म प्रधानमन्त्री भएँ भने…

नेपालगन्जको अपेक्षा पूरा गर्न प्रचण्डको आश्वासन


देबेन्द्र पौडेल/ नेपालगन्ज:

उनका कुराले लाग्थ्यो, उनी ‘वेटिङ्ग प्राइम मिनिष्टर’ हुन् । मंगलबार पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालगन्ज उद्योग वाणिज्य संघको स्वागत, सम्मानमा प्रष्टसँग भने, ‘अब ढिलो छिटो पछि कहिल्यै म फेरि प्रधानमन्त्री भए भने यी सबै कुरा पूरा गर्नेछु ।’ व्यवसायीहरुको मागका बारेमा सुनेर पूर्व प्रधामन्त्री प्रचण्डले आफ्ना भनाइ राख्ने क्रममा फेरि प्रधानमन्त्री हुने सम्भावना व्यक्त गरेका हुन् ।


कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जको व्यवसायिक क्षेत्रका समस्या र संघीयता पछि परेका प्रभावहरुको बारेमा पूर्व प्रधानमन्त्री प्रचण्डको ध्यानकर्षण गराएका थिए । संघ अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव अजय टण्डनले संघका तर्फबाट ७ बुंदे ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले संघले यसअघि नेपालगन्ज आउँदा व्यक्त गरेका प्रतिबद्धता र विचारहरु ताजा बनाएको बताए ।

‘नेपालगन्ज आउँदा व्यक्त गरेका विचार र प्रतिबद्धता र आश्वासन स्मरण गराउनु भएको छ, ताजा रुपमा मेरो जिम्मेवारी बढाउनु भएको छ’, नेकपा अध्यक्ष प्रचण्डले भने, ‘ती प्रतिबद्धता र आश्वासनहरु पूरा नहुँदा सम्म निरन्तर अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालगन्ज कमजोर हुनुहुँदैन भन्ने मान्यता आफ्नो रहेको बताएका थिए । ‘नेपालगन्ज नेपालको राजनीतिक परिवर्तनको ऐतिहासिक केन्द्र हो’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालको आर्थिक विकासको पहलकर्ता नेपालगन्ज नै थियो ।’


संघीयता पछि नेपालगन्जको अवस्था खस्कदै गएको भन्ने व्यवसायीहरुको चिन्ताप्रति अध्यक्ष प्रचण्डले भने, ‘नेपालगन्जलाई कसैले कमजोर पारेर कमजोर हुने स्थितिमा छैन ।’ उत्तर–दक्षिण ठूलो रोड बन्ने बित्तिकै नेपालगन्ज फेरि व्यापारिक केन्द्र, पर्यटकको केन्द्र, कैलाश मानसरोवर जाने मूल ढोका नेपालगन्ज नै हुने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले त्यसका लागि हिल्सा–सुर्खेत सडक चौडा बनाउने कुरा चिनसँग भैरहेको बताए । उनले रेल्वे लगायत यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने थुप्रै विषयमा भारतसँग सहमति भएको पनि कार्यक्रममा उल्लेख गरेका थिए । ‘धेरै चिन्तित हुनुपर्ने स्थिति नेपालगन्जको होइन’, अध्यक्ष प्रचण्डले भने ।


‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने विषय धेरै अगाडि बढिसकेको छ, लुम्बिनीको गौतमबुद्ध एयरपोर्ट क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने तयारीमा रहेको छ’, नेकपा अध्यक्ष प्रचण्डले भने, ‘अहिले सरकारसँग नेपालगन्जमा त्यही स्तरको विमानस्थल बनाउनु पर्छ भन्ने बारेमा छलफल भैरहेको छ, त्यसका लागि मैले पहल गरिरहेको विश्वास दिलाउन चाहन्छु ।’


एयररुटका बारेमा भारतसँग छलफल भैरहेको बताउँदै अध्यक्ष प्रचण्डले भारतसँग त्यसका लागि सैद्धान्तिक सहमति भएको उल्लेख गरे । उनले एउटा रुट नेपालगन्ज हुनसक्ने सम्भावना पनि औंल्याए । ‘नेपालगन्ज–दिल्ली एयर सञ्चालनको अपेक्षालाई ध्यान दिंदा निकट भविष्यमा त्यो प्रक्रिया अगाडि बढ्ने मैले विश्वास लिएको छु’, उनले भने ।
संघले बुझाएको सात बुंदे अनुरोध पत्रका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुलाई राखेर पूरा गर्न अनुरोध गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएका थिए ।


कार्यक्रममा संघका उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्वागत गर्दै संघीयता पछि नेपालगन्जको व्यवसाय खस्कदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा नेता ओनसरी घर्ती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

महानगरको सम्भावना


नेपालगन्जलाई उपमहानगरपालिकाबाट विकास गरेर महानगरपालिका बनाउने सम्भावना रहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
अध्यक्ष प्रचण्डले नेपालगन्ज–कोहलपुर जोडिएर एउटै सहर बन्ने प्रक्रियामा अगाडि बढेको छ । नेपालगन्ज–कोहलपुरका बीचमा उद्योगहरु स्थापना भएको उल्लेख गर्दै प्रचण्डले अझ धेरै संरचना विकास हुने स्थिति रहेको बताए ।

सभागृह बन्छ


पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालगन्जमा राष्ट्रिय स्थलको प्रदर्शनी स्थल बनाउनका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । व्यवसायीहरुले भोगाधिकार पाएको जग्गा समेत मन्त्रीपरिषद्को निर्णयबाट खोसिएको गुनासो गरेपछि पूर्व प्रधानमन्त्री प्रचण्डले सभागृहका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यवसायीहरुसँग जनाएका हुन् ।


‘म प्रधानमन्त्री हुँदा प्रदर्शनी केन्द्र र सिटी हल बनाउनका लागि निर्णय गरेर जग्गाको भोगाधिकार दिएको हो’, अध्यक्ष प्रचण्डले भने, ‘दुर्भाग्यवश त्यो खारेज भएको थाहा नै भएन ।’ उनले मन्त्रीपरिषद्को निर्णय लगत्तै प्रधानमन्त्रीलाई भेटेर भोगाधिकार फिर्ता लिने निर्णय ठिक नभएको भन्दै निर्णय पुनः स्थापित गर्न ध्यानाकर्षण गराएको बताए । ‘भोगाधिकार दिन प्रधानमन्त्री सहमत हुनुहुन्छ’, उनले भने, ‘सकेसम्म निर्णय सच्याउन मेरो पहल हुनेछ ।’

सबैको पहुँच हुने ठाउँमा राजधानी


अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी सबैलाई सहज हुने र सबैको निम्ति सुविधा हुने ठाउँमा तोकिनु पर्ने धारणा राखे । उनले भने, ‘त्यसका लागि पहलकदमी भैराखेको छ ।’ उनले प्रदेश राजधानीका लागि सैद्धान्तिक सहमति भैसकेको खुलासा गर्दै त्यसलाई व्यवहारिक रुप दिन मात्रै बाँकी रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया