बाँकेमा भ्रमण बर्षको नारा मात्रै

देबेन्द्र राज पौडेल / नेपालगन्ज :
भ्रमण बर्ष सुरु हुन अब दुई महिना मात्रै बाँकी छ । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, बाँकेमा नारा बाहेक ठोस कुनै पनि गतिविधि भ्रमण बर्षका लागि सञ्चालन भएका छैनन् । बाँके गरिने स्थानीय तहका कार्यक्रम लगायत केही औपचारिक कार्यक्रमका ब्यानरमा भ्रमण बर्षको लोगो भने देखिन्छ । तर, पर्यटक आकर्षण गर्ने, त्यसलाई प्रवद्र्धन गर्न कुनै पनि कार्यक्रम भने हुन नसकेका हुन् ।


जिल्लामा पर्यटकीय स्थल नभएका भने होइनन् । तर, त्यसको प्रवद्र्धन गरी बाह्य पर्यटकलाई लोभ्याउने कुनै पनि योजना कुनै पनि तहका सरकारले बनाएका छैनन् । ‘पर्यटन बर्षको नारा मात्रै नारा नहोस्’, पर्यटन बर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले भन्छन्, ‘यसलाई सार्थक बनाउन बृहत योजना आवश्यक रहेको छ ।’
‘सरकारले पर्यटन बर्षमा २०२० मा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरुलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन हुनुपर्छ’, पर्यटन बर्ष २०२० का प्रदेश समिति सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ भन्छन् ।


सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना सफल बनाउन दैनिक साढे ५ हजारदेखि ६ हजारको वरिपरी पर्यटक भित्र्याउनु पर्ने हुन्छ । त्यो लक्ष्य पूरा गर्न बाँकेमा भने त्यसको तयारी भने रहेको पाइँदैन ।


नेपालमा आर्थिक बर्ष २०७५÷७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । पर्यटन व्यवसायी सरकारको तयारी कम नभएकोले लक्ष्य हासिल गर्नेमा शंका व्यक्त गर्दछन् । ‘दुई महिना पनि बाँकी छैन, पर्यटन बर्ष कर्मकाण्डी जस्तो मात्रै नहोस्’, होटल व्यवसायी संघका पूर्व अध्यक्ष भाष्कर काफ्ले भन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठ नेपालमा प्रशस्त पर्यटकीय पूर्वाधार रहेकाले २० लाख पर्यटक भित्र्याउन सम्भव भएपनि पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधार विना भने सम्भव नहुने बताउँछन् ।


पर्यटन व्यवसायीहरु सरकारले देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम सरकारकै कारण ओझेलमा पर्ने त होइन भन्नेमा आशंकित छन् । ‘भ्रमण बर्षमा आउने पर्यटकका लागि सरकारी स्तरबाट लोभ्याउने स्किम छैन’, होटल व्यवसायी काफ्ले भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया