नेपालगन्ज कारागारमा वितण्डा
देबेन्द्र पौडेल / नेपालगन्ज:
नेपालगन्ज कारागारमा बितण्डा मच्चिएको छ । त्यहाँ रहेका कैदीबन्दी बिहीबार विहानबाट आन्दोलित भएका हुन् । उनीहरुले कारागार आन्तरिक प्रशासन हेर्न जिम्मेवारी पाएका चौकीदार, नाइके मात्रै होइन जेलर समेतको सरुवाको माग गरिरहेका छन् ।
एकाएक कैदीबन्दी आन्दोलित भएपछि जिल्ला सुरक्षा समितिको बैठक बस्यो, जिल्लाका सुरक्षा अधिकारीहरु कारागार पुगे, बिदामा रहेका जेलर भरत पाण्डे बिहीबार नै फर्काइयो । तर, कैदीबन्दीले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलनबाट पछि नहट्ने बताएका छन् । कैदीबन्दीले चौकीदार भरत फडेरालाई बाहिर निकालेर भित्रबाट चाबी लगाएका छन् ।
बिहीबार विहान नै कारागारमा आन्दोलन भएपछि स्थानीय प्रशासनले त्यसलाई मत्थर पार्ने प्रयास गर्यो । तर, त्यो सफल हुन सकेन । सुरुमा आफन्त भेट्न कारागार पुगेका, अनुगमनका लागि गएका मानवअधिकारकर्मी तथा समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई कारागार भित्र छिर्न दिइएन । त्यसपछि प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासँगको समन्वय गरेपछि जेल पुगेका अधिकारकर्मीको टोलीसँग कैदीबन्दीहरुले जेलमा रहेको अव्यवस्थाको वर्णन गरेका छन् । उनीहरुले जेलर, चौकीदार र नाइकेकै कारण जेलभित्र महंगी बढेको, सेटिङ्गमा चौकीदार र नाइके नियुक्त हुँदा आफ्ना कुराहरु नसुनिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका थिए ।
कारागारमा कैदीबन्दीले भित्रबाट ताला लगाएका छन् । उनीहरुका लागि बनाइएको रासनको भण्डार बाहिर नै छ । दैनिक जेलभित्र लगिने तरकारी, रासन कैदीबन्दी भएको ठाउँमा उनीहरुकै आन्दोलनका कारण पुग्न सकेको छैन ।
नेपालगन्ज कारागारमा कैदी बन्दीको क्षमता ३ सय हो । तर, बिहीबार त्यो संख्या ७ सय ७२ थियो । अदालतबाट थप कैदीहरु कारागार पुर्याइए । आन्दोलनका कारण कारागार पुर्याइएका कैदी, बन्दीको व्यवस्थापन भने अबेरसम्म हुन सकेको थिए ।
महंगी र अत्याचारको गुनासो
बिहीबार कैदी बन्दी आन्दोलित भएपछि अधिकारकर्मीको टोली कारागार पुग्यो । कैदी, बन्दीले अधिकारकर्मीहरुसँग जेलमा भएको अव्यवस्थाका बारेमा गुनासो राखे । त्यसक्रममा उनीहरुले जेलभित्र सामानको मूल्य बाहिर भन्दा दोब्बर, तेब्बरसम्म लिने गरेको गुनासो गरेका छन् ।
अनुगमनमा पुगेका उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यले कारागारका बन्दीहरुले जेलभित्र सामानहरु अत्याधिक महंगो रहेको गुनासो गरेको जानकारी दिए । उनले चौकीदार र नाइकेहरुले कैदी, बन्दीका कुरा नसुन्ने, उनीहरुका मागका बारेमा बेवास्ता गरेपछि बाध्य भएर आन्दोलित हुनुपरेको गुनासो आएको बताएका छन् । ‘कानुनतः सबैको मानवअधिकारको संरक्षण हुनुपर्छ’, उनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छौं ।’
कारागारमा आन्तरिक व्यवस्थापनका लागि कैदीहरुबाट संरचना बनाइएको हुन्छ । कारागारमा कैदीहरुको नेतृत्वका लागि कैदीहरुबाट नै चौकीदार छानिएको हुन्छ । चौकीदार कारागारको आन्तरिक प्रशासन सम्हाल्ने कैदीको तर्फबाट प्रमुख व्यक्ति हुन् । त्यसबाहेक मूल नाइके, नाइके, सहनाइके, बिजुली, पानी, खाद्यान्न हेर्ने थप सहनाइके लगायत झण्डै दुई दर्जन पद हुन्छन् । नेपालगन्ज कारागारमा भरत फडेरा चौकिदार नियुक्त भएका छन् ।
कारागारमा कैदी, बन्दीको संख्या अनुसार नाइके, सहनाइकेहरु छानिएका हुन्छन् । २५ जना कैदी बराबर १ जना नाइके, १० जना बराबर एक सहनाइकेको नियुक्ति जेल प्रशासनले गर्दछ । नियुक्ति पाएकाहरुलाई केही सुविधा समेत उपलब्ध हुन्छ । नियुक्ति पाएकाहरुले जेल प्रशासनबाट देखिने गरी केही सुविधा मात्रै होइन अन्य लाभ पनि लिने गरेको कैदीहरु बताउँछन् । त्यसैले चौकीदार देखि नाइकेसमेतको नियुक्तिमा प्रतिस्पर्धा र चलखेल हुने गरेको छ ।
जेलभित्र पनि कमाइका लागि विभिन्न कामहरु गरिन्छ । खाना पुर्याउने, कपडा धुने, कपाल काट्ने, कैदीहरुको दैनिक गुजाराका लागि उपभोग्य सामाग्रीको पसल सञ्चालन गर्ने आदी आम्दानीका राम्रै स्रोत हुन्छन् । जेलभित्र सञ्चालित पसलमा चौकीदार, जेलर र नाइकेहरुको प्रत्यक्ष प्रभाव हुने गरेको कैदीहरु नै बताउँछन् ।
‘तरकारीदेखि उपभोग्य वस्तु किन्न बाहिर भन्दा अत्याधिक मूल्य तिर्नुपर्छ’, अधिकारकर्मीहरु सँग नेपालगन्ज कारागारका कैदीहरुले भने, ‘गुनासो गर्दा न जेलको आन्तरिक प्रशासनले सुन्छ न बाह्य ।’ कैदी भगत सिंहले सरकारले दिएको रकमबाट जेलभित्र सामानको मनपरी मूल्य निर्धारण गर्दा उपभोग्य सामान खरिद गर्न नसकेको बताए ।
कैदीहरुले चौकीदारको अत्याचारविरुद्ध चुइँक्क बोल्न नपाउने गरेको बताउँछन् । कसैले बोलिहाले उनीहरु अनेकन बहानामा दुःख दिने गरेको कैदी बन्दी बताउँछन् । जेलभित्रका कैदीको सिधा सम्बन्ध जेल प्रशासनसँग हुँदैन । चौकीदारले नै जेलभित्रका विषयहरु जेलरलाई जानकारी गराउने हुन् । ‘चौकीदार र नाइके हाम्रा कुरा सुन्दैनन्’, कैदीहरु भन्छन् । जेलरसँग सिधा गुनासो गर्ने परिपाटी नहुँदा चौकीदार, नाइकेलाई मनोमानी गर्न थप छुट प्राप्त भएको हुन्छ ।
चौकीदार र नाइके नियुक्त गर्दा आर्थिक लाभको आरोप
लामो सजाय भोग्नेहरुका लागि जेलको आन्तरिक प्रशासनका पद आकर्षक हुन् । यसबाट उनीहरुले आम्दानी गर्ने र कैदी जीवन समेत अन्य कैदी भन्दा सहज रुपमा बिताउन सक्छन् । त्यसैले पनि उनीहरुका लागि यो आकर्षणको पद हो ।
नेपालगन्ज कारागारका कैदी बन्दीहरुले चौकीदार र नाइके नियुक्त गर्दा आर्थिक लाभ जेल प्रशासनले लिने गरेको आरोप लगाएका छन् । ‘लाखौं रुपैयाँ तिरेर चौकीदार र नाइक बनेको हुन्छन्, उनीहरु भित्रै कमाउ धन्दामा लाग्छन्, अनि कसरी हाम्रा कुरा सुन्छन् त !’, अनुगमनमा पुगेको अधिकारकर्मीहरुको टोलीसँग कैदी बन्दीले भनेका छन् ।
कैदीबन्दीले जेलरले जेलको आन्तरिक प्रशासनमा रहेका पदहरुमा नियुक्ति गर्दा आर्थिक लाभ लिने गरेको आरोप समेत लगाएका छन् । ‘वर्तमान जेलका बाह्य र आन्तरिक प्रशासनका पदाधिकारीबाट हाम्रो सुनुवाई हुँदैन, त्यसैले उनीहरुको सुरुवा हुनुपर्छ’, आफ्ना मागको सम्बोधन नहुँदासम्म आन्दोलन नरोक्ने चेतावनी दिंदै कैदीहरुले भने ।
साम्य हुन्छ विवाद !
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जेलभित्रको विवाद छिट्टै समाधान हुने बताएका छन् । बिहीबार दैनिक नेपालगन्जसँग कुरा गर्दै प्रजिअ खड्काले भने, ‘कैदीहरुको माग र विवादलाई साम्य पार्न हामी आन्तरिक छलफलमा छौं ।’ उनले अदालतबाट पुग्ने थप कैदी, बन्दीको व्यवस्थापन समेत हुने बताए । ‘जेलभित्रै मेस रहेकाले जेलभित्र आन्दोलनमा रहेका कैदीबन्दीलाई समेत खानाको समस्या हुँदैन,’ उनले भने ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागारमा व्यवस्थापनको समस्या आएको प्रतिक्रिया दिएका छन् । उनले कारागारमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था मिलाएको बताएका छन् ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यले कैदीबन्दीले उठाएका विषयमा जेल प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर समाधानका लागि आग्रह गरेको बताएका छन् ।
बिदामा रहेका जेलर भरत पाण्डे बिहीबार नै हाजीर भएका छन् । उनले कैदीबन्दीले लगाएको आरोप अस्वीकार गर्दै जुनसुकै किसिमको छानबिनका लागि आफु तयार रहेको अधिकारकर्मीहरुलाई बताएका छन् ।