३ वटा शौचालय हाल जिल्ला समन्वय समिति बाँकेको कार्यालय पछाडी थन्क्याइएका छन् ।


४ वटाको ३ महिनाको ७२ हजारमा सरसफाइकर्मी भानु भट्टलाइ ठेक्कामा दिएर संचालनमा आएका घुम्ती शौचालयमा मान्छेहरु शौच गर्नै नआएको तथा शौचालय प्रयोग गरेबापत पैसा तिर्न नमानेका कारण ठेक्का घाटामा गएको भन्दै ठेक्कामा लिएको ब्यक्तिले छोडेपछि शौचालय प्रयोग बिहीन भई थन्क्याइएको उपमहानगरको भनाइ छ ।
४ वटा शौचालय मध्ये १ वटा भने केही समयदेखि पुष्पलाल चोकमा संचालनमा रहेको नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखाका अशोक केसीले बताए । ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेबापत निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो’, केसीले भने, ‘शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदारले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका हुन् ।’ ‘पछिल्लो समय सबै ब्यवस्थापन पालिकाले गर्ने गरि शौचालयको रेखदेख गर्ने र उठेको रकम सबै लिने गरि जिम्मा दिन खोजेको भएपनि कसैले जिम्मा लिन नमानेको र १ वटा मात्रै पुष्पलाल चोकमा सञ्चालन गर्न सकिएको छ,’ उनले भने ।


खुला शौचको समस्या हटाउन सार्वजनिक शौचालय नभएका चोकहरुमा उपमहानगरपालिकाले घुम्ती शौचालय राख्ने गरेको थियो । घुम्ती शौचालय सञ्चालनमा आएपछि नेपालगन्ज उपमहानगरपालिकाले सुरुवातका दिनहरुमा खुबै प्रसंशा पाए पनि अहिले ति स्थानहरुमा पुरानै समस्या दोहोरिएको छ । जिल्लाका विभिन्न स्थान तथा बाहिरी जिल्लाबाट बिभिन्न कामका लागि आउने ग्राहक, यात्रु तथा सेवाग्राहीलाई शौच गर्न समस्या भएको स्थानीयहरुको भनाइ छ । नेपालगन्ज बजार क्षेत्रमा घुम्ती शौचालय बाहेक १३ वटा अरु शौचालय भएपनि मुख्य चोकहरुमा भने शौचालयको समस्या छ ।
मान्छेहरुको बढी भिड लाग्ने त्रिभुवनचोक, बिपीचोक, पुष्पलालालचोक, गणेशमान चोक, न्युरोड लगायतका स्थानमा सार्वजनिक शौचालय छैनन् । चोकमा शौच गर्न नपाएर ग्राहक तथा पैदलयात्रीहरू शौचालय खोज्दै होटेलमा पुग्नुपर्ने गुनासो गर्छन् ।

धम्बोझी चोकमा भने नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । धम्बोझी चोकमा सार्वजनिक शौचालयको अभाव समाधान भएपनि अन्य स्थानहरुमा भने समस्या छ । बजार क्षेत्रमा सार्जजनिक शौचालय निर्माण गर्ने उपयुक्त जग्गा नहुँदा शौचालय सञ्चालन गर्न नसकिएको वातावरण तथा सरसफाइ शाखाका अशोक केसीको भनाइ छ । खुल्ला दिशा मुक्त घोषण भइसकेको उपमहानगरपालिकाको बजार क्षेत्र बाहेकका अन्य कुनै पनि वडामा सार्वजनिक शौचालय छैनन् । सार्वजनिक शौचालयको आवश्यक्तालाई मध्येनजर गर्दै एउटा वडामा एउटा सार्वजनिक शौचालयको अवधाराण अघी सारिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।


घुम्ती शौचालय बाहेकका नेपालगन्ज बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालय मध्ये ३ वटा शौचालय अहिले प्रयोगविहीन भइ बन्द भएका छन् । नेपालगन्जको बागेश्वरी मन्दिर नजिकको शौचालय, दैलखी बंगला र नेपालगन्ज उपमहानगरपालिका कार्यालय संगै जोडिएको सार्वजनिक शौचालय लामो समयदेखि प्रयोग विहीन बनेको छन् । सार्वजनिक शौचालयमा रकम तिर्नुपर्ने भन्दै मान्छेहरुले शौचालयको प्रयाग गर्नै छाडेको भन्दै ठेकेदारले छोडपछि बन्द भएको नेपालगन्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित वागेश्वरी मन्दिरको दक्षिण तर्फ, दैलेखी बंगला र उपमहानगरपालिका कार्यालयसंगै रहेका पक्कि सार्वजनिक शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन बनेका हुन् ।

सार्वजनिक शौचालयमा ताला

नेपालगन्जको चर्चित धार्मिक स्थल बागेश्वरी मन्दिर नजिकै रहेको सार्वजनिक शौचालयमा लामो समय देखि ताला झुन्डिएको छ । बागेश्वरी मन्दिरमा पुजा आजा गर्न जाने र त्यो बाटो आवत जावत गर्ने ब्यक्तिहरुलाई सौच गर्न सहजताका लागि नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक सौचालयमा ताला लागेपछि पुजा गर्न जाने भक्तजन देखि त्यो क्षेत्रका ब्यापारीहरुलाई सौच गर्न समस्या उत्पन्न भएको छ ।


मानिसहरुको अत्याधिक भिडभाड हुने सार्वजनिक स्थानमा रहेको सार्वजनिक शौचालय बन्द हुँदा धेरै समस्या भएको स्थानीयहरु बताउँछन् । पबित्र धार्मिक स्थलमा रहेको सार्वजनिक शौचालय बन्द भएपछि शौच गर्न टाढा दौडिनुपर्ने अवस्था सिर्जना भएको स्थानीयहरुको भनाइ छ । जनताकाहरुको सहजताको लागि ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण हुनु राम्रो कुरा हो र त्यो आवश्कता पनि हो । बिडम्बना नेपालगन्ज नगर भित्र प्रायाप्त मात्रामा सार्वजनिक शौचालय नहुंदा सर्बसाधारण नागरिकहरले समस्या भोक्नु परेको छ भने भएका शौचालयको पनि सरसफाई र ब्यवस्थापन हुन नसक्दा समस्या माथि समस्या थपिएकोछ ।


विभिन्न ठाउँहरुबाट पुजा पाठ गर्न बागेश्वरी मन्दिर आउनेहरु सार्वजनिक शौचालयमा ताला लगाएको देखेपछि खुल्ला ठाउँहरुमा पिसाब गर्न जान बाध्य हुनुपरेको बागेश्वरी मन्दिर नजिकै चिया पसल गरिरहेका पूर्ण श्रेष्ठले दैनिक नेपालगन्जसंग भने । पहिले ‘शौचालय प्रयोग अवस्थामा हुँदा सबैलाई सजिलो थियो अहिले बन्द हुँदा सौचालय खोज्दै जानुपर्ने हुन्छ,’ उनले भने । शौचालय ब्यवस्थित नहुँदा प्रयोगमा आएको भएपनि अहिले ब्यवस्थित गरिदा बन्द भएको उन्ले बताए । मान्छेको बढी चाप हुने स्थानमा सुबिधाको लागि बनाइएको शौचालयमा ताला झुण्डिदा भक्तजनहरु खुल्ला ठाउँमै शौच गर्न बाध्य बनेका छन् ।


फरकफरक ठाउँहरुबाट बागेश्वरी मन्दिर आउने भक्तजन, बजारमा किनमेल गर्न जाने ग्राहक, व्यापारी, सर्वसाधारण तथा स्थानीयबासीहरु सार्वजनिक शौचालय प्रयोग बिहिन हुँदा दिशा, पिसाब चेपेर पनि बस्नु परेको गुनासो गर्छन् । सार्वजनिक सौचालयमा ताला लागेको देखेर भक्तजन तथा ग्राहकहरु सौचालय खोज्दै पसलहरुमा आउने गरेको स्थानीय ब्यापारी प्रिया गुप्ताले बताइन् । महत्वपूर्ण स्थानमा रहेको उक्त शौचालयको ब्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताउदै गुप्ताले भनिन् ‘कुनै काम बिशेषले बागेश्वरी मन्दिर आउने ब्यक्तिहरुका लागि शौच गर्नको लागि शौचालयको राम्रो व्यवस्था नहुँदा सर्वसाधारणलाई धेरै असहज हुने गरेको छ, सौचालय भएको भएपनि प्रयोगविहीन छ ।’


नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख प्रकाश डिसीले सौचालय अस्तब्यस्त भइ दुर्गन्धित बनेपछि बन्द गर्नुपरेको बताए । उपमहानगरपालिकाले शौचालयको ब्यवस्थापन तथा संचालनको सम्पुर्ण जिम्मेवारी वडा नं. २ लाई दिएको जानकारी गर्दै वडा कार्यालयले ठेक्कामा दिएर संचालन गर्ने उनको भनाइ छ ।
वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालले केही समय पहिले उपमहानगरपालिकाले निर्णय गरि शौचालय सञ्चालनको जिम्मेवारी वडालाई दिएको बताए । वडाले जिम्मेवारी पाएपछि ठेक्काको लागि सूचना निकालेको भएपनि सम्पर्कमा कोही नआएपछि सञ्चालनमा ल्याउन नसकिएको हमालको भनाइ छ । सार्वजनिक शौचालय उपयुक्त स्थानमा नहुँदा ठेक्का लिन कसैले नमानेको भन्दै अबको पालिकाको बोर्ड बैठकमा यो विषयमा छलफ गरिने उनले बताए । ‘फोहर तथा दुर्गन्धित अवस्थामा रहेको शौचालयलाई ब्यवस्थित बनाइएको बताउदै अब चाँडै सञ्चालनमा ल्याउनका लागि छलफल हुनेछ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया