विद्युतमा हट्दै भारत भरोसा,आन्तरिक उत्पादन बढ्यो

चुवाहट नियन्त्रण र आन्तरिक उत्पादन बढ्यो

देबेन्द्र राज पौडेल/ नेपालगन्ज :
नेपालगन्जको विद्युतलाई सधै भारत भरोसे भनिन्थ्यो । विगतका बर्षहरुमा भारतबाट कुनै पनि कारणले विद्युत आउन कमी हुने वित्तिकै नेपालगन्जले लोडसेडिङ्ग व्यहोर्नु पथ्र्यो । तर, अब भने त्यो भनाइ परिवर्तन हुने भएको छ । भारतबाट १०÷११ एमभिए सम्म विद्युत नेपालगन्जका लागि आउँथ्यो । अहिले त्यो परिणाम आधा घटिसकेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख लखनलाल मलिकले बताएका छन् ।

स्थानीयबासी, उद्योगी, व्यवसायी र राजनीतिक दलको पहलमा नेपाली प्रसारण लाइनसँग नेपालगन्जको विद्युत प्रसारणलाई जोडिए पछि विद्युत आपूर्ति सहज हुँदै गएको हो । हाल नेपाली विद्युत उपयोग गरेपछि आवश्यक परे सम्झौता गरे अनुसारको मात्रै भारतको विद्युत प्रयोग गरिन्छ । नेपालगन्जमा आपूर्ति बढ्दै जाँदा होस् वा भारतबाट केही एमभिए विद्युत कम आउँदा होस्, नेपालगन्जबासी अन्धकारमा बस्नुपर्ने अवस्था अन्त्य हुँदै गएको प्राधिकरणको दाबी छ । नेपालगन्जमा औद्योगिक क्षेत्रमा विद्युतको कमी हुन नदिन छुट्टै औद्योगिक फिडर पनि सञ्चालनमा रहेको छ ।

नेपालगन्जमा विद्युत चुवाहट नियन्त्रण, राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि प्राप्त आन्तरिक विद्युतका कारणले नेपालगन्जको विद्युतमा भारतको भरोसा घट्दै गएको बताउँछन् नेपालगन्ज विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका पूर्व प्रमुख रामदुलार यादव । ‘नेपालको विद्युतको आन्तरिक उत्पादन बढेको छ, स्वदेशी विद्युत खपत नै सरकारको प्राथमिकतामा छ’, हाल विद्युत प्राधिकरण ललितपुरमा कार्यरत यादवले भने ।

जाडोको समयमा विद्युतको समस्या नहुने नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । अब गर्मीमा पनि प्राविधिक बाहेक नेपालबाट आपूर्ति हुने विद्युतका कारण आपूर्तिमा समस्या नहुने वितरण केन्द्रको दाबी छ । तर, नेपालको विद्युत प्रयोग बढ्दै जाँदा नेपालतर्फ हावाहुरीले पोल ढाल्दा, तार, ट्रान्सफरमर जल्दा भने केहीबेर विद्युत अवरुद्ध हुनसक्ने प्राधिकरणको भनाइ छ ।

विगतमा जस्तो यस बर्ष दशैं र दिपावलीका बेला विद्युत अनियमित नभएको नेपालगन्ज–५ फुल्टेक्राका रामेश्वर पौडेल बताउँछन् । ‘विगतमा पर्वका बेला पनि छिनछिनमा अँध्यारो हुन्थ्यो, यसबर्ष नियमित छ’, उनले भने ।

‘१०÷११ एमभिए निरन्तर भारतबाट विद्युत माग्नु पर्ने बाध्यता थियो’, नेपालगन्ज वितरण केन्द्र प्रमुख लखन लाल मलिक भन्छन्, ‘अब प्राधिकरणसँगको समन्वयमा आवश्यक परे मात्रै लिने गरेका छौं ।’ तिहारका बेला नेपालगन्जको विद्युत आपूर्ति १५ एमभिएसम्म थियो । जुन गर्मीका बेला २४ एमभिएसम्म पुग्ने गरेको छ । भारतबाट आवश्यकता अनुसार ४÷५ एमभिए मात्रै विद्युत लिने गरेको वितरण केन्द्र प्रमुख मलिक बताउँछन् । ‘तिहारका बेला विद्युत माग बढ्ने अनुमान गरेका थियौं तर सोंचे जस्तो बढेन’, उनले भने ।

नेपालगन्जमा प्रसारण लाइनमा रहेका पुराना तारहरुको परिवर्तन, ट्रान्सफर्मर मर्मत र परिवर्तन र विद्युत चोरी नियन्त्रणले पनि प्रसारणमा समस्या नआएको वितरण केन्द्र प्रमुख मलिकले बताए । ‘६० देखि १०० वाटसम्मका बल्भ घरमा लगाइन्थ्यो, अहिले ५ देखि २५ वाटसम्मका बल्भहरु प्रयोग भैरहेका छन्, यसले पनि विद्युतको मागलाई पनि घटाएको छ’, उनले भने । प्राधिकरणले हुकिङ्ग गरी विद्युत चोरीका घटनामा छापा मारेर कारवाही समेत गर्दै आएको छ । जसले चोरीका घटनामा कमी आएको मलिक बताउँछन् । ‘बर्षौदेखि रिडिङ नै नभएका सिचाईं मिटरहरु समेत रिडिङ गरेर शुल्क असुल्न सुरु गरेका छौं’, प्राधिकरण प्रमुख मल्लिकले भने ।

उसो नेपालगन्ज मात्रै नभएर नेपालकै विद्युत प्रसारणमा सुधार हुँदै गएको छ । सरकारले पछिल्ला बर्षदेखि आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउँदै आएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ ।
आन्तरिक रुपमा नै निर्माणाधीन जलविद्युत् आयोजना क्रमशः सकिँदै गएको तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् उपलब्ध गराउन चालिएका योजनाबद्ध प्रयासले समेत सफलता प्राप्त गरेको छ ।

सरकारले नीतिगत रुपमा नै स्पष्ट व्यवस्था गरेपछि दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसमेत पूरा हुने भएको छ । यस वर्षको दीपावलीमा प्राधिकरणले गरेको व्यवस्थापनले जतिसुकै विद्युत् माग भए पनि त्यसलाई सहज रुपमा लिन सकिन्छ र प्रणालीलाई भरपर्दो बनाउन सकिन्छ भन्ने सन्देशसमेत दिएको छ ।

प्राधिकरणका अनुसार, हाल देशभर ७६ प्रतिशत क्षेत्रमा विद्युत् पुगेको छ । सरकारको योजनाअनुसार नै चालू आर्थिक वर्षमा तीन दर्जन बढी जिल्लालाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । दीपावलीमा गरिएको व्यवस्थापनले पनि प्राधिकरण सोही दिशामा केन्द्रित रहेको छ भन्ने स्पष्टसँग बुझ्न सकिन्छ ।

प्राधिकरणले यस वर्षको दीपावलीमा कूल विद्युत् माग एक हजार ४०० मेगावाटसम्म पुग्न सक्ने अनुमान गरेको थियो । सोही अनुसार विद्युतको जोहोसमेत गरेको थियो । तर प्राधिकरणको अनुमानभन्दा ३११ मेगावाट कम अर्थात् एक हजार ८९ मेगावाट मात्रै विद्युत् खपत भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग एक हजार ८९ मेगावाट मात्रै पुगेको छ । किफायती तवरले विद्युत् प्रयोगका लागि प्राधिकरणले अगाडि बढाएको जनचेतनाले समेत काम गरेको छ । मन फुकाएर विद्युत् प्रयोग गर्न र दीपावलीमा विद्युत् बाल्न आग्रह गरे पनि अपेक्षाभन्दा धेरै कम मात्रै विद्युत् खपत भएको छ । प्राधिकरणले अभियानात्मक रुपमा नै ‘इनर्जी इफिसेन्सी’ कार्यक्रमलाई अगाडि बढाएको थियो । सोही कार्यक्रमले पनि उपभोक्तालाई आफँै सचेत हुन सिकाएको अर्थमा प्राधिकरणले बुझेको छ ।

प्राधिकरणले विद्युतको किफायती प्रयोगको सन्देश दिन प्रचारात्मक कार्य पनि गर्दै आएको छ । विद्युत बिलमा समेत प्राधिकरणले विद्युतको किफायति प्रयोगका लागि विभिन्न सुझावहरु छाप्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया