कैदीबन्दीको माग पूरा गर्ने सहमति

जेलर पाण्डेकोे सरुवा, भरत फडेरालाई चौकीदारबाट पदमुक्त र कैदी बन्दीले उठाएका अन्य सवाल छानविन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको छ

नेपालगन्ज – नेपालगन्ज कारागारका कैदीबन्दीको माग पूरा गर्ने सहमति भएसँगै शुक्रबार आन्दोलन फिर्ता भएको छ । उनीहरुले विभिन्न मागहरु राख्दै चौकीदारलाई कारागार कक्षबाट बाहिर निकालेर बिहीबार विहानबाट आन्दोलन सुरु गरेका थिए । आन्दोलन फिर्ता भएसँगै कैदी, बन्दीले जेल भित्रबाट लगाएको ताला खोलिदिएका छन् ।
कारागारमा आन्दोलन सुरु भएपछि प्रशासन र अधिकारकर्मीहरुले शुक्रबारबाट नै घटनाबारे बुझेर समाधानको पहल गरेका थिए । बिदामा रहेका जेलर भरत पाण्डे समेत बिहीबार नै नेपालगन्ज आइपुगेका थिए ।


अधिकारकर्मी र पत्रकारको रोहवरमा ३ बुदामा सहमति भएसंगै बाँके कारागारका कैदी बन्दीले थालेको अनिश्चितकालिन आन्दोलन फिर्ता भएको अधिकारकर्मी बसन्त गौतमले जानकारी दिएका छन् ।
शुक्रबार अधिकारकर्मीहरुको उपस्थितिमा कैन्दीबन्दी र प्रशासनका अधिकारीहरु बीच जेलर भरतराज पाण्डेकोे सरुवा, चौकीदार भरत फडेरालाई चौकीदारबाट पदमुक्त गर्ने र कैदी बन्दीले उठाएका आर्थिक अनियमितता लगायत १० बुंदे मागका सवालमा छानविन गर्ने सहमति भएको थियो ।


कैदीबन्दीका प्रतिनिधि भगत सिंह, हरि खत्री, बिकास केसी, जनक बुढामगरले अधिकारकर्मीहरुको रोहवरमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर वली र अनुसन्धान र सशस्त्र प्रहरी प्रमुख समक्ष आफ्ना १० बुंदे माग प्रस्तुत गरेका थिए ।


कैदी बन्दी द्वारा प्रस्तुत गरिएको १० बुंदे मागमा पैसा खाएर चौकीदार नियुक्ती गर्ने गरेकाले जेलर भरतराज पाण्डेको सरुवा गरिनु पर्ने, जेलरलाई पैसा दिएर चौकीदार भएको हुँ भन्दै रवाफ देखाई कैदीबन्दीलाई यातना दिई दुःख दिने गरेकाले चौकीदार भरत फडेरालाई सरुवा पठाउनु पर्ने माग राखेको इन्सेकका भोला महतले बताएका छन् ।


नाइके र सहनाइके नियुक्ती गर्दा चौकीदार र जेलरको मिलेमतोमा प्रति ब्यक्ति रु पाँच सय देखि पन्ध्र हजार लिने गरेकाले यस्तो कार्य रोकिनु पर्ने, कमसल खानामा पनि अनावश्यक रुपमा मासिक रु चार सय तिर्नु पर्ने अवस्थाको अन्य गरिनु पर्ने, कारागारमा आउने दैनिक उपभोग्य बस्तुहरुमा तीन गुणासम्म मुल्य बृद्धि गरेर बिक्री गर्ने गरेकाले यस्तो कार्य तुरुन्त रोकिनु पर्ने, कपाल काटेको बिस रुपैयाँबाट बढाई साठी लिने गरिएको र सरसफाई वापत भन्दै सय देखि एकसय पचाससम्म लिने गरेकाले अनावश्यक पैसा लिने कार्य बन्द गरिनु पर्ने माग राखेका छन् ।


कैदी बन्दी बिरामी पर्दा जेल प्रशासनद्वारा उपचार नगराई कैदी बन्दीले चन्दा संकलन गरि उपचार गर्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने, घरबाट आफन्तले ल्याईदिएका मिठो मसिनो खानेकुरा अनावश्यक रुपमा हल्ला फैलाई दिन बन्द गरेकाले सो को निरन्तरता र आफन्तसंगको भेटघाटलाई सहज र नियमित बनाउनु पर्ने माग कैदी बन्दीले राखेका छन् ।


यस्तै जेलर चौकीदारको मिलोमतोमा सरुवा जाने आउने र बुझ्ने कैदीबन्दीहरुलाई सित पनि डरत्रास देखाएर प्रति ब्यक्ति दश हजार देखि तीस हजारसम्म असुल गर्ने गरिएको आरोप लगाउँदै कैदीबन्दीले त्यो कार्य बन्द गरिनु पर्ने माग राखेका छन् ।


सुरुवा आफुहरुलाई कारवाही र अन्यत्र सरुवा गरि दिने भयका कारण जेलभित्रै सबै कैदीबन्दीको सामुन्नेमा वार्ता गर्नु पर्ने अड्डी कसेका कैदीबन्दीहरुले अधिकारकर्मी द्वारिका अधिकारी, वसन्त गौतम र भोला महतले आफुहरुको रोहवरमा प्रतिनिधि पठाई ढुक्कका साथ आफ्ना माग राख्न अनुरोध गरि पछि प्रशासनसंग थुनाकक्ष बाहिर आई वार्ता गर्न राजी भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया